काठमाडौं : पूर्वाञ्चलमा गत शुक्रबारदेखि सुरु भएको बृहत् राष्ट्रिय खेलकुदको सातौं संस्करणमा आज चौथो दिन विभिन्न खेल भइरहेका छन्।
बृहत् खेलकुदमा पहिलो स्वर्ण नेपाल आर्मीका हरिकुमार रिमालले जिते। महिलातर्फको पहिलो स्वर्ण पनि आर्मीकै सरस्वती भट्टराईले जितिन्।
यस्तै महिला फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपिएफले जित्यो। एपिएफले फाइनलमा अर्को विभागीय टीमले नेपाल पुलिसलाई हरायो। तेस्रो स्थान आर्मीले हात पार्यो।
यस्तै सातौं खेलकुदको दोस्रो र तेस्रो दिन चन्द्रकला लामगादे एकएक राष्ट्रिय कीर्तिमान बनाइन्। उनले सटपुट र ज्याभलिन थ्रो मा आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्।
महिला भारोत्तोलनमा पुलिसकी देवी चौधरीले पनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान ब्रेक गर्दै स्वर्ण जितिन्।
अन्य विधा जस्तै मार्शल आर्ट्सका जुडो, कराते, आइटिएफ तेक्वान्दोमा पनि विभागिय टीम आर्मीकै खेलाडीले पदकमाथि वर्चस्व कायम गरेका छन्।
पूर्वाञ्चलको विभिन्न जिल्लामा भइरहेको बृहत् खेलकुदमा यी तीन विभागीय क्लबसँगै पाँच विकास क्षेत्रका खेलाडीले पनि भाग लिएका छन्। तर पदक जित्ने खेलाडीको नाम आउँदा सधैँ विभागीय टीम र खेलाडीहरुको नाम आउँछ। अझ स्वर्ण पदक त विभाग बाहेकका खेलाडीले विरलै अवसर पाउनेछन्।
नेपालमा रहेका प्राय: राम्रो र उत्कृष्ट खेलाडीहरु विभागीय क्लबमै आबद्ध रहेका कारण उनीहरुले पदक धेरै जित्नु स्वाभाविक हो। तर यहाँ अर्को गम्भीर प्रश्न उठ्न सक्छ। विभागमा राम्रो खेलाडी हुने अन्य विकास क्षेत्रको टीममा नहुने किन?
नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र पुलिस सरकारी निकाय अन्तर्गत पर्दछन्। यी विभागका खेलाडीलाई सरकारको अप्रत्यक्ष लगानी छ। विभागमा पैसा छ, खेलाडीहरुलाई प्रशिक्षण गर्ने वातावरण छ। विभागभित्रै पनि विभिन्न खालका आन्तरिक प्रतियोगिताहरु भइरहेका हुन्छन्।
तर विभागको तुलनामा विकास क्षेत्रका टीमका खेलाडीमा लगानी कम छ। विभाग जस्तै विकास क्षेत्रका खेलाडी र टीम पनि नेपालकै टीम हुन्। अनि किन एकलाई काखा र अर्कोलाई पाखा त?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि विभागकै खेलाडी अग्रस्थानमा छन्। अन्य क्षेत्रका खेलाडीहरुले यस्ता खालको बृहत् खेलकुदमा सहभागिता जनाउन खेलाडीहरु खोजेर ल्याउनुपर्ने अवस्था छ। बृहत् खेलकुदकै अवसरमा मात्र विभागका र अन्य क्षेत्रका खेलाडीको भेट हुन्छ। क्षेत्रका खेलाडीले प्रतिभा भएर खेल्न चाहेर पनि लगानी र भौतिक पूर्वाधारका कारण आफ्नो खेल देखाउन पाएका हुँदैनन्।
यस्तै अर्को पक्षबाट हेर्दा अहिले नेपाली खेल क्षेत्र पनि यिनै तीन विभागका खेलाडीले धानेका छन्। अन्य क्षेत्रका खेलाडीहरु समेत विभिन्न खालका सुविधामा लोभिएर विभागमा जाने गरेका उदाहरण छन्। तर खेलाडीहरु विभागमा स्थायी हुँदैनन्। करारमा मात्र खेल्ने गर्छन्।
विभागले नेपाली खेलकुद क्षेत्रमा ठूलो योगदान गरेको छ। २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुदको सुरुका तीन संस्करणमा १४ अञ्चलबाटै सहभागी थिए।
२०५५ मा भएको चौथो संस्करणबाट सहभागी टीमको संरचना परिवर्तन गर्दै पाँच विकास क्षेत्र र दुई विभागीय टीम नेपाल आर्मी र नेपाल पुलिसले भाग लिएका थिए। त्यतिखेर विकास क्षेत्रको टीम मध्यमाञ्चल पहिलो भएको थियो भने आर्मी दोस्रो तथा पुलिस तेस्रो भयो।
२०६५ मा काठमाडौमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पाँच विकास क्षेत्र र तीन विभागीय टीमसहित कुल नौ टीमको सहभागिता थियो। पाचौंमा कान्छो विभागीय टीम एपीएफ थपिएको हो।
यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको टीम पिएलए स्पोर्ट्सलाई पनि सहभागिता गराएका थिए।
तर नेपाल आर्मीले खेल भावनामा ठेस पुर्याएको भन्दै केही खेलमा भाग लिएन। यस संस्करणमा पनि मध्यमाञ्चलले आफ्नो वर्चस्व कायम राख्दै पहिलो हुन सफल भयो भने नयाँ विभागीय टीम एपीएफ दोस्रो तथा पुलिस तेस्रो भयो।
यस्तै २०६८ को छैटौं संस्करणमा पनि मध्यमाञ्चल सर्वाधिक स्वर्ण जित्दै पहिलो भएको थियो। त्यतिखेर पनि पिएल स्पोर्ट्स क्लबका कारण विवाद उत्पन्न हुँदा आर्मीले बृहत् खेलकुद नै बहिष्कार गरेको थियो। छैटौंमा पुलिस दोस्रो तथा एपीएफ तेस्रो भएका थिए।
अहिलेसम्मको पदक तालिका हेर्दा विभागीय क्लबहरु टीम च्याम्पियन बन्न नसके पनि मध्यमाञ्चललाई पछ्याइरहेका थिए।
तर यसअघिको दुई संस्करणमा विवादका कारण स्वभाविक उपस्थिति जनाउन नसकेको र खेल्न नपाएको नेपाल आर्मीले सातौं राष्ट्रिय खेलकुदमा भने आफ्नो दाबेदारी पेस गरेको छ।
तेस्रो दिनसम्ममा आर्मीले दोस्रो स्थानमा रहेको पुलिसभन्दा दोब्बर बढी स्वर्ण जितिसकेको छ भने छिनोफानो भएको कुल स्वर्णमध्ये करिब आफ्नो पक्षमा पारेका छन्। अब बाँकी खेलहरुमा पनि आर्मीका खेलाडीहरु पदकको दाबेदारीमा अगाडि छन्।
त्यसैले यो पटक मध्यमाञ्चललाई राष्ट्रिय खेलकुदमा आफ्नो वर्चस्व कायम राख्न चुनौती छ। यो पटक आर्मीसँगै पुलिस र एपीएफका खेलाडीहरु अगाडि छन्।