PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एएफसी सोलिडारिटी कप जितेको तीन महिनापछि नेपाली खेलाडीलाई नगद प्रदान

एएफसी सोलिडारिटी कप जितेको तीन महिनापछि नेपाली खेलाडीलाई नगद प्रदान

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : गत नोभेम्वर १५ मा मलेसियामा मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कपको च्याम्पियन बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले तीन महिनापछि नगदसहित सम्मान गरेको छ।
 
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्याम्पियन टोलीका प्रत्येक खेलाडी र प्रशिक्षकलाई प्रशंसापत्रसहित नगद ३/३ लाखको चेक प्रदान गरे।
 
सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रपाली, राष्ट्रिय खेलकुद परिषद्‍का सदस्यसचिव केशव विष्ट, मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो।
 
नेपालले पहिलो पटक महादेशीय कप फुटबलको उपाधि जित्नेबित्तिकै त्यस बेला प्रधानमन्त्री प्रचण्डले फेसबुकमार्फत सबै खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका थिए। नेपालले फाइनलमा मकाउलाई पराजित गर्दै एएफसीको सदस्य बनेयता पहिलो पटक महादेशीय कपको उपाधि जितेको हो।
 
उपाधि जितेर फर्केपछि प्रधानमन्त्रीले बालुवाटारमै खेलाडीहरुलाई बोलाएर बिनानगद खादा लगाएर सम्मान गरेका थिए। त्यसपछि मन्त्रिपरिषद्‍ बैठकले पुस ७ गते नगद प्रदान गर्ने निर्णाय गरेको थियो।
 
यसरी निरन्तरको प्रयासपछि मात्र खेलाडीहरुले उपाधि जितेको झण्डै तीन महिना सरकारले घोषणा गरेको नगद पाएका हुन्। ढिलै भए पनि घोषणा गरेको पुरस्कार प्राप्त गरेपछि नेपाली टोलीका कप्तान अनिल गुरुङले खुसी व्यक्त गर्दै यसले खेलाडीहरुलाई हौसला मिल्नुका साथै राम्रो गर्न योगदान पुग्ने बताए।
 
उनले यसअघि लगातार तीन वटा ट्रफी जित्न सफल भए पनि मार्चबाट सुरु हुने एएफसी एसियन कप क्वालिफायरको लागि नेपालको होम म्याच कहाँ खेल्ने भनेर चिन्तित भएको बताए। 'हाम्रोमा होम म्याच खेल्न मिल्ने स्थिति छ जस्तो मलाई लाग्दैन, स्टेडियमको लागि चाँडो पहल गरिदिन सरकालाई आग्रह गर्छु,' २००९ मा प्रथम प्रधानमन्त्री कप जित्दाको प्रसंग निकाल्दै अनिलले प्रधानमन्त्री प्रचण्डकै अगाडि भने।
 
अनिलको गुनासोलाई सम्बोधन गर्दै प्रचण्डले मैदानको निम्ति सम्बन्धित मन्त्रालय लगायत सबैलाई काम अगाडि बढाउन निर्देशन दिने विश्वास व्यक्त गरे।
 
नगद ३ लाख प्राप्त गर्नेमा २३ खेलाडी, मुख्य प्रशिक्षक ग्याताकु कोजी छन्। हायक प्रशिक्षक राजुकाजी शाक्यलाई २ लाख तथा गोलकिपर कोच उज्जवल मानन्धर र फिजियो सुरज भुसाललाई भने ५०/५० प्रदान गरिएको छ।

यस्तै व्यवस्थापक विराटजंग शाहीले भने नगद पाएनन्। मन्त्रिपरिषद्को कार्यविधिमा उनको नाम नपरेका कारण नदिएको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले जानकारी दिए।
 
उनले यसअघि नै खेलाडीलाई सम्मान गर्न भनेर चेक तयार गरे पनि समय नमिलेका कारण ढिलाइ भएको र चेकको म्याद पत्रि भोलिसम्म मात्र रहेको जानकारी दिए।
 
यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले पनि खेलाडीलाई नगद प्रदान गर्ने निर्णाय गरेको थियो।

सम्मानित हुने खेलाडीहरु
  • अनिल गुरुङ, कप्तान
  • विराज महर्जन, उपकप्तान
  • विकेश कुथु, गोलकिपर
  • रविन श्रेष्ठ
  • अनन्त तामाङ
  • दीपक गुरुङ
  • आदित्य चौधरी
  • विमल घर्तीमगर
  • विशाल राई
  • रञ्जन विष्ट
  • हेमन गुरुङ
  • विक्रम लामा
  • कमल श्रेष्ठ
  • अञ्जन विष्ट
  • सुजल श्रेष्ठ
  • किरणकुमार लिम्बु
  • देवेन्द्र तामाङ
  • विशाल श्रेष्ठ
  • नवयुग श्रेष्ठ
  • भरत खवास
  • राजेन्द्र रावल
  • रञ्जित धिमाल
  • सुमन लामा


ट्रेन्डिङ पोस्ट

Ncell