
पोखरा : नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलबारे चर्चा चलिरहँदा चिनियाँ दाता र निर्माण कम्पनी सम्मिलित टोलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे स्थानीयको अवधारणा बुझेको छ।
बुधबार पोखरा आएको मित्रराष्ट्र चीनको एक्जिम बैंक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का पाएको सिएएमसी इन्जिनियरिङ कम्पनीका प्रतिनिधिमण्डलले दुई दिन पोखरा बसेर विमानस्थल निर्माणबारे स्थानीयको धारणा बुझेको हो।
टोलीमा एक्जिम बैंकका उपमहानिर्देशक जाओ लियाङ, निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङ कर्पोरेसनका उपाध्यक्ष सेन्चेङ लिभ तथा ज्याङ सुन सहभागी थिए।
पोखरा बसाइँका क्रममा उनीहरुले विमानस्थलका लागि सहुलियत दरमा ऋण प्रदान गर्न र समयमै निर्माण सम्पन्न गर्न आफूहरु तयार रहेको बताएको टोलीसँगको छलफलपछि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए।
चिनियाँ टोलीले निर्माण थालेको बढीमा तीन वर्षभित्र विश्वस्तरको विमानस्थल नेपाललाई सुम्पने प्रतिबद्धता व्यक्त गरेको छ।
भेटघाट कार्यक्रममा बोल्दै एक्जिम बैंकका उपमहानिर्देशक जाओ लियाङले पोखरेलीले चिनियाँ सदासयता र लगानीप्रति देखाएको चासोले आफूहरुमा ऊर्जा थपेको बताए।
विमानस्थल निर्माणस्थलको वस्तुस्थिति तथा यो क्षेत्रका नागरिकको मनोभावना बुझ्न आएको टोली फर्केलगत्तै नेपाल र चीन सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर हुने र निर्माण कार्य पनि थालिने उनको भनाइ थियो।
निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङ कर्पोरेसनका उपाध्यक्ष सेन्जेङ लिभले निर्माणका क्रममा सघाउन पोखराको निजी क्षेत्र र नागरिक समुदायसँग अपिल गरे। उनले विमानस्थल अन्तर्राष्ट्रिय गुणस्तरको हुने र समयमै निर्माण कार्य सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।
भेटघाटका अवसरमा चिनियाँ टोलीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक बिन्दुकुमार थापाले निर्माणका क्रममा स्थानीय तहमा आइपर्ने समस्या सुल्झाउन यहाँको निजी क्षेत्र तथा नागरिक समाज तयार रहेको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घ तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल निर्माणमा चिनियाँ सहयोगको मुक्तकण्ठले प्रशंसा गरे।
सरकारले २०३२ सालमै पोखरा उपमहानगरपालिका–१४, १५ र १८ मा पर्ने छिनेडाँडामा नयाँ विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरेर राखेको थियो।
मुअब्जाको किचलो, बजेट अभाव र राजनीतिक अस्थिरताका कारण काम भने सुरु हुन सकेको थिएन। मित्रराष्ट्र चीनको सदासयताबाट त्यहाँको एक्जिम बैंकले सहुलियत दरमा ऋण दिने भएपछि निर्माण कम्पनी सिएएमसीले विमानस्थल बनाउने भएको हो।
पर्यटन मन्त्रालयका अनुसार चीनको एक्जिम बैंकले ४० वर्षका लागि न्यून ब्याजदरमा ऋण दिने भएपछि सिएएमसीले १६६ मिलियन अमेरिकी डलरको लागतमा विमानस्थल बनाउन लागेको हो। फागुनभित्रै विमानस्थलको शिलान्यास हुने भनिए पनि ऋण सम्झौतामा हस्ताक्षर हुन बाँकी रहेकाले विमानस्थलको निर्माण अगाडि बढेको छैन। ठेक्का पाउनेमा ढुक्क रहेको चिनियाँ ठेकेदार कम्पनीले भने विमानस्थल क्षेत्रको माटोको परीक्षण जारी राखेको नेपाल नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख दीपक बरालले बताए।
उनका अनुसार प्राधिकरणले विमानस्थलका लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणको प्रक्रिया पनि अगाडि बढाएको छ। पहिलो चरणमा विमानस्थलका लागि आवश्यक ८०.२ रोपनी थप जग्गा अधिग्रहण थालिएको र २० जनाभन्दा बढी जग्गाधनीले मुआब्जासमेत बुझेको उनले जनाए।
दोस्रो चरणमा ३६० र तेस्रो चरणमा १५६ रोपनी जग्गा अधिग्रहण गरेपछि विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गाले पूर्णता पाउनेछ। रासस