PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सोमबार मध्यरातदेखि प्रहरीमा कसको आदेश चल्छ?



सोमबार मध्यरातदेखि प्रहरीमा कसको आदेश चल्छ?

काठमाडौं : ३० वर्षीय सेवा अवधिका कारण सोमबारदेखि अवकास पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अधिकांश घरायसी सामान सरकारी क्वार्टरबाट हात्तीगौँडाको घरमा सरिसकेको छ।

सोमबार मध्यरात १२ बजेपछि उनको अवकासको समय प्रारम्भ हुन्छ। सरकारले नियुक्त गर्ने नयाँ आइजीपीलाई पद बुझबुझारथ गरेर जाने तयारीमा थिए उनी।

तर सर्वोच्च अदालतले सरकारद्वारा मंगलबारबाट प्रहरी प्रमुखको रुपमा काम गर्न नियुक्त डिआइजी जयबहादुर चन्दलाई नियुक्ति दिने, दिलाउने, पदबहाली लगायतका सबै काम कम्तिमा फागुन ८ सम्मका लागि रोक्यो।

अदालतको सोमबारको अल्पकालीन अन्तरिम आदेशका कारण न्यूनतम ८ दिन संगठनले नयाँ प्रहरी प्रमुख नपाउने निश्चित छ। 

प्रहरी नियमावली अनुसार प्रहरी प्रमुखको अनुपस्थिशतिमा वरिष्ठ एआइजीले निमित्त पाउँदै आएका थिए। सो अनुसार यस अगाडि जनपदतर्फका एआइजी राजेन्द्रसिंह भण्डारी र उनी सुरक्षा परिषद्माक सरुवा भएपछि सुरेन्द्रबहादुर शाह निमित्त प्रमुख भएका थिए। 

सेवा अवधिका कारण भण्डारी र शाहसँगै जनपद समूहका अन्य ११ एआइजी पनि अर्यालसँगै सोमबारबाट विदा हुँदैछन्। 

प्रहरी प्रधान कार्यालयसँगै रहेको सरकारी क्वार्टर खाली गरेर संगठनबाट विदा हुने सबै तयारी सकिइसक्यो। उनको अवकास रोकिने अवस्था छैन। उनको अवकासपछि कसलाई संगठनको नेतृत्व र बुझबुझारथ गर्ने? अन्यौल देखिन्छ।

के छ कानुनी प्रावधान?

नेपाल प्रहरी नियमावलीको नियम ४६ मा कायममुकायम, कार्यवाहक र निमित्त सम्बन्धी व्यवस्था छ। यस अनुसार कार्यालय प्रमुखको पद रिक्त भएर दैनिक काममा असर परेमा कामु नियुक्त गर्न सकिने व्यवस्था छ।

यसमा एक तह मुनिका कर्मचारीमध्ये बढुवाका लागि सबैभन्दा बढी अङ्क पाएका कर्मचारी कामु हुनसक्छन् जसले कामु भएको पदको दर्ज्यानी चिह्न लगाउनेछन् र सोही अनुसारको अधिकार समेत प्रयोग गर्न पाउनेछन्। प्रहरी महानिरीक्षक पदमा कामु सरकारले तोक्ने कानुनी प्रावधान छ।

कुनै कारणले कार्यालय प्रमुखको पद एक महिनाभन्दा बढी अवधिको लागि रिक्त भएमा र सो पदमा कामु नियुक्त नगरिएको अवस्थामा एक तहमाथिको कार्यालय प्रमुखले सो पदमा एक तह मुनिको अधिकारीलाई कार्यवाहक तोक्न सक्ने प्रावधान छ। कायममुकायम र कार्यवाहक नतोकिएको अवस्थामा निमित्त तोक्ने प्रावधान छ। यसको प्रावधान पनि कार्यवाहक बराबर छ।

कसले सम्हाल्छ संगठन? अन्यौल 

अर्यालसहित जनपदतर्फका ११ एआइजीले एकै पटक अवकास पाउँदा प्रहरी संगठनमा प्राविधिकतर्फका एक जना मात्रै एआइजी रहन्छन् दिनेशचन्द्र पोखरेल।

त्यसपछिकाहरु डिआइजी नै हुन्। वरिष्ठताका आधारमा अहिले बढुवाको प्रतिस्पर्धामा रहेका नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी नै हुन्।

नियमावलीले कुनै कारणवस कुनै पद रिक्त भए कायमुकायम बनाउनुपर्ने व्यवस्था गरेको छ। एक महिना बढी अवधि रिक्त भए मात्रै निमित्त वा कार्यवाहक तोक्नसक्ने नियमावलीमा व्यवस्था छ।

प्रहरी प्रमुख विदामा बसेको अवस्था वा देश बाहिर गएको अवस्थामा निमित्त र कार्यवाहक दिने गरिएको छ।

सोमबारबाट प्रहरी प्रमुख विदामा बस्ने या विदेश भ्रमणमा जाने नभई पदनै रिक्त हुने अवस्था हो। प्रहरी प्रमुखको पद रिक्त हुँदा दैनिक काम रोकिन्छ नै। 

यो अवस्थामा प्रहरी नियमावली २०७१ को नियम ४६ अनुसार कायममुकायम नै नियुक्त गर्नुपर्ने देखिन्छ। यसमा वरिष्ठतामा प्राविधिकतर्फका डा. पोखरेल नै अगाडि छन्।

प्रहरी सम्बन्धी नियमले प्राविधिक समूहतर्फ एआइजीसम्म पदको प्रबन्ध गरे पनि प्राविधिकलाई प्रहरी महानिरीक्षक हुन रोकेको छ।

उनी एक्ला एआइजी भए पनि उनी प्राविधिक समूहमा रहेका र प्राविधिक समूहबारे प्राविधक प्रहरी सम्बन्धी नियमावली २०६५ ले एआइजी तहसम्म मात्रै व्यवस्था गरेकाले उनी आइजीका लागि योग्य भएनन्। 

कायममुकायम दिँदा उनले दर्ज्यानीचिन्ह र अधिकार समेत आइजीकै पाउने भएकाले नियम अनुसार संगठन प्रमुख नभएको अवस्थामा कामु दिनुपर्ने भए पनि उनले कामु पाउने सम्भावना देखिँदैन।

प्राविधिक - जनपद विवाद

कोषराज वन्त आइजीपी भएपछि सशस्त्र प्रहरीमा प्राविधक समूहका अधिकृतका लागि समेत संगठन प्रमुख हुन बाटो खुल्यो। तर प्रहरीमा बन्देज कायमै रह्यो। 

यसको विरोधमा उनीहरुले कानुनी परीक्षण गरे २०६८ मंसिरमा। प्रहरीभित्र सामान्य र प्राविधिक गरी दुई समूह भएकामा दुवै समूहलाई समान व्यवहार र योग्यता निर्धारण गरिनुपर्छ भन्दै  रिट परेको थियो सर्वोच्चमा।

सो रिटको फैसला गर्दै सुशीला कार्की, गिरिशचन्द्र लाल र भरतराज उप्रेतिको विशेष इजलासले - प्रहरी सेवाभित्र “प्रहरी बल” को अतिरिक्त “प्राविधिक समूह” गठन गर्नुको प्रयोजन नै अलग रहेको र उक्त पदहरूमा रहेर सम्पादन गर्नुपर्ने काम वा प्रदान गर्नुपर्ने सेवाको प्रकृतिसमेत भिन्न भिन्न रहेको र कानूनले नै प्रहरी सेवाभित्र उपरोक्त दुई अलग अलग वर्ग वा समूहको सिर्जना गरेको व्याख्या गरेका थिए।

विशेष इजलासले 'प्रहरी नियमावली, २०४९ र प्रहरी प्राविधिक नियमावली, २०५८ ले प्रहरी सेवाभित्र दुई अलग अलग सेवाहरूको गठन गरी ती सेवाअन्तर्गतका पदहरूमा नियुक्ति र बढुवाका लागि समेत छुट्टाछुट्टै योग्यता निर्धारण गरेको र उक्त नियमावलीहरूले गरेको सो वर्गीकरणको तर्कसंगत र बोधगम्य आधार रहेको भन्नेसमेत देखिन आएको' थप ब्याख्या गर्‍यो।

सोही ब्याख्याको आधारमा उसले 'सामान्य प्रहरी सेवा र ‘प्रहरी प्राविधिक सेवा’ अन्तर्गत नियुक्ति वा बढुवा हुने प्रहरी कर्मचारीहरू समान अवस्थाका नहुने' भन्दै फैसला गरेको थियो।

के हुन्छ अब? 

स्रोतका अनुसार गृह मन्त्रालयसँगको परामर्शमा अर्यालले एआइजी दिनेशचन्द्र पोखरेललाई निमित्त दिने तयारी गरेका छन्। तर प्राविधिकलाई निमित्त दिने हो भने उनीहरु संगठन प्रमुखका लागि चाहिँ कसरी अयोग्य भन्ने असन्तुष्टि सुनिएको छ।

'यो अभ्यास राम्रो हैन,' एक उच्च प्रहरी अधिकारीले भने, 'नियमसंगत रुपमा संगठन प्रमुख हुन नपाउने तर निमित्त वा कार्यवाहक भएर बढुवा हुन रोकिएको पदको अधिकार प्रयोग गर्न कसरी मिल्ने?'

डिआइजीमध्ये वरिष्ठतामा सिलवाल अगाडि छन्। उनले सोमबार आइजी बढुवाबारे सर्वोच्चमा रिट दिएकाले यो विवादमा 'झगडिया' भएका छन्। कानुनी रुपमा झगडियालाई कामु,निमित्त या कार्यवाहक दिन भने रोकिन्न। 

प्रहरी प्रशासनबारे जानकारका एक अधिकारीका अनुसार अर्याल तीन वर्ष अगाडि आइजी हुँदा विवादका कारण ८ महिना एआइजी पद रिक्तै थियो। सो बेला अर्याल विदामा बस्दा उनले प्राविधिकतर्फका तत्कालीन एआइजी रामनाथ सिंहलाई निमित्त दिएका थिए।

सोही नजिरका आधारमा सोमबार अर्यालले आफ्नो पदावधि सकिनु अगाडि एआइजी पोखरेललाई निमित्त दिएर विदा हुने सम्भावना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell