PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

टेलिशृंखला बन्दको असर : कोही बेरोजगार, कोही भन्छन्- 'नयाँ सोच्ने अवसर'



स्वेच्छा राउत

टेलिशृंखला बन्दको असर : कोही बेरोजगार, कोही भन्छन्- 'नयाँ सोच्ने अवसर'

काठमाडौं : केही समयअघिसम्म प्रसारण हुने टेलिशृंखला 'जिरे खुर्सानी'मा राजाराम पौडेल लोकप्रिय भूमिकामा थिए। यो टेलिशृंखला मिडिया हब र नेपाल टेलिभिजनबीचको व्यवसायिक लफडाको सिकार बनेपछि उनी 'बेरोजगार' भएका छन्।
 
'के गर्नु? टाउको कन्यायो बस्यो,' पाँच सयभन्दा बढी शृंखलासम्म लगातार अभिनय गरेका पौडेल सुुस्केरा हाल्छन्।
 
टेलिशृंखलाको प्रसारण रोकिनुले केही हद मानसिक तनाव दिएको पनि उनले बताए। कलाकार मात्र होइन यसका प्राविधिकलाई पनि निकै आर्थिक समस्या पर्‍यो। अन्य व्यवसाय केही नसम्हाल्ने कलाकारहरुलाई व्यवहार चलाउन गाह्रो भएको उनी बताउँछन्।
 
'हरेक हप्ता हाम्रै हास्यव्यङ्ग्य कुरेर टेलिभिजन अगाडि बस्ने दर्शकहरु पनि अब त विदेशी सिरियल हेर्न थालि सके,' उनको चिन्ता छ, 'नयाँ कार्यक्रम लिएर आउँदा दर्शक घट्छन् कि भन्ने पीर।'
 
कलाकारितामा फिल्म, टेलिफिल्म, एल्बम बाहेक देश विदेशमा हुने स्टेज कार्यक्रमहरु पनि आर्थिक आर्जनको माध्यम मानिन्छ। तर हास्य टेलिशृंखला बन्द हुनुको असर ती कार्यक्रममा पनि परेको बताउँछिन् कलाकार डोमा ह्योल्मो।
 
'गाईजात्रामा बाहेक अरु बेलामा हास्यकलाकारले स्टेज पाउने भनेको फाट्टफुट्ट मात्र हो। हामीले अभिनय गर्ने कार्यक्रमहरु बन्द भएपछि अरु कार्यक्रम पनि कम भए,' उनी भन्छिन्। त्यसो त मुङ्गाहरुको व्यापार गर्छिन् ह्योल्मो। टेलिशृंखला बन्द हुनुले उनमा आर्थिक रुपमा असर परेको छैन। 'धेरै मार त स्क्रिनमा देखिने भन्दा पनि नदेखिनेहरुलाई परेको छ। वर्षौंदेखि एउटै सिरियलको लागि क्यामेरा, लाइट चलाउँदै आए,' प्राविधिकहरुको बाध्यताबारे उनले भनिन्, 'एक्कासि बन्द हुँदा उनीहरुको कमाइ खाने भाडो बन्द भएसरह भएको छ।'
 
'मेरी बास्सै'बाट चम्सुरीको पहिचान बनाएकी पल्पसा डंगोल स्कुलहरुमा नृत्य सिकाउँछिन् र सांकृतिक कार्यक्रमहरु चलाउँछिन्। कमाउनका लागि उनले मेरी बास्सैमा अभिनय गर्दादेखि नै अन्य व्यवसाय पनि अँगालिन्।
उनलाई टेलिशृंखला बन्द हुनुले आर्थिक रुपमा कुनै असर गरेन। भन्छिन्, 'दर्शक निराश हुनु नै सबैभन्दा ठूलो असर हो। हप्तैपिच्छेको व्यस्तताले जति दर्शक कमाएका थियौं उहाँहरुको लागि चाडै नयाँ कार्यक्रम सुरु होला भन्ने आश छ।'
 
अर्का कलाकार सुरेन्द्र कार्की उर्फ 'मुलासाग'का लागि आर्थिक उपार्जनको मुख्य पाटो नै थियो अभिनय। अन्य व्यवसायमा हात नहालेका उनलाई डर छ- पहिले मुलासाग भनेर चिन्ने दर्शकहरुले बिर्सने हुन् कि भन्ने।
 
टेलिशृंखला बन्द हुनुले सबैभन्दा धेरै असर स्थापित हुँदै गएको पहिचानलाई परेको उनको भनाइ छ। भन्छन्, 'पैसा त कति कमाइन्थ्यो र? पेट्रोल खर्चमा ठिक्क हुन्थ्यो। तर जता गए पनि दर्शक खुसी हुँदै नजिक आउँथे, त्यो क्रेज घट्दो छ।'
 
टेलिशृंखला सञ्चालनमा हुँदा देशविदेशमा हुने कार्यक्रमहरुमा टिमनै जान पाउने अवसर अहिले कम भएको छ। सुरेन्द्र सुनाउँछन्, 'आर्थिक लाभ त खास त्यस्ता कार्यक्रमहरुबाट पो हुन्थ्यो त।'
 
किरण केसी जिरे खुर्सानीको सत्रौं भागदेखि युनिटसँग आबद्ध रहे। सिरियलमा उनको थेगो रह्यो 'ए रातामकै'। केही समयपछि उनलाई नै दर्शकले राता मकै भनेर चिन्न थाले।
 
'त्यसै नामबाट होटल, पसलको नाम राता मकै बने, गाडीहरुमा ए राता मकै लेखेको देखिन थाल्यो,' जुन नाम र थेगोका कारण उनी लोकप्रिय बने अहिले त्यो गुम्दै गएको उनमा महसुस हुन थालेको छ।
 
तर टेलिशृंखला बन्द हुनुले कलाकारलाई कम निर्माण पक्षलाई बढी असर गरेको उनको बुझाइ छ। लगानी र प्लानिङको कुरा जोडिने भएकाले मानसिक, आर्थिकदेखि सामाजिक असर समेत निर्मातालाई परेको छ भन्छन् उनी।
 
'हामी कलाकार त एउटै भूमिका निर्वाह गर्दागर्दै मोनोटोनस भएका थियौं। ब्रेक लाग्नालाई केही नयाँ सोच्न र गर्न सक्ने अवस्थाको सिर्जना भएको मान्नुपर्छ,' तै उनी मन बुझाउँछन्।
 
किरण केसी त बीचमा 'ब्रेकफेल' नामको सिरियलमा पनि देखिए। उनले त्यहाँ टिपिकल काँठे नेवारको भूमिका निभाए। 'चिकन चिल्ली' थेगो राखेर पुन: दर्शक सामु प्रस्तुत हुँदाहुँदै सो टेलिशृंखला पनि बन्द भयो। तर उनी आत्तिएका भने छैनन्। सुटिङ नहुँदा प्राय: कार्यक्रमहरुमा व्यस्त रहने उनी पुन: ब्रेकफेल नै लिएर प्रस्तुत हुँदै छन्। भने, 'दर्शकलाई रातामकै भुल्न दिन्नँ तर रातामकै अन्य भूमिकामा पनि उत्तिकै फिट छ है भन्ने कुराको विश्वास गराउँछु।'
 
कलाकार, निर्माण समूहदेखि सम्पूर्ण दर्शकहरुमा टेलिशृंखला बन्द हुनुले केही न केही नकारात्मक असर गरेको स्विकार्छन् कलाकार तथा निर्देशक दीपकराज गिरी। त्यसैले पुन: तितोसत्यलाई प्रशारण गराउने होडमा छन् उनी। भने, 'अनस्क्रिन बसेरै भए पनि तितोसत्य निर्माणमा आफ्नो योगदान दिन्छु।'


 उनका अनुसार सिरियलमा प्राय: पुरानै कलाकार, प्राविधिक र अन्यको टिम अप रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell