PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विवाहबारे केकीको मनमा के खेल्छ?



स्वेच्छा राउत

विवाहबारे केकीको मनमा के खेल्छ?

काठमाडौं : कुनै चाडपर्व होस् वा पारिवारिक भेटघाट, नायिका केकी अधिकारीलाई आफन्त, साथीभाइले सोध्ने एउटै प्रश्न हो- 'विवाह कहिले गर्ने?'
 
उनीसँग कुनै जवाफ छैन। त्यसैले एक वर्षयता हाँसेरै टार्दै आएकी छिन्। बरु यही प्रश्न सुन्दासुन्दा उनको मनमा अर्को प्रश्न जन्मिएको छ, जुन आफैंलाई सोध्ने गर्छिन्- 'वास्तवमा विवाह गर्ने उमेर कति हो?'
 
'मैले अझै पनि छोरी मान्छेले विवाह गर्ने उचित समय वा उमेर कुन हो भन्ने बुझेकै छैन', विवाह गर्ने उमेर हदबारे केकी सुनाउँछिन्, 'मेरो विवाहबारे आफ्नाहरुले निकै चासो राखेको देख्दा उमेर भयो कि जस्तो पनि लाग्छ। तर सोच्छु, केले निर्धारण गर्छ विवाह?' 
 
समाजले छोरीमान्छेको विवाह, सम्बन्धमाथि लक्षित गरेर तोकेको केही अघोषित क्राइटएरियाको विपक्षमा छिन्, केकी। महिला वा पुरुष दुवैको विवाह गर्ने निश्चित समय वा उमेर हुन्छ भन्ने उनलाई लाग्दैन।

 
'तर छोरी मान्छेको हकमा अलि बढी उमेरसम्म अविवाहित रहनुले समाजमा छुट्टै प्रश्न चिह्न खडा गर्छ,' उनले बुझेकी छिन्। विवाहबारे प्रश्न, नभए प्रेम सम्बन्धमाथिको आशङ्कालाई उनी संकेत गर्छिन्।
 
केकीले चार-पाँच वर्ष अघिसम्म त पढाइको बाहाना बनाएर विवाहको प्रश्न पन्छाइन्। त्यसपछिका केही वर्ष करिअरमा फोकस्ड हुने निर्णय सुनाइन्। अब त उनले मास्टर्स सक्काइन्। करियरको हिसाबमा पनि एउटा नाम स्थापित गरिसकेकी छिन्। 
 
केकीलाई अहिले परिवार र आफन्तले घेरेर सोध्छन्- 'विवाहभोज खान पाउने कहिले हो?' उनी यत्तिकै फुत्किनै पाउन्नन्।
 
'अब विवाहको प्रश्न पन्छाउने बहाना नै सक्कियो', निकै लामो हाँसो हाँसेर थप्छिन्, 'बाबा-ममीलाई त कन्भिन्स गरुँला तर उहाँहरुले आफन्तलाई चाहिँ के जवाफ दिने?' 
 
विवाहबारे आफू अलमल्लमा परेको बताउँछिन् उनी। हुन त यो अलमल उनी जस्ता आम युवतीहरुको पनि हुन सक्छ, आखिर उमेरको कुन विन्दु यस्तो छ; जहाँ पुगेर विवाह गर्न सकियोस्!
 
आफू जस्तै मानसिक द्वन्द्वमा थुप्रै युवती रहेको उनले पनि बुझेकी रहिछन्। कतिको इच्छाविपरीत हुने विवाह, घर, समाज र परिवारले दिने दबाब, आफूले ठिक वा बेठिक छुट्याउन नसक्दैको अवस्था; यी सबैले व्यक्तिगत, पारिवारिक वातावरण साथसाथै सामाजिक संरचनामा पनि असर गर्ने उनले बताइन्।
 
यी सबै अन्योलका बीच उनीसँग कुनै जवाफ छैन। बस्, फिस्स हाँसिदियो; सक्कियो।
 
•••
रियल लाइफको यो अनुभवलाई रिल लाइफमा पनि प्रस्तुत गर्दै छिन् केकी। फिल्म 'लभ सासा'मा उनले उमेर बढे पनि विवाह गर्न तयार नभएकी युवतीको भूमिका निर्वाह गर्दै छिन्। सासा बनेर देखिन लागेकी उनी फिल्म नारीवादी दृष्टिकोणबाट हेर्नैपर्ने बताउँछिन्।

 
'परिवार र आफन्तले विवाहको लागि दबाब दिइरहेको तर आफू तयार नभएको युवतीको मनमा कस्तो कुरा खेल्छ? उसको व्यवहारमा कस्तो परिवर्तन देखिन्छ? उसले समाजले विवाहबारे बनाइदिएको धारणालाई कसरी लिन्छे?
 
'यस्तै प्रश्नहरुको उत्तर दिन्छ फिल्मले,' केकीले सरसर्ती फिल्मको कथा सुनाइन्।  फिल्ममा आफ्नै रियल लाइफको अनुभूति जोडिएकाले सोहीअनुरुप प्रस्तुति दिएको उनी बताउँछिन्। अभिनयभन्दा बढी एक अविवाहित युवतीको अनुभव र भोगाइहरुको मिश्रणमा आफूले मेहनत गरेको भन्न छुटाइनन् उनले।
 
'केही वर्षअघिसम्म पढाइ सकेपछि विवाह गर्ने सोच बनाउने धेरै थिए। अहिले पढाइभन्दा महत्वपूर्ण करिअरलाई मानिन्छ,' आम युवा पुस्ताबारे उनी बोलिन्, 'करियर बनाएपछि मात्र विवाह गर्ने सोच बनाउनेहरु निकै छन्, यो सकारात्मक परिवर्तन पनि त हो।'
 
करिअरलाई विवाहभन्दा माथि राख्ने हरेक युवतीको प्रतिनिधि फिल्ममा सासाले गर्छे। तर त्यो सासा कुनै युवती मात्र होइन केकी आफैं पनि हो। 
 
त्यसो त निर्देशक प्रचण्डमान श्रेष्ठले फिल्मको लिडमा केकीलाई रोज्नुको कारण पनि उस्तै छ। श्रेष्ठ सुनाउँछन्, 'केकीले नायिका भएर मात्रै होइन। मैले खोजेको पात्र भएर काम गर्न सक्छ भन्ने विश्वास थियो। साँच्चै केकीलाई बिर्सेर सासा बनिदिइन्।'

फोटो : बिनोद पोखरेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell