PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

राष्ट्रिय खेलको मान्यता पाएपछि भलिबलप्रेमी दङ्ग, रातभर सुतेनन् भलिबल संघका अध्यक्ष



गोविन्दराज नेपाल

राष्ट्रिय खेलको मान्यता पाएपछि भलिबलप्रेमी दङ्ग, रातभर सुतेनन् भलिबल संघका अध्यक्ष

काठमाडौँ : मनोरञ्जन रमण शर्मा गएराति रातभर सुत्न सकेनन्। फोन बजेको बज्यै, बधाई थापेको थाप्यै। 

उनले व्यक्तिगत रुपमा केही त्यस्तो ठूलो उपलब्धि पाएका हैनन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको एउटा निर्णय उनको लागि जीवनकै सबैभन्दा ठूलो खुसीको खबर बनेर आइदियो। 

शर्मा भलिबल संघका अध्यक्ष हुन्। नेपालका हिमाल, पहाड, तराई सबै भू-भागमा खेल्न सकिने, सबै जिल्लामा संघ भएको खेल हो भलिबल।
मन्त्रिपरिषद्को सोमबार रातिको बैठकले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको थियो। 

निर्णयबारे समाचार मिडियामा आउने बित्तिकै उनको मोबाइल व्यस्त हुन थाल्यो। 'देश विदेशका सबै साथीहरु, खेलाडी, भलिबललाई माया गर्ने सबैले बधाई दिइरहनुभएको छ, सबै जना उत्साहित छन्,' शर्माले पहिलोपोस्टसँग भने।

नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ हुँदादेखि नै भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिनुपर्ने भन्दै सुझाव तथा हस्ताक्षर संकलन समेत गरिएको थियो। अहिले मनोरञ्जन रमन शर्माको पालमा आएर त्यो पूरा भएको छ।

विगत तीन वर्षदेखि नेपालको राष्ट्रिय खेल कुन भनेर गरिदै आएको प्रश्नको अन्त्य पनि सरकारले हिजोदेखि गरिदिएको छ। 

करिब ३ वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यसअसघि राष्ट्रिय खेल भनिदै आएको डन्डीबियोलाई पछि पारेको हो।

सरकारको निर्णयले भलिबलप्रेमी दर्शक, खेलाडी, भलिबल संघ, पदाधिकरी सबै उत्साहित बनेका छन्। 

'हामीलाई जिम्मेवारी थपिएको छ। सरकारले हामीलाई कोहिनुर हिरा दिएको छ। अब त्यसलाई काँटछाँट गरेर एउटा अनमोल हिरा बनाउने जिम्मा हामीलाई छ,' पहिलोपोस्टसँग कुरा गर्दै शर्माले भने, 'त्यो हिरालाई सदुपयोग गर्दै नेपालमा हिरा जस्तै खेलाडी जन्माउने कि हिरालाई हिलोमा फाल्ने त्सो सोचेर अगाडि बढ्छौँ।'

अब एक/दुई दिनभित्रै संघका पदाधिकारीहरु छलफल गरेर अगाडि बढ्ने पनि उनले बताए। 

अबको योजना के छ त? 

अध्यक्ष शर्मा 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक' भने जस्तै अब संघको आफ्नै कभर्डहल बनाउने योजना सुनाए। अहिले राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा संघले भलिबल प्रतियोगिताहरु गर्दै आएको छ।

'सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गरिरहेका छौँ, यदि जग्गा उपलब्ध भयो भने हामी एफआइभी, एभिसी लगायत अन्य दातासँग सहयोग मागेर, चन्दा उठाएर भएपनि आफ्नै खेल्ने स्थान तयार पार्छौ।' 

यस्तै अबदेखि खेलाडीको ट्रेनिङ, डाइट देखि लिएर जर्सी किट्स सबै विषायमा संघले ध्यान दिने उनले बताए।

'अहिले हामी जसरी खुशी छौँ, यसलाई जोगाइराख्छौँ र निराशामा बदल्न दिदैनौँ' शर्माले भने। 

भलिबल संघका महासचिव जितेन्द्र चन्दले पनि सरकारको निर्णयले भलिबलको विकासमा नयाँ युग सुरु हुने भन्दै फेसबुकमा स्टायटस लेखेका छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell