PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित, फाइनल पुग्न असफल



गोविन्दराज नेपाल

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित, फाइनल पुग्न असफल

काठमाडौं : नेपाल बंगलादेशमा भइरहेको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ।

सोमबार राउण्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानसँग ३ १ को सेटमा पराजित भएपनि नेपालको फाइनल पुग्ने सम्भावना सकिएको हो। सुरुवाती दुई सेट हारेको नेपालले प्रतिस्पर्धात्मक तेस्रो सेट जितेपनि चौथो सेटमा पराजित भयो। नेपाल १८-२५, १२-२५, २६-२४ र १०-२५ को सेटमा हारेको हो।

किर्गिस्तानको टीम राम्रो रहेको र नेपालको ब्लक र रिसिभर कमजोर हुनु नै हारको कारण भएको प्रशिक्षक जगदिश भट्टले बंगलादेशबाट पहिलोपोस्टसँगको अनलाइन कुराकानीमा बताए। 'आज भाग्यले पनि साथ दिएन, मुख्य दुई खेलाडी घाइते भए बाँकी खेलाडीले पनि राम्रो खेल्न सकेनन्।'

लिगमा अपराजित रहेको किर्गिस्तान ११ अंकका साथ फाइनलमा प्रवेश प्रवेश गरेको छ।

५ टोली सहभागि रहेको च्याम्पियनसिपमा नेपालले दुई खेल मात्र जित्न सफल हुँदा दुई खेलमा पराजित भयो। गत वर्ष सेमिफाइनलसम्म पुगेको नेपाल चौथो भएको थियो। त्यतिबेला अफगानिस्तान र माल्दिभ्ससँग पराजित भएको नेपालले यो पटक ती प्रतिद्वन्दीलाई हरायो। तर गत वर्ष नेपालले हराएको बंगलादेश र किर्गिस्तानले भने यो पटक नेपाललाई नै हराइदियो।

नेपालले अब तेस्रो स्थानको लागि खेल्नेछ। नेपालको प्रतिद्वन्दी माल्दिभ्स हुने लगभग पक्का छ। माल्दिभ्सले आजै बंगलादेशसँग अन्तिम लिग खेल खेल्दैछ। बंगलादेशले तीन खेलबाट ७ अंक जोडेको छ। 

यता अफगानिस्तानलाई मात्र हराएको माल्दिभ्सको ३ अंक मात्र छ र बंगलादेशलाई हराएपनि माल्दिभ्स दोस्रो स्थानमा पुग्ने छैन। त्यसैले उक्त खेलमा जे नतिजा आएपनि बंगलादेश फाइनल पुग्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell