काठमाडौँ : नेपालले एसीसी इमर्जीङ कप क्रिकेट खेल्ने भएको छ। प्रतियोगितामा एसियाका चार टेष्ट राष्ट्रले समेत सहभागिता जनाउँदै छन्। आउँदो मार्च २५ तारिखमा बंगलादेशमा हुने प्रतियोगितामा अफगानिस्तान र नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्काले समेत सहभागिता जनाउँदै छन्। सुरुमा युएई र हङकङले खेल्ने भनिए पनि आन्तरिक कारण देखाउँदै युएईले नखेल्ने र त्यसको सट्टा मलेसियाले खेल्नेछ।
टेस्ट खेल्ने राष्ट्रबाट भने प्रतियोगितामा अण्डर २३ टिमको सहभागिता रहनेछ। उनीहरुले चार जनासम्म राष्ट्रिय टोलीका खेलाडी भने समेट्न सक्नेछन्।
यसअघि मार्च १५ देखि प्रतियोगिता हुने भनिएपनि आयोजक बंगलादेशले दश दिन पछाडी सार्न प्रस्ताव गरेको थियो। बंगलादेशले खेल फतुल्लाह मैदान र मिरपुरमा गर्ने तयारी गरिरहेको छ।
आइसीसीको नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसारले नेपालले गुमाएको मौका पुन: प्राप्त गरेको हो। ‘हामीले एसीसीलाई आग्रह गरेपछि सहभागिता सुनिश्चत भयो,’ घिमिरेले पहिलोपोस्टसित भनिन्।