PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'बक्स अफिस'देखि किन डराउँछन् हल सञ्चालक?



स्वेच्छा राउत

'बक्स अफिस'देखि किन डराउँछन् हल सञ्चालक?

काठमाडौं : फिल्म छक्का पञ्जाको व्यापार १६ करोडको हुँदा हातमा मात्र ४ करोड ३० लाख मात्र परेपछि कलाकार दीपकराज गिरीलाई फिल्मको व्यापारको अपारदर्शिताले झस्कायो। गिरी आफैँ पनि हात परेको रकम देखेर छक्क परे।
 
मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा सय दिन मनाउन सफल फिल्मको शोहरु र टिकट सेल्सको डाटा हेरेर उनी घोत्लिए। गिरीलाई रियलाइजेशन भयो- सही डाटा पहिलो आवश्यकता रहेछ। अनि सही डाटाका लागि बक्स अफिस।
 
दीपक भन्छन्, 'ग्रस कलेक्शनमा पारदर्शिताकै लागि पनि हामीलाई यति बेला बक्स अफिस आवश्यक छ।'
 
उसो त दीपकको तर्क बक्स अफिसको आवश्यकताभन्दा पनि हल व्यवसायी र फिल्म व्यवसायीबीच हुने कलेक्शन विभाजनको नीति परिवर्तनको आवश्यकतामा केन्द्रित छ। 'बक्स अफिसले उस्तो ठूलो परिवर्तन त केही नगर्ला तर केही हलहरुबाट हुने कमाइको लिकेज भने अवश्य रोक्छ। जसले निर्माताको पक्षमा केही राहत दिन्छ,' उनी भन्छन्।
 
लुट, मिशन पैसा, रेशम फिलिली जस्ता फिल्म निर्माता माधव वाग्ले बक्स अफिसलाई निर्माताहरुको व्यावसायिक समस्याको प्राथमिक उपचार भन्छन्। 'प्राथमिक उपचार त अरु केही नसोची गर्नुपर्ने हो तर बक्स अफिसको नाममा राजनीति गर्ने धेरै भए काम गर्ने कम,' उनले यसरी बुझेका छन्।
 
निर्माता आकाश अधिकारी भने आफू निर्माता संघमा आए लगत्तै पहिलो काम नै बक्स अफिस स्थापनाका लागि पहल गर्ने हुने बताउँछन्।
 
क्रिटिक्सले उत्कृष्ट भनेको फिल्म क्लासिकका निर्माता सुवास गिरीले पनि निर्माताहरुको हितका लागि बक्स अफिस आवश्यक रहेको महसुस गरेका छन्। फिल्म क्षेत्रलाई व्यवसायिक पाटो बिकासका लागि बक्सअफिस चाहिने उनको भनाइ छ। 'बक्स अफिसको लागि एउटा सर्भर राख्न गाह्रो काम हो जस्तो लाग्दैन तर चलचित्र संघ, निर्माता संघले सूचना मन्त्रालयले मिलेर काम गर्ने वातावरण बनेको छैन,' ढिलाइ हुनुको कारणबारे गिरी भन्छन्।
 
***
चलचित्र बिकास बोर्डमा यति बेला अध्यक्ष छन्– राजकुमार राई। बोर्डको अध्यक्ष बन्दै गर्दा राईको प्रमुख नारा थियो– चलचित्रको बक्स अफिसको स्थापना। त्यसो त अध्यक्ष बनेपछि पनि उनले यो नारालाई दोहोर्‍याउन छाडेनन्। तर बोर्डमा आएको दुई बर्ष हुन लाग्दा समेत स्थापनामा सिन्को भाँच्न सकेका छैनन्। यद्यपि राई अझै चर्चा गर्न भने भुल्दैनन्। पहिलोपोस्टसितको कुराकानीमा उनले भने, 'हामी दुई-तीन दिनभित्रै बक्स अफिसको लागि टेण्डर खोल्नेवाला छौँ। आवश्यक तयारी भइसकेको छ।'
 उनी आफ्नो कार्यकाल समाप्ति हुनुअघि आउँदो जेठभित्रै बक्स अफिस स्थापना गराउने प्रयासमा रहेको बताउँछन्।
 
तर उनको कुरामा फिल्म निर्माताहरुबीच नै एक मत छैन। हल सञ्चालक र कतिपय निर्माताहरुले नै बक्स अफिसको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै आएका छन्।
 
'म यो बक्स अफिस नै बुझ्दिन। कस्तो खालको बक्स अफिस ल्याउन लागिएको हो?' चलचित्र निर्माता एवं निर्देशक प्रचण्डमान श्रेष्ठ प्रश्न गर्छन्।
 
उनी अहिले चलचित्र बिकास बोर्डले भनेको संरचनामा बक्स अफिस लागू हुनेमा आशंका गर्छन्। 'अहिले ल्याउने भनेको जस्तो बक्स अफिस विश्वका कुनै पनि ठूला फिल्म इन्ड्रस्टीमा छैन,' उनको तर्क यस्तो छ।
 
तर चलचित्र बिकास बोर्डका अध्यक्ष राई भने आफूले प्रस्ताव गरेको बक्स अफिसको बचाउ गर्छन्। 'हामीले ल्याउन लागेको बक्स अफिस भनेको एउटा प्रणाली हो। जसले फिल्म व्यवसायको डाटा सम्पूर्ण हलहरुबाट सफ्टवेयर मार्फत लिङ्क गराउँछ। त्यो एउटा सर्भरमा जम्मा हुन्छ र त्यसको जानकारी सबैलाई दिन्छ,' उनी प्रस्ट्याउँछन्। त्यस्तो बक्स अफिसको सर्भर भने चलचित्र विकास बोर्डमा नै राख्नुपर्ने बताउँछन् उनी।
 
उनको प्रस्तावसँग सहमत छैनन् निर्माता श्रेष्ठ  'नेपालको संविधानले हरेक व्यक्तिलाई आफ्नो व्यवसाय गर्ने अधिकार दिएको छ। उसले आफ्नो व्यवसायको डिटेल कुनै पनि सरकारी निकायलाइ किन बुझाउनुपर्ने?' उनी प्रश्न गर्छन्।
 
सरकारले भाटभटेनी सुपरमार्केटमा बिक्री हुने प्रोडक्ट र आउने कस्टमरको रेकर्ड नराख्ने तर्क सहित उनी भन्छन्, 'चलचित्र हलमा आउनेको रेकर्ड पनि राख्ने कि नराख्ने? प्रश्न यो हो।' बोर्डको काम केवल फिल्मकर्ताको मनिटरिङमा मात्र सीमित  रहने भन्दै उनी थप्छन्, 'फिल्मले ट्याक्स तिर्छ कि तिर्दैन? दर्ता गर्छ कि गर्दैन? यस्तो कुराको निगरानी राखोस् न बरु।'
 
बक्स अफिसका लागि सम्पूर्ण हलमा इटिकेटिङ्क सिस्टम आवश्यक रहेको र अधकट्टी च्यात्ने र टर्च बालेर दर्शकको टाउको गन्ने सिस्टम नहटेसम्म बक्स अफिस योजनामै सिमित रहने बताउँछन् उनी। 'फिल्म निर्माताहरुले खोजेको पारदर्शिता हो। व्यवसायिक पारदर्शिता भयो भने न निर्मातालाई घाटा लाग्छ न हल व्यवसायीलाई। भ्याटमै रजिस्टर नभएका हललाई बरु बक्स अफिस स्थापनाले असर गर्न सक्छ,' उनको तर्क छ।

निर्माता संघको चुनावका लागि अध्यक्षको पदमा निर्विरोध चयन भएका आकाश अधिकारीको मुख्य एजेण्डा पनि बक्स अफिस नै हो।पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'फिल्मका लगानीकर्ता, हल व्यवसायी, डिस्ट्रिब्युटर र सबैको व्यावसायिक हित र पारदर्शिताको लागि यो अत्यन्त आवश्यक छ।'
 
अमेरिका, युरोप र एसियाको विभिन्न देशको बक्स अफिस सिस्टमबारे आफूले अध्ययन गरिरहेको उनी बताउँछन्। 'आफ्नो कार्यकालभर निर्माताहरुको मात्र होइन पूरै फिल्म इन्डस्ट्रीको विकासका लागि काम गर्नेछु। त्यसमा मुख्य विषय नै बक्स अफिस सिस्टम हो,' योजनाबारे उनले भने।
 

कहाँ पुग्यो त काम?

गत मङ्सिर ८ नवगठित 'चलचित्र निर्माता संघ नेपाल'ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नवल खड्काले ६ महिनाभित्र नेपाली चलचित्रका लागि बक्स अफिस स्थापना गर्ने दाबी गरेका थिए।
 
'बक्स अफिस कसैलाई घाटा गराउँदैन,' उनले पुरानो निर्माता संघको कार्य क्षमतामाथि प्रश्न गर्दै भने, 'निर्माता संघ प्रालिले आजसम्म किन स्थापना गर्न सकेन?'
 
पहिलोपोस्टको जिज्ञासामा नवगठित चलचित्र निर्माता संघका अध्यक्ष खड्काले आफूहरुकै पहलमा मन्त्रालयले बक्स अफिसको काम अघि बढाउन निर्देशन दिइसकेको दाबी गर्छन्।
 
फिल्म व्यवसायमा कुनै पनि जालझेल बिना स्पष्ट खर्च र आम्दानी देखियोस् भन्ने हेतुले बक्स अफिस कार्यान्वयन गर्न लागेको उनको तर्क रहेको छ।
 
चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीका अनुसार अबको केही दिनमा बक्स अफिसका लागि बोर्डले बोलपत्र आह्वान गर्दैछ।
 
सञ्चार मन्त्रालयले बक्स अफिसका लागि आवश्यक बजेट छुट्याइसकेको छ। मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकाल भन्छन्, 'आवश्यक भनिएको रकम अलोकेट गरेका छौं। थप चाहिए त्यो पनि दिन प्रतिबद्ध छौं। तर काम कता कसरी पुग्यो थाहा छैन।'
 
बोर्ड वा अन्य कुनै सम्बन्धित ठाउँबाट बक्स अफिसका लागि भइरहेको काम र विकास बारे भने कुनै जानकारी प्राप्त नभएको उनले बताए।
 
'भनेको, सोचेको जति सहज छैन बक्स अफिसको काम। सर्भर र सफ्टवेर, इन्जिनियरदेखि अन्य प्राविधिकको आवश्यकता, सबै काम बिस्तारै हुँदैछ,' बोर्ड सदस्य केसी भन्छन्।
 
हल व्यवसायी प्रदीप दाहाल भने बक्स अफिस लागू नै भए पनि चर्चा हुँदै आए जस्तो काम गर्छ भन्नेमा ढुक्क छैनन्। 'नेपालका सबै हलमा इटिकेटिङ सिस्टम लागू नभई ल्याउन लागिएको छ। उद्देश्य र प्रयोजनबारे नै बुझिएको छैन,' व्यङ्ग्यात्मक शैलीमा थप्छन्, 'हामी आफ्नो स्तरको काम गर्ने हो। बक्स अफिस ल्याए पनि ठिक नल्याए पनि ठिक।'

बक्सअफिस आवश्यक भए पनि नेपालको फिल्म इन्डस्ट्री र पूरै फिल्म व्यवसायको अवस्था अध्ययन गरेर, आवश्यक सुधार गरेर मात्र बक्सअफिस स्थापना भए त्यसको औचित्य रहने उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell