PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'जीरे खुर्सानी'की डोमाको संघर्षयात्रा : श्रीमान् भन्थे - फिल्म खेल्नेले त जोसँग पनि अङ्गालो हाल्नुपर्छ



स्वेच्छा राउत

'जीरे खुर्सानी'की डोमाको संघर्षयात्रा : श्रीमान् भन्थे - फिल्म खेल्नेले त जोसँग पनि अङ्गालो हाल्नुपर्छ

काठमाडौं:  गाउँमा पानासोनिक रेडियो खुब चलेको थियो। रेडियोमा बज्थ्यो गीत 'डफली वाले डफली बजा'। 

हेलम्बुको शेर्माथाङ गाउँमा आप्पा आमाहरुले आफ्नै भाषाको गीत गाउँथे 'मादल घनघन घन्काउँला, सुरती पाखामा नाचौंला'। ह्योल्मो भाषाका गीतहरु सुन्दै आएकी कलाकार डोमा ह्योल्मोको सपना पनि रेडियोका गीतसँगै फराकिलो बन्दै गए।

ह्योल्मो गीतमा नाच्न त नाच्थिन् डोमा। तर रेडियो घन्किन थाले पछि रेडियोका गीतसँगै नाच्न मज्जा लाग्यो डोमालाई। त्यसैले गोठालो जाँदा पनि पानासोनिक रेडियो सुटुक्क लिएर जान्थिन् उनी । अनि वरिपरी साथीहरु जम्मा गरेर सुरु गर्थिन् छमछमी नाच्न। 

'माइतीमा जस्तो नाचेर नहिँड्नू'

१६ वर्षकी थिइन् जब विवाह गरेर हेलम्बुबाट आइन् मेलम्ची। हुर्केकी छोरी, बुहारी बनेर भर्खर नयाँ घरमा भित्रिएकी। जिम्मेवारी थियो - घर धन्दा सम्हाल्ने। अनुशासनमा बस्नु उनको कर्तव्य। डोमालाई आमाले सिकाएर पठाएकी थिइन् 'माइतीमा जस्तो नाचेर नहिँड्नू'। तर चञ्चले डोमाको मन किन मान्थ्यो र? गाईवस्तुसँगै बोक्थिन् रेडियो र गोठालो गएको पाखामै मन खोलेर कम्मर मर्काउँथिन्। 

अहिले पनि बौद्धको घरमा जब गाउँका पाका मानिस आउँछन् यादहरु दिमागमा ताजा हुन्छन्, डोमा रोमाञ्चित हुँदै सुनाउँछिन् । नोस्टाल्जिक हुँदै भन्छिन्,'सानैदेखि नाच्ने र गाउने भएर पो रहेछ, कलाकारको रुपमा स्थापित हुन लेखेको।' 

डोमाले नेपाली फिल्ममा इन्ट्री गर्दाको समय जनजाति कलाकार निकै कम हुन्थे। आँखा ठूला भएका, जिउडाल अग्लो, पातलो भएको युवतीहरुलाई पर्दामा ठाउँ दिइन्थ्यो। यसबीच डोमाले कलाकारितामा आफ्नो छुट्टै ठाउँ बनाएकी छिन्। 

उनी सम्झन्छिन् सुरुवाती दिनका कुरा,'रेडियो नेपालको फूलबारी कार्यक्रममा आफ्नै भाषाको गीत गाएर फिल्म र संगीत क्षेत्रकाहरुसँग सम्बन्ध बढेको। उनी भन्छिन् - कलाकारितामा लाग्दाको खासै ठूलो संघर्षको कथा नै छैन।' माइती र घरका बन्देज पार गर्नु उनलाई संघर्ष लाग्दैन।

पहिलो ब्रेक

सुरुवातमा उनले सजिलै फिल्ममा भूमिका पाइन्। उनको सपना थियो - फिल्ममा खेल्ने, धेरैबीच पहिचान बनाउने र विशेष गरी आफ्नो जातिको महिलाले पनि केही गर्न सक्छन् है भनेर देखाउने। मीठो स्वरकी धनी उनले गीत गाएरै कलाकर्मी रिजाइन्। र पहिलो पटक ब्रेक पाइन् फिल्म 'कोसेली'मा। 

कुरा हो २०४९ सालको। बौद्धमा बस्थिन् उनी।  कोसेली फिल्मको मंगोलियन पात्रको लागि लुगा माग्न डोमा कहाँ पुगे कलाकार प्रदीप सिंह। डोमा सुटिङ हेर्न सेटमा पुगिन्। डोमाले नै भूमिका गर्न सक्ने देखेपछि सो मंगोलियन पात्र 'आउट' भए। डोमा भइन् 'इन'।  घरमा कसैको अनुमति बिनानै फिल्ममा अभिनय गरिन् डोमाले। त्यसपछि देउता, दुई थोपा आँशु, अवरोध, प्रतिज्ञा, माटो बोल्छ, आमा जस्ता दर्जनौँ सफल फिल्ममा भूमिका पाइन् उनले। 

जोसँग पनि अङ्गालो हाल्नु पर्छ

फिल्म खेल्नुलाई सजिलै स्वीकारेका थिएनन् घर परिवार र लोग्नेले।  डोमालाई लोग्ने भन्थे,'फिल्म खेल्नेले त जोसँग पनि नाच्नु पर्छ, अङ्गालो हाल्नु पर्छ' डोमाले सुनाइन्,'सायद आफ्नो श्रीमतीलाई स्क्रिनमा अरु पुरुषसँग देख्दा उसलाई राम्रो लाग्दैनथ्यो। फेरि समाजले के भन्ला भन्ने पिर पनि थियो होला।'

राति घर नफर्कने, टिभीमा दुई पात्र मात्र एकसाथ देखिने, ढिलासम्म बाहिर रहने आदि कारणले लोग्ने फिल्म क्षेत्र प्रति नकारात्मक रहेछन् भन्ने उनले बुझिन्। र सम्झाइन्, फिल्म सुटिङ देखि प्रदर्शन सम्मको प्रक्रिया। सुटिङमा हिरो हिरोइन मात्र नभएर मेकअप म्यान, लाइट्स म्यान, निर्देशकदेखि १५, २० जनाको टोली हुन्छन् भन्ने बुझाउन गरेको संघर्ष सम्झन्छिन् उनी। 

अन्तत: डोमाको श्रीमानले पनि फिल्म क्षेत्र बुझे। अनि उल्टो डोमाको प्रोत्साहनमा जुटे। डोमाले सुटिङको सुरुमा आफ्नो टेक लिनका लागि आग्रह गर्न पर्ने दिन गए। ढिलो हुँदा पनि धेरै चिन्ता गर्न परेन। बिस्तारै रेडियो र स्टेज कार्यक्रममा पनि समय दिन थालिन्।
'सम्बन्धमा एउटा मात्र कुरा बुझेर बुझाएर मात्र चाही नहुने रहेछ' भावुक हुँदै डोमा भन्छिन्,'१६ वर्षको उमेरमा विवाह भयो। ३९ वर्ष सँगै रहँदा पनि एकअर्कालाई बुझेनौं।'

आठ वर्ष अघि हाम्रो डिभोर्स भयो।

एकअर्कासँगै बस्दा दिएको साथ र प्रोत्साहनले अझै सकारात्मक बन्न सहयोग गरेको सुनाउँछिन् उनी। 'कुरा मिल्दै मिलेन छुट्टियौं। यसमा सधैं दुःखी हुनपर्ने केही छैन जस्तो लाग्छ', केही बेर लामो हाँसो पछि कुराकानीको विषय मोड्छिन्।

ह्योल्मो गौरव

आफू फिल्म क्षेत्रमा लाग्नु र लाग्दा लाग्दै संगालेको अनुभव केही रोचक भएको बताउँछिन् उनी। 

उनी ह्योल्मो समुदायको पहिलो महिला हुन् जसले कलाकारितामा लागेर निरन्तर पच्चीस वर्षभन्दा बढी काम गरिन्। पहिले उनकै समुदायले कलाकारितामा लाग्नुलाई ठीक मान्दैनथ्यो अहिले त्यही समुदाय कलाकार डोमा 'ह्योल्मो' हुनुमा गर्व गर्छ।

अनौठो कुरा त उनले फिल्महरुबाट राम्रा मान्छे र सन्तुष्टि बाहेक केही कमाइन। 'पैसाको आश गर्ने त अवस्था नै थिएन। बरु आफै खर्च गरेर सुटिङ, सेट भन्दै कत्ति दौडिएँ कत्ति',उनी पुराना कुरा सम्झन्छिन्,'टिभीमा देखिनुले नै सबै खुशी दिन्थ्यो।' 

बख्खु र पाङ्गेनले स्थापित


उनको अभिनय यात्राको अर्को रमाइलो पक्ष, डोमाले गरेको दुई दर्जन फिल्ममध्ये मात्र दुई फिल्ममा उनले सारी लगाइन्। डोमा पात्रको परिचय पनि उनकै बख्खु र पाङ्गेनले स्थापित गराइ दियो।

डोमा उत्साहित हुँदै प्रस्तुत हुन्छिन्,'सबैभन्दा रमाइलो त के भने म स्वर राम्रो भएको कारण गायन क्षेत्रमा लागेको, अभिनयको कारण चर्चामा आएँ।'

उनको नेपाली र ह्योल्मो भाषाको १६ गीति एल्बम सार्वजनिक भैसकेका छन्। उसो त हास्यकलाकारको रुपमा चर्चित डोमा कलाकारितामा मात्र सिमित छैनन्। मुङ्गाको मालाहरुको व्यवसाय गर्छिन्। उनी अहिले अभिनय र गायन र व्यापारका लागि समय म्यानेज गर्छिन्। संघर्ष गरेर आएको स्थान गुमाउन चाहाँदिनन् उनी। 

अहिले उनको परिवारमा छोरीले 'आमाको पहिचान गुम्न' नदिन डोमालाइ साथ दिइरहेकी छिन्। छोरी एसिडन युट्यबको आफ्नो च्यानलका लागि भिडियो बनाउँछिन्। अनि आमालाइ पनि युट्युबमै भिडियो खेलाउँछिन्। आमा छोरीले सँगै भिडियो समेत खेलका छन्।

टेलिफिल्म जिरे खुर्सानीमार्फत् घर घर पुग्ने गरेकी डोमालाई छोरीले युट्युब मार्फत अन्तराष्ट्रियकरण गरेकी छिन्। 'प्रविधिको विकासले नेपाली कलाकारको पहिचान मात्र होइन व्यवसायलाइ पनि अलिक सुरक्षीत बनाएको मेरो आफ्नो अनुभव छ', डोमा खुसी साथ सुनाउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell