PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

केन्याविरुद्ध नेपालको विकेटकिपिङ कसले सम्हाल्ला?



गोविन्दराज नेपाल

केन्याविरुद्ध नेपालको विकेटकिपिङ कसले सम्हाल्ला?

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत केन्या विरुद्ध हुने खेलको लागि खेलाडी छान्न सुपर लिग का लागि जनवरीमा ५२ खेलाडी छनोट गरियो।

पछिल्लो एक वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको थियो। र त्यसमा थिए तीन स्पेसिएलिस्ट विकेटकिपर महेश क्षेत्री, सुवास खकुरेल र राजु रिजाल।

तर सुपर लिगपछि क्लोज क्याम्पको लागि छनोट गरिएको २४ सदस्यीय सूचीमा महेश, सुवास र राजुको नाम अटायन।

२४ जनामा परेका मध्ये युवा खेलाडीद्वय दिलिप नाथ र मोहम्मद आसिफ शेखले विकेट किपीङको भूमिकामा खेल्न सक्छन्। यस्तै यसअघि नेपालबाट पार्ट टाइम विकेटकिपिङको भूमिका निभाएका विनोद भण्डारीको नाम पनि अन्तिम २४ मा अटाएको छ।

घरेलु प्रतियोगिताहरुमा विनोदबाहेक बाँकी दुवैले विकेट पछाडि बसेर आफ्नो प्रदर्शन देखाइसकेका छन्।

आसिफले गत डिसेम्वरमा श्रीलंकामा भएका यु १९ एसिया कप खेले पनि उक्त खेलमा नेपालको विकेटकिपिङ जिम्मेवारी प्रकाश केसीले सम्हालेका थिए।

अहिलेसम्म अन्तर्राष्ट्रिय खेलमा नेपालबाट विकेटकिपिङ नगरेका यी दुई खेलाडीले विनोद भण्डारीलाई चुनौती दिन पनि सक्छन्।
 
पछिल्लो आधा दशक महेश क्षेत्रीको नाम राष्ट्रिय टिममा स्थिर छैन। महेशलाई सन् २०१२ पछि सुवासले विस्थापित गरिदिए। यद्यपि त्यसपछि पनि महेश नेपालको टिममा पर्ने बाहिरिने भइरहेका थिए।

पछिल्लो पटक गत अप्रिलमा घरेलु मैदानमै नामिविया विरुद्व भएको खेलमा सुवासलाई विस्थापित गर्दै राजु रिजालले नेपालको विकेटकिपिङ सम्हाले।

नामिविया विरुद्को पहिलो खेलमा राजुले खेले पनि दोस्रो खेलमा उनी फस्ट एलेभेनमा परेनन् र नेपालको विकेटकिपिङ विनोद भण्डारीले सम्हाले।

त्यसपछि अगस्टमा नेदरल्याण्ड्स विरुद्व भएको दुवै खेलमा राजुले नेपालको विकेटकिपिङ सम्हाले तर उनी ब्याटमा भने जम्न सकेनन्।

विनोद नेपालको नियमित विकेटकिपर होइनन् तर आवश्यक परेको बेला उनैले उक्त जिम्मेवारी सम्हाल्दै आएका पनि छन्।
सन् २०१४ मा न्युजिल्याण्डमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा पनि विनोदले नेपालको विकेटकिपिङ गरेका थिए।

युएई विरुद्व पहिलो खेलमा महेश क्षेत्रीले उक्त भूमिका निभाए पनि त्यसपछि समूह चरणमा स्कटल्याण्ड, हङकङ र कयानडा तथा प्लेअफअन्तर्गत नेदरल्याण्ड्स विरुद्वको खेलमा विनोदले नै विकेकिपिङ गरे भने युगान्डा विरुद्वको अन्तिम खेलमा पुनः महेश विकेट पछाडि बसे।

घरेलु क्रिकेटमा भने विनोदले विकेटकिपिङ गरेको देखिँदैन। यस विपरीत दिलीप र आसिफले भने घरेलु क्रिकेटमै विकेटकिपिङ सम्हाल्दै आएका छन्।

दिलिपले एनपिएल र इपिएलमा सगरमाथा लेजेण्ड्सबाट खेलेका थिए भने अन्य प्रतियोगितामा नेपाल पुलिसबाट पनि खेलेका छन्।

यस्तै आसिफले इपिएलमा तेज पञ्चकन्याबाट खेलेका थिए। विकेटकिपिङ र ओपनिङ ब्याट्समयानको भूमिकामा देखिएका आसिफले फाइनलमा प्रतियोगिताकै एक मात्र शतक प्रहार गरेका थिए। उनकै शतक मद्दतले तेज अपराजित रहदैँ च्याम्पियनसमेत बन्यो।

दिलिप र आसिफ दुवै ओपनिङ ब्याट्सम्यानसमेत हुन्। विनोद भण्डारीलाई विशेषगरी हार्ड हिटिङ ब्याट्सम्यानको रुपमा चिनिन्छ। विनोद प्राय छैटौं नम्वरमा ब्याटिङ गर्छन्।

केही दिनअघि मात्र सम्पन्न भएको हाइ परफरमेन्स क्याम्पमा अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले विनोद भण्डारीलाई विकेटकिपिङ सिकाएका थिए। सन् १९९६ मा श्रीलंकालाई वान डे वरल्ड कपको उपाधि दिलाएका वाटमोरले दुई साता नेपालका ३२ उत्कृष्ट खेलाडीलाई ट्रेनिङ दिएका थिए। त्यही ३२ खेलाडीबाट २४ खेलाडी छनोट गरिएको हो।

अहिले नेपालबाट ओपनिङ ब्याटिङ गर्ने सुवास र महेशसँगै अनिल मण्डल र नरेश बुढाएर समेत टीममा नरहेको अवस्थामा युवा खेलाडीहरुले ओपनिङ गर्ने सम्भावना पनि बढी छ। त्यसो भएमा अन्तिम टोलीमा पर्न सक्ने सम्भावना दिलिप र आसिफको पनि छ। तर यसअघि नै ओपनिङ सम्हालिसकेका सागर पुन र ज्ञानेन्द्र मल्ल पनि २४ खेलाडीको सूचीमा छन्। त्यसबाहेक अर्का युवा स्टार सुनिल धमला पनि ओपनिङ ब्याट्सम्यान हुन्। सुनिल र दिलिपले नेपाल पुलिसबाट सँगै ओपनिङ ब्याटिङ गर्छन्।

हुन त अहिले नै केन्या विरुद्व खेल्ने अन्तिम टोलीको टुङ्गो लागिसकेको छैन। अन्तिम टोली छनोट भएसँगै नेपालको विकेटकिपिङ पनि कसले सम्हाल्नेछन् थाहा हुने नै छ। तर अहिले छनोट भएका खेलाडीमध्ये यी तीन नै विकेटकिपरको दाबेदार हुन्। त्यसका लागि क्लोज क्याम्पको प्रदर्शन पनि निर्णायक हुनेछ। यस्तै आगामी मार्च ११ र १३ मा केन्या विरुद्व खेल्नुअघि नेपालले विदेश भ्रमण गर्ने र केही खेल खेल्ने चर्चा पनि छ तर त्यसको टुङ्गो अझै लागिसकेको छैन।

नेपाली टोलीको क्लोज क्याम्प भने आगामी आइतबारबाट सुरु हुँदैछ।

अब केन्यासँग खेल हुन एक महिना मात्र बाँकी रहेको अवस्थामा नेपालले प्रदर्शनदेखि घरेलु मैदान कीर्तिपुरको स्थर सुधार गर्नुपर्ने लगायत धेरै काम बाँकी छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले अहिलेसम्म चार राउण्डमा ८ खेल खेलिसकेको छ। तर सबैमा विकेटकिपरको भूमिका फरक फरकले खेलाडीले निभाएका छन्।

स्कटल्याण्ड विरुद्वको पहिलो राउण्डको दुवै खेलमा महेश क्षेत्री विकेटकिपर थिए भने पपुवा न्यु गिनी विरुद्वको दोस्रो राउण्डको दुवै खेलमा सुवा खकुरेलले कमब्याक गर्दै विकेटकपिङ सम्हाले।

नामिविया विरुद्ध तेस्रो राउण्डमा राजु र विनोदले एक एक खेलमा उक्त भूमिका निर्वाह गरे भने नेदरलयाण्ड्स विरुद्ध चौथो राउण्डको दुवै खेलमा राजु विकेटकिपिङमा फर्के।

अहिले सुवास, महेश र राजु तीनै जना टीममा छैनन्। यस्तो पुरानै विनोदले विकेटकिपिङ सम्हाल्छन् वा नयाँ अनुहारद्वय दिलिप र आसिफले पनि अवसर पाउनेछन् अन्तिम टोली घोषणा भएसँगै थाहा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell