काठमाडौं : साइकल चलाउन के चाहिन्छ?
साइकलिस्ट देवेन्द्र बस्न्यातको लामो हाँसो पछिको जवाफ रह्यो- 'आत्मबल'।
उनी केहीबेर रोक्किए। अनि सम्झदैँ भने, 'अँ साइकल, स्वस्थ शरीर आदि आवश्यक छन् तर इच्छाशक्ति नै नभए साइकलिस्ट बन्न गाह्रो हुन्छ।'
देवेन्द्रले भनेजस्तै साइकलिस्ट यमलाल रसाइलीले साइकल चलाउने सपना देख्दै गर्दा उनीसँग इच्छाशक्तिबाहेक केही थिएन। उनीसँग न कसैको हौसला नै साथमा थियो। साइकल, हौसला र पैसा। यी सबैथोक हुनुअघि उनीसँग साइकलको प्याडल चलाउनको निम्ति शरीरमा भएको अङ्ग पनि अपूर्ण ठहरियो। किनभने उनीसँग एउटा मात्रै खुट्टा छ।
'म अब साइकलयात्री बन्छु।' घरमा आफ्नो यो पहिलो प्रस्ताव राख्दा उनी जम्मा १८ वर्षका थिए। आमाले भनिन्,'तँलाई के चाहिन्छ सबै पूरा गरिदिन्छु। तँ केही नगर।' आमाले आँसु पुछ्दै साइकल नसिक भन्दा उनी हच्किएका थिए। तर उनी आफ्नो संकल्पबाट पछाडि भने हटेनन्।
साइकलिस्ट देवेन्द्र बस्न्यातको लामो हाँसो पछिको जवाफ रह्यो- 'आत्मबल'।
उनी केहीबेर रोक्किए। अनि सम्झदैँ भने, 'अँ साइकल, स्वस्थ शरीर आदि आवश्यक छन् तर इच्छाशक्ति नै नभए साइकलिस्ट बन्न गाह्रो हुन्छ।'
देवेन्द्रले भनेजस्तै साइकलिस्ट यमलाल रसाइलीले साइकल चलाउने सपना देख्दै गर्दा उनीसँग इच्छाशक्तिबाहेक केही थिएन। उनीसँग न कसैको हौसला नै साथमा थियो। साइकल, हौसला र पैसा। यी सबैथोक हुनुअघि उनीसँग साइकलको प्याडल चलाउनको निम्ति शरीरमा भएको अङ्ग पनि अपूर्ण ठहरियो। किनभने उनीसँग एउटा मात्रै खुट्टा छ।
'म अब साइकलयात्री बन्छु।' घरमा आफ्नो यो पहिलो प्रस्ताव राख्दा उनी जम्मा १८ वर्षका थिए। आमाले भनिन्,'तँलाई के चाहिन्छ सबै पूरा गरिदिन्छु। तँ केही नगर।' आमाले आँसु पुछ्दै साइकल नसिक भन्दा उनी हच्किएका थिए। तर उनी आफ्नो संकल्पबाट पछाडि भने हटेनन्।
यमलालको जीवनकथा कुनै फिल्मको 'कहानी' भन्दा कम छैन। अन्तत: उनी एउटा खुट्टाविनै साइकलिस्ट भए। साइकल चलाउन सकेर मात्रै साइकलिस्ट भएनन् उनी। सुरुमा सुन्दा उनको कथा अविश्वसनीय लाग्नु पनि स्वाभाविक हो। तर यमलालको यथार्थलाई नकार्न पनि असम्भव छ। उनी ठूलो साहस र सङ्कल्प बटुलेर लामो साइकलयात्रामा निस्किए। फलत: उनले दुई महिना अठार दिन लामो यात्रा सफलतापूर्वक सम्पन्न गरे। नेपालका ३१ जिल्लाको भ्रमण थियो यो। करिब तेत्तिस सय किलोमिटर लामो यात्रा एउटै खुट्टाले प्याडल चालेर गरे।
चार वर्षको सानो उमेरमा छुक्छुके यमलाल रसाइलीले खेल्दाखेल्दै लडेर खुट्टा भाँचे। एकातिर भाँच्चिएको खुट्टाको असह्य पीडा अर्कोतिर आमाको गाली। त्यसबेला अरु के के भयो उनलाई त्यति गाढा सम्झना छैन। हस्पिटल लगेर उपचार गर्नुको सट्टा बाँसको काम्रोको लेप बनाएर खुट्टामा लगाएको उनलाई राम्रै सम्झना छ।
आर्थिक रुपमा त्यति बलियो थिएन उनको परिवार। उनी सम्झन्छन्, 'बुबाको इन्डियन आर्मीबाट आउने तलब परिवार धान्नै ठिक्क थियो। सायद राम्रो उपचार सम्भव भएर पनि गराउन सक्ने अवस्था थिएन।'
त्यस बेलासम्म पीडा, दु:खाइ जति भोग्नु थियो यमलालले भोगे। एक हप्तापछि यमलालको खुट्टाको काम्रो निकालिएपछि पीडा फैलियो- उनको शरीरमा, परिवारमा र आफन्तमा। किनकी काम्रोसँगै उनको खुट्टाको छाला पनि निकालियो। अर्को दुर्भाग्य के भने उपचार गर्नका लागि अस्पताल लैजान नसकेको उनलाई परिवारले खुट्टा काटेर फाल्न मिसन अस्पताल पाल्पा पुर्यायो।
केही दिन अघिसम्म उफ्रीउफ्री खेलिरहेको छोराको एउटा खुट्टा नै नरहँदा आमा फूलमाया रसाइलीका आँखा रसाउन छोडेनन्। 'सम्झना भएदेखि नै मैले आमाको आँखामा म अपाङ्ग हुनुको पीडा छल्किरहेको देखेको छु। म सानै छँदा उहाँ झन् कति रुनु भयो होला', सम्झँदा अझै भावुक बन्छन् उनी।
उनी गाउँमा आफ्नोबारे अनेकथरि कुरा सुन्न थाले, 'पूर्वजन्ममा पाप गर्नाले यस्तो भयो छोराको हाल।'
बद्ख्वाँइ सुन्न थालेपछि यमलाललाई गाउँ देखेर नै दिक्क लाग्यो। आमा-बुवा पनि निराश भए। गाउँमा चल्ने अनावश्यक हल्ला र जीवनमा लागेको गहिरो चोट भुल्ने प्रयास गर्दै उनको परिवार पर्वतबाट कैलालीतिर झर्यो। कैलाली पुगेका उनले त्यहीँको खगेन्द्र नवजीवन केन्द्रमा आश्रय पाए। केन्द्रको जीवन सहज भने थिएन। बोझिलो मन बनाएर कैलाली झरेका उनको बाँकी जीवन पनि सकसपूर्ण नै रह्यो।
'४५ साल। त्यस बेला प्रजातन्त्र आएकै थिएन। शारीरिक रुपमा कमजोर देख्नेहरुका लागि मलाई आक्रमण गर्ने अर्को हतियार बन्यो- मेरो जात।'
उनको मनमा अर्को पीडा पनि थोपरिन पुग्यो। रसाइली सम्झिँदै भन्छन्, 'म खाना खान क्यान्टिनमा छिर्न पाउँदिनथे। हेपिएको थाहा भएर पनि सहनु पर्ने बाध्यता थियो। किनकी केन्द्र नै मेरो दोश्रो घर बनेको थियो, जहाँ मैले बाँकी जीवन जिउनु थियो।'
उनले कैलालीबाटै एसएलसी गरे। लगत्तै सिटिइभिटीबाट सिलाइ-बुनाइसम्बन्धी तालिम लिए। तर मन भने रम्न सकेन।
उनी खाली समय अंकलको साइकल रिपेयरिङ सेन्टरमा बिताउँथे। त्यहीँ बिताएको एउटा समयले उनको जीवनमा आश्चर्यजनक परिवर्तन ल्यायो। एकिदन उनी अंकलसँगै साइकल रिपेयरिङ सेन्टरमा थिए। एक जना व्यक्ति भित्र छिरे। जसको पैताला नै थिएन।
'म छक्क परेँ। ऊ साइकल बनिसकेपछि आफैँ चलाउँदै बाटो लाग्यो, म त्यो मान्छेलाई पर पुगञ्जेलसम्म हेरिरहेँ। मभित्र एक प्रकारको उर्जा सञ्चार भयो।'
बेलुकी घर पुगेपछि उनले बा'लाई भने– 'म साइकल चलाउँछु।'
...
घरमा दाइ साइकल चलाउँथे। यमलाल भन्छन्– 'मैले साइकल चलाउँछु भन्दा दाइले छुन दिँदैनथ्यो। यसका दुईवटा कारण थिए- पहिलो थियो, लड्ला र अर्को खुट्टा पनि भाँच्ला भन्ने पीर। अनि दोश्रो, लडाउला ठोक्काउला र साइकल बिगार्ला भन्ने पीर।'
मेरो साइकल चलाउने तीब्र इच्छा पूरा भयो। मेरो जिद्दीले बाको अनुमतिमा दाइले साइकल दिए। म सिक्दै गर्दा घरिघरि लडेँ, ठोक्किएँ। कतिपटक त जिउमा घाउ भयो। रगत बग्यो र माटोमा बिलायो। मैले हार नमानेर सिक्ने हुटहुटीलाई थोरै पनि विचलित हुन दिइनँ।
'खुट्टा एउटा थियो। त्यो पनि देब्रे। सुरुवातमा वैशाखीले दाहिने प्याडल चाल्ने प्रयास गरेँ। तर अहँ! साइकल अडिएन। लड्यो। दोश्रो पटक हात प्याडलमा लगेर चाल्न खोजेँ। तर अहँ! मिल्दै मिलेन। साइकलसँगै म पनि लडेँ। तेश्रो पटक प्याडलमा भारी बाँधेर ब्यालेन्स गर्न खोजेँ। पुरै सफल नभए पनि यो आइडियाले काम गर्यो। साइकलको प्याडल एक खुट्टाले दबाउँदा भारीको सहायतले चल्न थाल्यो।'
'साइकल गुडाएको दिन म निकै खुसी भएँ। किनभने मैले साइकल चढेको मात्र होइन गुडाएको पनि थिएँ। सधैँ मेरो पीरले रुने आमा मेरो प्रयास सफल भएको खुसीमा रोइन्।'
यमलाललाई साइकलले शक्ति दियो। उमेर १९ पुगेर युवक बनेका उनलाई साइकलले गति दियो। पहिलोपटक साइकल चलाउँदा आफूलाई व्यङ्ग्य गर्ने कैलालीका सिडिओलाई देखाउने इच्छा उनलाई जागेको थियो। किनकी उनलाई सिडिओले व्यङ्ग्य गरेका थिए। सार्वजनिक बसका खलासीले धकेलेर लडाएपछि उनी उजुरी गर्न सिडिओ कार्यालय पुगेका थिए। सिडिओको जवाफले उनी निराश भएर फर्किनु परेको थियो।
'तैँले नै भाडा दिइनस् होला। उनीहरु मेहेनेत गरेर गाडी चलाउने गर्छन्। रिस उठेर धकेले होलान्', यमलाल सिडिओको नाम नसम्झिए पनि उनको तीतो बोली अझै सम्झिन्छन्।
...
यमलालले साइकल चलाउन त सिके तर उनीसँग एक थान साइकल थिएन। ठिक त्यसैबला उनले दुवै खुट्टा नभएका न्युजिल्याण्डका नागरिक मार्क इलिङ्सले सगरमाथा चढेको खबर पढे।
उनलाई पनि यस्तै केही एडभन्चरस काम गर्न मन लाग्यो। तर मन भएर मात्रै के गर्ने? उनी केही खुम्चिए। 'साइकल थिएन, इच्छा मात्रै थियो तर मनमा कोही सहयोगी त कसो नभेटिएलान् भन्ने लागिरहन्थ्यो', उनले भने, 'आफू पनि सिलाइ कटाइ सिकेको उपयोग गर्दै थिएँ। कैलालीमै ब्लुमुन नामक टेलरिङ सेन्टर खोलि सकेको थिएँ। पैसा आफैँ जम्मा गरेर पनि सस्तो साइकल किन्ने प्रण गरेँ।'
तर उनलाई विश्वले चिन्ने बन्नु थियो। कैलाली सानो ठाउँ थियो। उनलाई पहिचान बनाउनु थियो। यमलालले निश्चय गरे– 'मैले कैलाली छाड्नुपर्छ।'
अन्तत: आफूले सङ्घर्ष गरेर केही प्राप्त गरेको ठाउँ कैलाली छाडेर उनी केही गर्ने सङ्कल्पका साथ सपनाको सहर काठमाडौँ छिरे।
...
काठमाडौँमा बस्न सहज थिएन। दाइले सहयोगमा गार्मेन्टमा बस्ने व्यवस्था मिलाएर उनी ढुक्कसाथ आएका थिए। काठमाडौँ आएर उनले फोन घुमाए। लिन आउने प्रतिवद्धता जनाएका व्यक्तिले दुईपटकदेखि फोन नै उठाएनन्। उनी अलपत्र परे।
उनी सहारा खोज्दै ललितपुरको बालकुमारीस्थित प्रहरी चौकी पुगे। उनको पहिलो रात त्यहीँ बित्यो। काठमाडौँमा उनको आफ्नो भन्ने अरु कोही थिएन। दोश्रो दिन उनी रेडक्रसको ब्लडबैंकको भवनमा बसे।
'सहरमा सबै निर्दयी हुन्छन् भन्ने लागिरहेको थियो। तर मलाई गलत सावित गरे बागबजार टेलिरिङ सेन्टरका साहुले। ब्लडबैंकमा भेटिएका उनले मलाई काम मात्र दिएनन्, बस्ने ठाउँ पनि दिए। दुई वर्ष साइकलिस्ट बन्ने सपना दबाएर म कैची चलाउन बाध्य भएँ।'
साइकल चलाउने उनको सपनाले दुई वर्षसम्म सार्थकता पाएन। यसमा न कसैको सहयोग जुट्यो न त साथ। गाउँमा हल्ला फैलिसकेको थियो। यमलाल साइकलिस्ट बन्न गएको छ। तर साइकलिस्ट बन्नुअघि नै गाउँ पुगेका यमलाल टेलर सम्हाल्न थाले।
साइकलको सपना दबाए पनि मरेको भने थिएन। तर गाउँमा टेलर भएर अल्झिरहँदा मानिसहरुले सोधेका प्रश्नले उनलाई साइकलिस्ट बन्ने इगो नै उत्पन्न गरायो। उनले आफ्नो क्षेत्रका सांसद, काठमाडौँ महानगरपालिका र एसओएस युकेको सहयोगमा साइकल प्राप्त गरे। उनको दबेको सपना पुन: जागृत भयो।
एक खुट्टाले उनको साइकल दौडियो। २०५९ साल फागुनबाट सुरु भएको उनको यात्राले देशका ३१ जिल्ला पार गर्यो। गोर्खाको एघार किलोमिटर भन्ने ठाउँमा साइकल भीरबाट तल पुगेर पनि जोगिएको, धरानको अस्पतालमा बास हुँदा उडुसले टोकेर निदाउन नसकेको, चन्द्रनिगाहापुरमा गोठमा सुत्नु परेको, पथलैयाको जंगलमा चितुवाको डरले ट्राफिकको स्कर्टिङमा साइकल चलाएको यस्ता थुप्रै घटना सम्झन्छन् उनी।
गाउँमा साइकलमा चढेको देख्दा कसैले उनलाई विचरा भने। त्यतिबेला उनको उत्साह खस्थ्यो। गाउँमै सीमित भएको भए उनको इच्छाशक्ति दब्ने निश्चित थियो। यो उनको विचार हो।
उनले अनुभव सुनाए– 'तर जब म साइकल यात्रामा निस्किए। मलाई विचरा भन्ने कोही भएनन्। सबैले मेरो आत्मबलको तारिफ गरे। म साइकलिस्ट भएँ।'
...
साइकलिस्ट यमलालको सपनाको आकाश फैलिएको छ। उनी अब देशको सबै जिल्लामा साइकलमार्फत टेक्न चाहन्छन्। अझ उनी सन् २०२० मा हुने प्यारा ओलम्पिकमा भाग लिन चाहन्छन्।
तर निकाय भन्छ – 'अपाङ्ग साइकलिस्ट नै छैनन्। तपाईँ जानु भयो भने पनि खर्च आफैँ बेहोर्नुपर्छ।'
उनी चाहन्छन् सरकारले उचित तालिमको व्यवस्था गरोस्। 'जित्न नसके पनि मेरो प्रतिनिधित्वले आत्मबल खुम्च्याएर बसेका प्रतिभावान् अपाङ्गहरुलाई ह्विलचेयर, वैशाखी र परिवारको हातबाट बाहिर निस्कन हौसला दिनसक्छ।'
तर निकाय भन्छ – 'अपाङ्ग साइकलिस्ट नै छैनन्। तपाईँ जानु भयो भने पनि खर्च आफैँ बेहोर्नुपर्छ।'
उनी चाहन्छन् सरकारले उचित तालिमको व्यवस्था गरोस्। 'जित्न नसके पनि मेरो प्रतिनिधित्वले आत्मबल खुम्च्याएर बसेका प्रतिभावान् अपाङ्गहरुलाई ह्विलचेयर, वैशाखी र परिवारको हातबाट बाहिर निस्कन हौसला दिनसक्छ।'