काठमाडौं : हामीले प्रेमलाई आ-आफ्नो दृष्टिकोणबाट हेर्यौँ र त्यही अनुसार बयान गर्यौँ। प्रेमको निश्चित परिभाषा छैन। त्यसैले केही अवस्थामा धेरै पटक प्रेम के हो? भन्ने प्रश्न उठ्छ। त्यही प्रश्नबीच उत्पन्न हुने द्वन्द्व नै फिल्म 'लभ सासा'को केन्द्र हो।
एउटा जीवनमा प्रेम कति पटक हुन्छ? एउटा प्रेमले दिएको पीडा भुलाउन अर्को प्रेमको प्रयोग! प्रेम भावना हो या फगत शब्द? अनि हाम्रो समाज जहाँ एक अविवाहित युवती विवाहको मामलामा आफू निर्णय लिन सक्दिन, परिवारको चाह र खोज अनुरुप ऊ चल्नु पर्छ- यहाँ प्रेमले कस्तो संघर्ष गर्नुपर्छ? यिनै विषय लभ सासाले उठाएको छ।
फिल्मको कथा छोटो छ। एउटा सर्ट फिल्ममा अटाउने। अष्ट्रेलियाबाट आएकी सासा (केकी अधिकारी) को प्रह्लाद (कर्म) सँग अप्रत्याशित भेट हुन्छ। प्रह्लाद प्रेम वियोग भुलाउन संघर्षरत छ। इन्गेजमेन्ट गर्न नेपाल आएकी सासा पूर्वप्रेमिका सिमा (ऋचा शर्मा) ले दिएको चोट भुलाउन सहयोग गर्ने भन्दै प्रह्लादसँगै समय बिताउँछिन्। तर भइदिन्छ ठिक उल्टो। विवाहको संघारमा रहेकी सासा पर्लसँग प्रेममा पर्छिन्। प्रेम हुनुको अर्थ सधैं सम्बन्धमा रहनु नहुन सक्छ भन्ने कुरालाई यी दुईको कथा मार्फत प्रस्तुत हुन्छ।
कथामा जोडिन्छ सिद्धार्थ।
व्यावसायिक सफलताका कारण सम्पन्न ठहरिएको सिद्धार्थसँग सासाको विवाह गराइँदैछ। उनको नियत र व्यवहार ठिक नभएको संवाद मार्फत देखाइन्छ। पर्लसँगको आत्मीयता र सिदसँग बढ्न नसकेको सासाको निकटता प्रतीकात्मक छ। आदर्शवाद बोकेको सम्बन्ध जहाँ प्राप्ति र स्वार्थको लागि ठाउँ हुँदैन। अव्यक्त रहेर पनि महसुस गरिने भावनाहरुको प्रतिनिधि हो पर्ल र सासाको सम्बन्ध। त्यस्तै भौतिकता केन्द्रमा राखेर गाँसिने सम्बन्ध दर्शाउँछ सिद र सासाको सम्बन्धले।
चोटिला र सटिक संवादले फिल्ममा दर्शकको ध्यान तानिराख्छ। पटकथा लेखनमा गरिएको मेहनतले नै छोटो कथालाई दुई घन्टा लामो फिल्म बनाउन सहयोग गरेको छ। समग्रमा फिल्मको सबैभन्दा बलियो रहेको पक्ष नै कथा हो।
पर्लले सासाको फोटो खिचेर पत्रिकामा छाप्नु, सासाले पर्लको खोजी गर्नु, साथीको सहयोगमा नम्बर पत्ता लगाउनु। संयोगवश यी दुईको भेट हुनु; लाग्छ यो सब घटनाले कथामा केही ट्विस्ट ल्याउँछ। तर त्यस्तो केही हुँदैन। यस्ता दृश्यले गर्दा लाग्छ फिल्मलाई लामो बनाउन अनावश्यक तन्काइएको छ।
गीत, संगीतले फिल्मको कथा बोल्न ठूलो भूमिका खेलेको छ। गीत मार्फत पर्ल र सासाबीचको निकटता र उनीहरुबीचको दुरी बढ्नुलाई पनि देखाइएको छ। पार्श्वसंगीतले सुमधुर बनाएको छ रोमान्टिक ड्रामालाई। संगीतमा जेशन कुँवरको मेहनत गरेका छन्।
सरल छ 'लभ सासा'। जे लेखियो त्यसैलाई पात्र मार्फत कथामा उतारेको जस्तो। केही ठूलो उतावचढाव नआउनाले दर्शकलाई कुनै प्रेम कथा सुनेको वा पढेको जस्तो मात्र लाग्न सक्छ।
फिल्ममा पात्र थोरै छन्। सासा र उसकी साथी, पर्ल र उसको साथी, सासाकी आमा र सिद्धार्थ। यिनैले कथालाई सुरुबाट अन्त्यसम्म पुर्याउँछन्। यी मुख्य पात्रहरु अभिनयमा ठिक लाग्छन्। केही ठाउँमा डायलग डेलिवरी कृत्रिम लागे पनि आफ्नो चरित्रलाई न्यायपूर्ण निभाउने प्रयास छ।
स्टारडमको प्रयोग प्रयास राम्रो छ। लेखक बुद्धिसागरको भूमिका, ऋचा शर्मा, निश्चल बस्नेत, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइरालालाई देखाइनुले दर्शकलाई थप उत्साही बनाउँछ।
तर बुद्धिसागरको अभिनयले फिल्मलाई केही नाटकीय बनाउँछ। समकालीन साहित्य लेखनका गनिएका बुद्धिसागरको उपस्थिति महत्वपूर्ण लाग्छ तर लेखकको ठाउँमा अभिनयमा बलियो कुनै पात्र भएको भए दर्शकलाई सो पात्रको प्रस्तुति नाटकीय महसुस नहुन सक्थ्यो।
एकरात बाहिर बस्दा छोरी मान्छे बाहिर बस्न नहुने अर्ति दिने आमाले पर्ललाई एक परिचित केटासँग समय बिताउन दिनु, होटलहरुमा सुटकै लागि वातावरण शान्त देखाए जस्तो लाग्नु, क्यामेरा, किताबप्रतिको लगाव, पात्रले अभिनयमा कम संवादमार्फत बढी देखाउनु, सिद्धार्थको पारिवारिक पक्ष नदेखाउनु, फोटो खिच्न गएका पर्ल र सासालाई व्यक्तिगत समय बिताएर फर्किएको देखाउनु- यी सानासाना कमजोरी हुन्। मुख्य विषयमा असर नगरे पनि ध्यान दिन आवश्यक थियो।
आफ्नै कथालाई सरल अनि सहज ढङ्गमा निर्देशन गरेका प्रचण्डमान श्रेष्ठको मेहनत उत्कृष्ट लाग्छ। उनले आफ्नो दिमागमा रहेको चित्रलाई दर्शकले बुझ्नेगरी प्रस्तुत गर्न खोजेको भान हुन्छ। सिनेमाटोग्राफी र सम्पादनमा गरिएको मेहनतकै कारण पनि फिल्ममा दृश्य राम्रो देखाउन पोखराका लोकप्रिय ठाउँहरुका दृश्य कैद गर्न आवश्यक परेन।
युवा प्रेम, सम्बन्ध, समाज र परिवारसँग जोडिएको पक्षको मनोविज्ञान प्रस्तुति हो समग्रमा यो फिल्म। दर्शकलाई भावनात्मक रुपमा अड्याउन सफल छ। किनकि नाटकीय प्रयोग नगरी दर्शकको अपेक्षा मिट गर्न निर्देशक श्रेष्ठले गरेको प्रयास लोभलाग्दो छ।