PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वुमन्स वर्ल्ड भलिबल च्याम्पियनसिप छनोट खेल्न नेपाली भलिबल टोली बुधबार माल्दिभस जाने, दोस्रो चरण पुग्ने लक्ष्य



गोविन्दराज नेपाल

वुमन्स वर्ल्ड भलिबल च्याम्पियनसिप छनोट खेल्न नेपाली भलिबल टोली बुधबार माल्दिभस जाने, दोस्रो चरण पुग्ने लक्ष्य

काठमाडौं : सन् २०१८ मा हुने वुमन्स वर्ल्ड भलिबल च्याम्पियनसिप अन्तर्गत एसियन सेन्ट्रल जोनको छनोट खेल्न नेपाली महिला भलिबल टोली बुधबार माल्दिभ्स जाँदैछ। 

विश्व भलिबलको सर्वोच्च निकाय फिभको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो। यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ।

शुक्रबारबाट माल्दिभ्समा हुने प्रतियोगिता खेल्ने नेपाली खेलाडी प्रशिक्षक र व्यवस्थापक लगायत २० सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले मंगलबार बिदाइ गरे।

३ टोलीको सहभागिता
एसियन सेन्ट्रल जोनको छनोटमा ३ टोलीको मात्र सहभागिता रहनेछ। नेपालसहित आयोजक माल्दिभ्स र इरानले मात्र पहिलो चरणका छनोट खेल्ने भएका हुन्।

यसअघि भारत, श्रीलंका र बंगलादेशले पनि सहभागिता जनाउने बताइएपनि अन्त्यमा आयर तीन टोलीको मात्र सहभागिता पक्का भएको हो।
भारतले आन्तरिक विवादका कारण प्रतियोगितामा भाग नलिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। चन्दका अनुसार बंगलादेशको महलिा टोली उत्कृष्ट नभएको र श्रीलंकाले छनोटको लागि नाम दर्ता नगराएका कारण तीन टोली मात्र भएको हो।

नेपाल करिब दुई हप्ताको प्रशिक्षण पछि वर्ल्ड च्याम्पियनसिपको छनोट खेल्न जान लागेको हो।

यस्तै प्रि प्लान नभएको, फिभ र एभिसीसँग कुरा पनि नभएका कारण नेपाली टोलीको प्रशिक्षण गराउनमा ढिलाई भएको स्पष्ट पारे। यसअघि नेपाली महिला टोली ठूला प्रतियोगिता नखेलेका कारण संघलाई बैलैमा थाहा नभएको पनि उनले बताए।

नेपाली टोलीमा १२ औं साग खेलेकै खेलाडी
वर्ल्ड च्याम्पियनसिप अन्तर्गत एसियन सेन्ट्रल जोन खेल्ने नेपाली टोलीमा गत वर्ष भारतमा १२ औं साग गेम्स खेलेकै खेलाडीहरु यथावत छन्। विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा भण्डारी, उष कुमारी विष्ट, मन्जु गुरुङ, अरुणा शाही, प्रतिभा माली, कृपा अधिकारी, कोपिला उप्रेती, कमला पुन, मनिषा चौधरी छन्।

यस्तै नेपाली टोलीको प्रशिक्षकमा सुदेश कुमार रिमाल, सहायक प्रशिक्षकमा सलिना श्रेष्ठ र टीम व्यवस्थापकमा जुनु पुन मगर छन्।

यस बाहेक संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष उपेन्द्रयादव, सदस्य ज्योती केसी, पश्चिमाञ्चल भलिबल संघका श्याम बहादुर थापा र इन्टरनेशनल क्यान्डिडेट रेफ्रि कुल कहादुर राना पनि माल्दिभ्स जानेछन्।

लक्ष्य दोस्रो चरण
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक सुदेश कुमार रिमालले नेपालको एक मात्र लक्ष्य यस प्रतियोगिताको उपाधि जित्ने र दोस्रो चरण प्रवेश गर्ने रहेको पहिलोपोस्टसँग बताए। 
'माल्दिभ्सलाई हामीले यसअघि नै हराउँदै आइरहेका छौं। अर्को टीम इरान छ इरानलाई हराउन सक्यौ भने हामी दोस्रो चरण प्रवेश गर्छौै। र इरानलाई हराउन सके नेपाली महिला भलिबल धेरै माथि पुग्न सक्छ।'

तीन टोल मात्र सहभागी भएको कारण पनि नेपालको सम्भावना बढेको उनले बताए। 'धेरै देश नभएका कारण हामीले दोस्रो चरणमा जान ठूलो अवसर पाएका छौं। माल्दिभ्ससँग हाम्रो नतिजा सँधै राम्रो छ। इरानको र हाम्रो खेल्ने शैली पनि टेक्निकल र ट्याक्टिकल रुपमा उस्तै छ। उनीहरु फिजिकल्ली रुपमा अली राम्रो छन्।'
 
टीम गेम भएको हुनाले राम्रो कम्बिनेसन बनाउँदै विपक्षीको कमजोरी पत्ता लगाउन सके नेपाललाई सहज हुने उनको भनाई थियो। 'टीम गेममा कम्बिनेसन ज्यादै महत्वपूर्ण हुन्छ, हामीले इरानको कम्बिनेसन तोड्न सक्नुपर्छ। खेलको बेला सँधै उनीहरुले राम्रो खेल्छन् भन्ने हुँदैन त्यसबेला हामीले राम्रो प्रदर्शन गर्नुपर्छ।'

'हामीले छोटो समयको तयारी गरेपनि सातौं राष्ट्रिय खेलकुद र ढोरपाटन लिगका कारण खेलाडीहरु फिट छन् तर निरन्तर खेलिरहेका कारण खेलाडीले आराम भने पाएका छैनन्, त्यसले इन्जुरीको सम्भावना हुन्छ। यसका बावजुत पनि हामी राम्रो गर्ने प्रयासमा छौं।'

यता राखेपका सदस्य सचिव केश विष्टले ठूलो टुर्नामेन्टमा सातो तयारी भएपनि नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले माल्दिभ्समा नेपालको एक मात्र उद्देश्य भनेको जित्नु नै रहेको बताए। 'उच्च मनोवलका साथ खेल्नुपर्छ हाम्रो एक मात्र लक्ष्य जित्नु हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell