- पहिलोपोस्ट-
ब्युरो प्रमुख हेमन्त मल्ल ठकुरीले हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको हत्या २ लाख रुपैयाँ सुपारी दिएर गर्न लगाउने को हो भन्ने बारे जानकारी भइसके पनि अहिले नै सबै कुरा खोल्न नमिल्ने बताए। मुख्य योजनाकार बाहेक पनि प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले अन्य कतिपय प्रश्न उब्जिएका छन्।
१)'मेन टार्गेट' भन्दा पनि 'अवरोध' लाई हटाउने कस्ता 'कन्ट्र्याक्ट किलर'?
प्रहरीले हत्याराहरुको मुख्य टार्गेट घरधनी गीता खड्का रहेको बताएको छ। यो तर्कलाई मान्ने हो भने यी व्यवसायिक किलरहरुको पहिलो र प्रमुख लक्ष्य 'मेन टार्गेट' लाई सिध्याउनु हुनुपर्ने हो। त्यसपछि मात्रै अवरोधहरुलाई हटाउने भन्ने कुरा हुनुपर्ने हो। तर यो घटनामा त पहिला 'अवरोध' अर्थात् श्रेष्ठ दम्पतीलाई सिध्याएर पछि बल्ल मुख्य टार्गेटतिर अघि बढेको पाइन्छ। त्यही पनि मुख्य अवरोधलाई केही गर्न असफल भई उनीहरु फर्किएको घटना विवरणले देखाउँछ। यो व्यवहार 'प्रोफेसनल' अपराधीहरुको व्यवहारसँग मेल खाँदैन। प्रोफेसनलले त पहिला मुख्य टार्गेट सिध्याएर त्यसपछि अवरोधलाई हटाउँछ।२) बालिकालाई किन छाडियो ?
हत्याका लागि आएकाहरुले आफूलाई चिन्ने डरले अथवा पछि हुनसक्ने खतराका कारण श्रेष्ठ दम्पतीलाई सिध्याएको प्रहरीको जिकिर छ। त्यसो हो भने सात वर्षीया बालिकालाई खुकुरी हानिसकेर पनि किन जिउँदै छाडेर गए होलान् त? जब बच्ची पनि अवरोध हुनसक्ने भनेर खुकुरी हानिसकेका थिए भने भागेर ट्वाइलेटमा गए भन्दैमा बाबु र आमालाई त्यति निर्ममताका साथ हत्या गर्न सक्ने हत्याराहरुले बच्चीलाई यत्तिकै छाड्थे होलान् ?३) २ लाख रुपैयाँ 'सुपारी' कसले दियो?
प्रहरीले २ लाख रुपैयाँ 'सुपारी' दिएर हत्या गर्न लगाएको भनेको छ। रकमको परिमाण खुलाउन सक्ने प्रहरीले कसले त्यो सुपारी दिएको हो? किन दिएको हो किन खुलाउन नसकेको?४) घटनाप्रकृतिको उदाहरणले पुष्टि कसरी गर्छ?
प्रहरीले यो घटना पछि अर्थात् २०६० सालको जेठ १७ गते गोलढुंगामा भएको एउटा घटनालाई अपराधिक पृष्ठभूमिको उदाहरणका रुपमा राखेको छ। यो घटनामा पनि म्यानपावर सञ्चालिकाकै हत्या भएको थियो। यसमा श्रीमानले ६ लाख रुपैयाँ सुपारी रकम दिएको भनिएको छ। तर यसले रानीबारी हत्याकान्डको कडी कसरी जोडिएको भन्न मिल्छ? सिरियल कन्ट्र्याक्ट किलरका रुपमा उनलाई दर्शाउन खोजिएको भए पनि दुई घटनामात्र जोडिएको छ।५) जन्मकैदमा ९ वर्षमात्र सजाय दिने कुन सुविधा छ?
प्रहरीले यस घटनाका हत्यारा २०६० सालमा गोलढुंगा हत्याकान्ड घटनाको प्रमुख अपराधी भई सर्वस्व सहित जन्म कैदको सजाय पाएकोमा २०६९ सालमा सुविधामा छुटेको भनिएको छ। नेपालको कुन चाहिँ कानुनले जघन्य अपराधमा यति धेरै 'सुविधा' दिएको छ ? जेलमा चौकिदार, नाइके वा भाइनाइके भई आचरण राम्रो भएमा बढीमा १ वर्षमा २ महिना कट्टी हुँदै जान्छ। यो हिसाबले जन्मकैदमा बढी छुट भए पनि २ वर्षमात्रै छुट हुनुपर्ने हो। नौ वर्षमात्र सजाय पाउने गरी कुन 'सुविधा' पाए त?६) पेस्तोल छाडेर खुकुरी हान्दै हिँड्ने कस्ता हत्यारा?
२०५९/६० सालतिर पेस्तोल लगायतका साना हतियार काठमाडौँमा प्रशस्तै पाइन्थे। सिरियल किलरका लागि यो कुनै गाह्रो कुरा पनि थिएन। तर सजिलो र सुरक्षित हतियार पेस्तोल छाडेर खुकुरी हान्दै हिँड्ने यी कस्ता पेशेवर हत्यारा थिए?
७) रिस्केचको आधार के ?
प्रहरीले यो घटनामा संलग्नको रिस्केच गरेको बताएको छ। तर रिस्केचको आधार के त ? १२ वर्षअघिको घटना प्रत्यक्षदर्शीहरुले कति नै सम्झिएका होलान् र। फेरि पहिलेको स्केच र अहिलेको स्केचमा आकाश जमिनको अन्तर किन? पहिलेको स्केचमा क्याप लगाएको व्यक्ति थियो, अहिले त्यस्तो छैन। फेरि रिस्केचको हुलिया अहिले समातिएका अपराधीको अहिलेको हुलियासँग पो मिल्छ, पुरानो हुलियासँग मिल्दैन। माथिको फोटोमा प्रष्ट देखिन्छ दायाँपट्टीको स्केचमा कपाल ठाडो छ जुन बायाँ पट्टी रहेको अहिलेको हुलियासँग मिल्छ। प्रहरी आफैले सार्वजनिक गरेको १० वर्षअघिको हुलियामा भने कपाल लामो छ। स्केच पनि एक जनाको मात्र किन बनाइयो ? दुई जनाको किन बनाइएन ?
