PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

हेलचेक्र्याइँ गर्दा क्यान्सरले सताइएकी चाउरीको पीडा- 'न ज्यान रहने भो, न रुप'



स्वेच्छा राउत

हेलचेक्र्याइँ गर्दा क्यान्सरले सताइएकी चाउरीको पीडा- 'न ज्यान रहने भो, न रुप'

काठमाडौं : चाउरी सन्ज्याल। कालीकोटको विकट गाविस नानीकोटकी स्थानीय बासिन्दा हुन्। महिनावारी रोकिएको तीन वर्षपछि उनलाई पुनः रजस्वला हुन थाल्यो। ५४ वर्षको उमेरसम्म नियमित महिनावारी हुन्थ्यो। गत साउनदेखि भने एक्कासि दस-पन्ध्र दिनको फरकमा उनलाई रगत बग्ने समस्याले सतायो।
 
पिसाबमा पनि रगत देखिएपछि यो कुरा परिवारमा सुनाएकी थिइन् उनले। तर परिवार र आफन्तले छोरी मान्छेको तल्लो पेट दुख्नु, रगत हुनुलाई सामान्य माने। नजिकैको स्वास्थ्य चौकीको औषधि ख्वाए। पेट दुख्ने क्रम बढेपछि भने चाउरीलाई कैलाली अस्पताल पुर्‍याइयो। डाक्टरले भने, 'ठूलै अस्पतालमा देखाउनुपर्छ।'
 
श्रीमान् पर्शुराम सन्ज्यालले चाउरीलाई काठमाडौं ल्याए। सोचेका थिए, पोहोर गरेको पत्थरीको अपरेशनले दुखायो। तर आशङ्काबीच भक्तपुर क्यान्सर अस्पताल पुगेका उनी श्रीमतीलाई पाठेघरको मुखको क्यान्सर भएको थाहा पाउँदा छक्क परे।
 'क्यान्सर त ठिक हुँदैन भन्ने सुनेको हो। डरले दुई महिनादेखि न खाको रुच्छ। न रुचेको पच्छ,' त्रसित चाउरी बोल्छिन्। एकपटक गरेको किमोथेरापीका कारण कपाल झर्न थालेपछि उनी निकै दु:खी छिन्। भन्छिन्, 'न ज्यान रहने भो न रुप।'
 
सँगै रहेका पति पर्शुराम पनि आँखाभरि आँसु बनाउँदै सम्झाउने कोसिस गर्छन्, 'आज देको खुनको रिपोर्ट आएपछि था हुन्छ क्यार्ने हो। किन बढी बोल्छेस्।'
 
चाउरी आक्रोसित हुँदै भन्छिन्, 'पिसाब नलीमा पनि क्यानसर सर्‍यो भन्याछन् क्यारे अब के हुन बाँकी छ र कुर्नु?'  
 
भक्तपुर क्यान्सर अस्पतालकी डाक्टर उषा श्रेष्ठ महिलाहरु 'क्यान्सर' भन्नेबित्तिकै आत्तिनु स्वाभाविक रहेको बताउँछिन्। 'ठिक नहुने रोग भनेर हल्ला फैलाउँछन्। ज्यान जानेजस्तो विषयमा को नडराओस्?' उषा थप्छिन्, 'पुरुष अलि कम त्रसित भएर प्रस्तुत हुने कुरा पनि साँचो हो।'
 
आत्तिनु, लापरवाही सुरु हुनुको पहिलो चरण हो। लापरवाही हुनु भनेको उपचार कठिन हुनु हो। डाक्टर उषाका अनुसार क्यान्सर पहिचान हुनासाथ परिवारले साथ छोड्नाले पनि महिलाहरु बढी आत्तिएको पाइन्छ। भन्छिन्, 'पहिलो र दोस्रो स्टेजको क्यानसरका लागि परिवारको साथ र हौसला नै ५० प्रतिशत उपचार हो।'
 
महिलाको यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका क्यान्सर पीडितको सङ्ख्या बढ्दो छ। स्तन क्यान्सर, पाठेघर वा पाठेघरको मुखको क्यान्सर, यौनाङ्गको क्यान्सर र डिम्बासय क्यान्सर। पहिलो, दोस्रो, तेस्रो र चौथो चरण गरेर फैलने क्यान्सर रोगको उपचारका लागि शल्यक्रिया, रेडियो थेरापी, केमो थेरापी, इम्यूनो थेरापी र फिजियो थेरापी विधि प्रयोग हुन्छ।
 स्त्री रोग विशेषज्ञ उषा भन्छिन्, 'यी विधि रोगले समाति सकेपछिका लागि हुन्। हरेक महिलाले ४० वर्षको उमेरपछि केही वर्षको अन्तरालमा मेमोग्राफी गराउनु अत्यावश्क छ। तर हाम्रो समाजमा केही समस्या नपरी स्वास्थ्य जाँच गराउनु नौलो विषय बनेको छ।'
 
भक्तपुर क्यान्सर अस्पलालका प्रशासन प्रमुख राजाराम तजलीका अनुसार हाल सो अस्पतालमा मात्र दैनिक आठदेखि दशजनासम्म नयाँ क्यान्सर पीडित थपिन थालेका छन्। जसमध्ये पाँचजना महिला यौन तथा प्रजनन क्यान्सर पीडित रहने उनको दाबी छ।

***
आलापोट, काठमाडौंकी लक्ष्मी लामिछाने ७१ वर्षको उमेरमा पाठेघर क्यान्सरको अन्तिम चरणमा छिन्। ६ वर्ष अघिदेखि नै दुख्ने, रगत बग्ने समस्यालाई उनले बुढेसकालको सङ्केत मानिन्। परिवारसँग समस्याबारे कुरा गर्न धकाइन्। क्यान्सर पहिचान हुँदासम्म निकै ढिलो भयो। आँखाभरि आँसु पार्दै भन्छिन्, 'मेरी हजुरआमालाई थियो रे क्यान्सर। त्यस बेला उनी उपचार पाउन नसकेर बितिन्। आफू उपचार गर्न सक्ने भएर पनि चुप बसेँ।'
 
यौन र यौनिकतालाई हाउगुजी बनाउने र यीसँग जोडिएका आवश्यक विषयलाई लाजको विषय मान्नाले यौन र प्रजनन क्यान्सरको पहिचान ढिला हुने बताउँछन् नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका मनोचिकित्सक डाक्टर सञ्जीव गौतम। 'बोल्न आवश्यक छ। यौन र यौनिकता जोडिएका समस्या लुकाउनाले मनोविज्ञानमा ठूलो असर गर्छ,' उनी भन्छन्।
 डाक्टर गौतमका अनुसार ८० प्रतिशत क्यानसर पीडित डिप्रेशनमा जान्छन्। त्यसैले चिकित्सक, परिवारदेखि अन्यले बिरामीलाई परामर्श गरेर रोगबारे खबर गर्नुपर्छ।
 
क्यान्सर पीडितहरु मुख्यत: चार मनोवैज्ञानिक चरणबाट गुज्रन्छन्। पहिलो चरण 'डिनाएल' जहाँ बिरामी आफूलाई क्यान्सर भएको स्विकार्न तयार हुँदैन। दोस्रो चरण 'बार्गेन'। यस चरणमा रोगी र परिवार धेरै वटा अस्पताल धाउँछन् र क्यान्सर निश्चित भएपछि बिरामी 'याङ्गर' फेजमा पुग्छन्। यो चरणमा पूरै स्विकार्दैनन् र 'एसेपटेन्स' चरणमा पुगेर मात्र संयमित हुन्छन्।'
 
'यी चरणहरुबाट गुज्रन निकै गाह्रो हुन्छ। मनोवैज्ञानिक साथको आवश्यकता पर्छ। उपचार नै मात्र त पैसा नहुनेले अनुदानमा पनि गर्छन् नि', डाक्टर गौतम मनोवैज्ञानिक साथको आवश्यकताबारे प्रस्ट पार्छन्।
 
स्तन क्यान्सर पीडित निर्मला घिमिरे क्यान्सरको पनि उपचार गराउन सकिन्छ भन्ने सन्देश दिन चाहन्छिन्। स्तनमा गाँठो देखा पर्नासाथ जाँच गराएकी उनी क्यान्सर देखिँदा निकै आत्तिएकी थिइन्। 'दोस्रो चरणमा पुगेको रहेछ मेरो समस्या। नियमित उपचार र शल्यक्रियापछि ठिक भयो। अहिले म स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यहरुमा व्यस्त रहन्छु,' उनले भनिन्।
 
डाक्टर उषा श्रेष्ठका अनुसार स्तनको आकार र छालामा परिवर्तन हुनु, गाँठो घाउ देखिनु, यौनाङ्गमा देखिने घाउ, खटिरा र रगतको समस्या होस् या पेट असामान्य दुख्नु क्यान्सरका लक्षण हुन्। यी समस्याहरुको समयमै जाँच गराए ६० प्रतिशत महिला क्यान्सर फैलनबाट जोगिन्छन्।
 
नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले गरेको सर्वोक्षणअनुसार आमालाई स्तन क्यान्सर भएको छ भने ५० प्रतिशत छोरीमा पनि स्तन क्यान्सरको समस्या देखिन्छ।
 
क्यान्सर ठिक नहुने रोग होइन, पहिचान गर्न ढिला हुने रोग हो। जसमा हाम्रो लापरवाहीको पनि धेरथोर योगदान रहन्छ। अहिले नेपाल सरकारले क्यान्सरको उपचार सहज बनाउन आर्थिक रुपमा विपन्नहरुका लागि एक लाख बराबरको उपचार खर्च उपलब्ध गराउँदै आएको छ।
 
सहुलियत र सरकारले दिने खर्चका कारण पनि विपन्न परिवारका महिला क्यान्सर पीडितहरु अस्पतालमा बढी देखिन थालेका छन् र यो सकारात्मक परिवर्तन हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell