काठमाडौं : आगामी मार्चबाट सुरु हुने एएफसी एसियन कप अन्तिम चरणको छनोटका लागि नेपालले पर्सी बुधबारबाट तयारी सुरु गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले बुधबारदेखि नेपालले तयारी थाल्ने पहिलोपोस्टसँग बताए। 'अहिले मुख्य प्रशिक्षक झापामा हुनुहुन्छ, झापा गोल्डकप सकिएपछि प्रशिक्षकले खेलाडीहरुलाई ट्रेनिङ गराउनेछन्।'
यसपटक धेरै गोल्डकप प्रतियोगिताहरु भएका कारण केही नयाँ खेलाडीसमेत क्याम्पमा पर्ने सम्भावना रहेको तुलाधरले जनाए।
सुरुमा ४० देखि ५० खेलाडीलाई क्याम्पमा राख्ने र त्यसलाई घटाउँदै अन्तिम टोलीको टुङ्गो लगाउने उनले जानकारी दिए।
सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोट मार्च २८ देखि सुरु हुनेछ भने एक वर्षसम्म जारी रहनेछ।
छनोटमा नेपाल, फिलिपन्स, ताजिकिस्तान र यमन समूह एफमा छन्।
नेपालले मार्च २८ मा मनिलामा फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ। छनोटमा कूल २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ। हरेक समूहको शीर्ष २ स्थानमा रहने टोली सन् २०१९ मा युएईमा हुने एसियन कपमा छनोट हुनेछन्।
छनोटअन्तर्गत तीन खेल होम ग्राउण्डमा र तीन खेल अवे ग्राउण्डमा खेल्ने भनिएपनि नेपालको होम ग्राउण्डको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्फ मैदान र सशस्त्र प्रहरी बलको हलचोक मैदानमा खेल गर्ने प्रस्ताव एएफसी समक्ष पेस गरेको छ।
एएफसीले निरिक्षण गरेपछि मात्र खेलस्थलको छिनोफानो हुनेछ। तर छनोट चरण सुरु हुन करिब ७ हप्ता मात्र बाँकी रहेपनि अहिलेसम्म एएफसीले निरिक्षण गर्न नेपाल आएको छैन।
'एएफसीले निरिक्षणका लागि आउने मिति तोके छैनन्, तर उनीहरु आएर निरिक्षण गरेपछि मात्र नेपालको घरेलु मैदानको टुङ्गो लाग्नेछ।' तुलाधरले स्पष्ट पारे।
यदी नेपालको घरेलु मैदान खेल्न लायक नभएको खण्डमा नेपालले न्युट्रल भेन्युमा होम म्याच खेल्नुपर्ने हुन्छ।
(फाइल फोटो)