PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

साफ महिला च्याम्पियनसिप : तोड्ला नेपालले भारतको अवरोध?



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिप : तोड्ला नेपालले भारतको अवरोध?

काठमाडौं : धेरैको अनुमान थियो यसपटक पनि साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत नै पुग्नेछ। यो स्वभाविक पनि थियो। किनकी यसअघिका तीनवटै संस्करण नेपाल र भारत नै फाइनल पुगेका थिए। यी दुवै देशले बाँकी विपक्षीसँग हार पनि बेहोरेका थिएनन्। अझ भारतले चौथो संस्करण अघिसम्म त अहिलेसम्म खेलेका खेलमा कुनै पनि अंक गुमाएको थिएन।

यस संस्करणमा केही फरक नतिजा निस्केको छ। नेपाल र भारतको भेट पहिलो पटक सेमिफाइनलमै हुँदैछ। त्यसको पहिलो कारण नै भारतले विपक्षी विरुद्ध अंक गुमाउनु हो।

नेपाल समूह चरणको तीनवटै खेलमा शतप्रतिशत नतिजा नकिाल्दै समूह ए को विजेता बन्दा भारत भने समूह बी को उपविजेता बन्यो। नेपालले समूह चरणको तीनवटै खेल जित्दा ३ टीम मात्र रहेको समूह बी मा भारत एक जित र एक बराबरीका साथ उपविजेता बनेको हो। नेपालले समूह चरणमा भुटानलाई ८-०, माल्दिभ्सलाई ९-० र श्रीलंकालाई १-० ले हराएको थियो।

भारत रहेको समूहमा बंगलादेश समूह विजेता बन्यो। भारत र बंगलादेशसँग दुवै खेल हारेसँगै समूह बी बाट अफगानिस्तान बाहिरिसकेको थियो। यस्तोमा भारत र बंगलादेशबीच हुने खेलले समुह चरणको विजेता छिनोफानो हुने थियो। भारतले अफगानिस्तानलाई ५-१ ले हराएको थियो भने बंगलादेशले ६-० ले अफगानस्तिानलाई हरायो।

त्यसले गर्दा समूह विजेता बन्न बंगलादेशलाई भारतसँग बराबरी नै पर्याप्त थियो भने भारतले समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने थियो।
बराबरीसँगै भारतले नेपालसँगको सेमिफाइनल भेट पक्का गर्यो। नेपाली टीम र पहिलो पटक नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाको लागि यो केही नौलो भिडन्त हुन सक्छ।

भारतप्रस्थान गर्नुअघि पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापाले यस पटक भारतलाई हराउँदै साफ च्याम्पियन जित्नु नै नेपालको लक्ष्य भएको बताएका थिए। भारतसँगको हार वा फेरी उपविजेताले थापाको लागि मान्य थिएन। त्यसैले उनी च्याम्पियन बन्ने दृढताका साथ पुराना र नयाँ खेलाडी मिश्रीत टोली सहित सिलगुढी पुगेका छन्।

नेपाल अहिले दुई फरक नतिजाको संघारमा छ। पहिलो, भारतलाई हराउन सके पहिलो पटक च्याम्पियन बन्ने बाटो केही सहज हुने सम्भावना छ। र फाइनलमा पहिलो पटक भारतबाहेकको अन्य प्रतिद्वन्ती नेपालको अगाडी आउनेछ।

दोश्रो, नेपाल भारतसँग सेमिफाइनलमै हार्यो भने दक्षिण एसियामा नेपाल तेस्रो हुनेछ। यसअघिका नतिजाहरु हेर्ने हो भने भारतपछि नेपाल सँधै दक्षिण एसियामा दोस्रो हुँदै आएको छ।

त्यसैले पनि आफ्नो अस्तितव जोगाउनकै लागि भएपनि नेपालले भारतलाई हराउनैपर्नेछ। अर्कोतिर साफ च्याम्पियनसिपको ट्रफीतर्फ एककमद अगाडी बढ्न पनि भारत विरुद्ध नेपाललाई निश्चित जितको खाँचो छ।
 

सेमिफाइनल मात्र नभएर फाइनल सरह

फाइनल भिड्ने मनस्थितीका साथ गएका नेपाली टीमका लागि अब भारतलाई सेमिफाइनलमै पन्छाउनुपर्ने चुनौती आइपरेको छ। भारत सेमिफाइनलको प्रतिद्वन्दी बनेसँगै प्रशिक्षक थापाले यो खेललाई सेमिफाइनल मात्र नभएर फाइनल सरह भएको बताइसकेका छन्।

इतिहास जे जस्तो भएपनि यो पटक नेपालको एउटै मात्र लक्ष्य भनेकै भारतलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियन बन्ने थियो। अब नेपालको लागि भारतलाई पराजित गरेर मात्र पुग्ने छैन फाइनलमा पुग्ने अर्को टोली बंगलादेश वा माल्दिभ्समध्ये एकलाई समेत हराउनुपर्नेछ, उपाधि जित्नको लागि।

त्यसको लागि पहिले नेपालले भारतविरुद्ध यसअघिका हारका श्रृखंला तोड्नु जरुरी छ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद साग गेम्समा गरी कूल ७ पटक भारतसँग भिड्दा एक पटक पनि जित हात पार्न सकेको छैन।

सन् २०१६ को साग गेम्समा लिग चरणमा गोलरहित बराबरी खेल्नु नै भारत विरुद्ध नेपालको सबैभन्दा ठुलो उपलब्धी हो। त्यसबाहेक साग गेम्समा नेपाल भारतसँग ३ पटक पराजित भइसकेको छ। दुई पटक फाइनलमा र अर्को एक पटक लिग चरणमा।

गत वर्ष भारतमा भएको १२ औं साग गेम्समा नेपाल स्वर्ण पदक भिडन्तमा भारतसँग ४-० ले पराजित भएको थियो। त्यसअघि राउण्ड रोविन लिगामा भारतलाई गोलरहित बराबरीमा रोकेपनि फाइनलमा नेपाल निरिह बनेको थियो।

यस्तै दुई वर्ष अघि पाकिस्तानमा भएको तेस्रो साफ च्यामिपयनसिपको फाइनलमा नेपाल भारतसँग ६-० को पराकिलो अन्तरले पराजित भएको थियो। त्यस प्रतियोगितामा टीममा रहेका मध्ये १३ खेलाडी अहिले पनि खेलिरहेका छन्।

चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत सोमबार कञ्चलजंगा स्टेडियममा हुने पहिलो सेमिफाइनल यसअघिका भन्दा फरक हुनेछ। कारण पहिलो पटक भारत र नेपाल सेमिफाइनलमै भिड्दैछ। यसअघि नेपाल र भारतको सेमिफाइनल प्रतिद्वन्दी फरक हुन्थ्ये र सहज जितका साथ फाइनल प्रवेश गर्थे। नेपाल मात्र नभएर भारतको लागि पनि यो चुनौतीको रुपमा रहनेछ।

 
म्याच फ्याक्ट्स

नेपाल भर्सेस भारत (पहिलो सेमिफाइनल)
स्थान : कञ्चनजंगा स्टेडिया, सिलगुढी
समय : दिउँसो २:१५ बजे नेपाली समय अनुसार
फिफा वरीयता : नेपाल १०५, भारत ५४  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell