PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले भोलि किर्गिस्तानसँग खेल्ने, फाइनल पुग्ने सम्भावना कति?



गोविन्दराज नेपाल

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले भोलि किर्गिस्तानसँग खेल्ने, फाइनल पुग्ने सम्भावना कति?

काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले भोलि किर्गिस्तानसँग खेल्दैछ। राउण्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले अहिलेसम्म २ जित र एक हारको नतिजा निकालेको छ।

पहिलो खेलमा माल्दिभ्सलाई ३-१ को सेटमा हराउँदै सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। तर तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनलाई कायमै राखेको हो। प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको हो। 

गत वर्ष भएको सेन्ट्रल जोनमा नेपाल माल्दिभ्स र अफगानिस्तानसँग पराजित भएको थियो। यो पटक त्यो हारको बदला लिन नेपाल सफल भएको छ। तर गत वर्ष नेपालले हराएको बंगलादेशसँग भने यो पटक पराजित भएको हो। 

गत वर्ष तेस्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

किर्गिस्तानलाई पनि नेपालले गत वर्ष हराएको थियो। यो पटक पनि किर्गिस्तानलाई हराउँदै फाइनल प्रवेश गर्ने नेपालको योजना रहेको प्रशिक्षक जगदिश भट्टले पहिलोपोस्टलाई बताए। भट्टले पहिलो पटक नेपालको सिनियर पुरुष टोलीको प्रशिक्षण सम्हालिरहेका छन्। 

नेपालसँग खेल्नुअघि किर्गिस्तानले आज आयोजक बंगलादेशसँग खेल्नेछ। अहिलेसम्म बंगलादेश, नेपाल र किर्गिस्तानले समान दुई खेल जितेको छ तर नेपालले एक खेलमा हार बेहोरिसकेको छ। 

प्रशिक्षक भट्टका अनुसार किर्गिस्तान बंगलादेशसँग हारेको खण्डमा र नेपालले किर्गिस्तानलाई हराएमा नेपाल फाइनल पुग्नेछ। यदी किर्गिस्तानले ५ सेट खेलेर जितेमा भने फेरी नेपालको सम्भावना रहने उनले बताए। च्याम्पियनसिप खेल्ने सबै टोलीको स्तर उस्तै रहकाले जुनसुकै टीम पनि फाइनल पुग्न सक्ने उनले बताए। 

यता लगातार ३ खेल हारिसकेको अफगानिस्तान भने फाइनल पुग्नबाट बाहिरिसकेको छ। माल्दिभ्सले पनि लगातार दुई खेलमा हार बेहोरेको छ।आजै माल्दिभ्स र अफगानिस्तानबीचको खेल पनि हुनेछ। 

अन्तिम दिन बंगलादेश र माल्दिभ्सको खेल पनि हुनेछ। लिगमा तेस्रो र चौथो स्थानमा रहने टीमबीच तेस्रो स्थानको लागि खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell