काठमाडौं : फिल्म निर्माता रोज राणाले बलिउड फिल्म भूतनाथ, कल किस्ने देखाका निर्देशक र भूतनाथ रिटर्न्स लेखकको सहकार्यमा 'मेरो पैसा खोइ?' घोषणा गरे। बलिउड निर्देशक विवेक शर्माको निर्देशनमा फिल्म बन्ने गसिपले मिडियामा राम्रै ठाउँ पायो। फिल्मको फाइनल लाइनअप लिस्टमा लिड कलाकारको रुपमा अनुबन्धित भइन्, वर्षा शिवाकोटी।
निर्माता राणाको फिल्म अफर नकार्न नसकेकी उनले फिल्मको कथा भारतीय निर्देशकबाट सुनिन्। 'कथा ठिक लाग्यो। आफ्नो रोल पनि मनपर्यो त्यसैले अग्रिमेन्ट पेपरमा साइन गरेँ,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्।
त लिड रोलमा फाइनल भएको एक हप्ता पनि नबित्दै उनी फिल्मबाट बाहिरिइन्।
'फिल्म साइन गर्दाको र स्क्रिप्ट पढ्दाको कथा नै फरक रहेछ,' उनले सुनाइन्, 'सुरुमा सुनाइएकोसँग केही नमिल्ने। त्यही भएर म फिल्मबाटै बाहिरिएँ।'
स्क्रिप्ट नै नपढी केको आधारमा फिल्म साइन गरिन् त वर्षाले?
'निर्मातासँगको 'व्यक्तिगत विश्वास र समझदारी।' उनको जवाफ यस्तो छ।
तर यो जवाफले नेपाली फिल्म इन्डस्ट्रीका प्राय: कलाकार, निर्माता र प्राविधिकको प्रतिनिधित्व गर्छ। किनकि फिल्म क्षेत्रमा व्यक्तिगत सम्बन्ध र विश्वासको आधारमा काम गर्ने धेरै छन्। जहाँ कानुनी कागज र दस्तावेजले कमै महत्व राख्छ। जसका कारण समस्या सिर्जना हुन्छ तर समस्या समाधानको उचित उपाय भेट्न गाह्रो हुन्छ।
फिल्म 'मेरो पैसा खोइ?' को हकमा वर्षाले आफूलाई धोका भएको महसुस गरिन् र तुरुन्तै निर्माता भेटेर एड्भान्स रकम फिर्ता गरेर कन्ट्रयाक्ट तोडिन्। 'निर्मातासँगको समझदारीमा साइन गरेको कन्ट्रयाक्ट समझदारीमै तोडेँ,' उनी भन्छिन्, 'खासै समस्या भएन। चित्त नबुझेपछि कन्ट्रयाक्ट ड्रप गर्ने अधिकार पनि त हुन्छ नि।'
अभिनेत्री घोषणा भएकी उनले त रकम फिर्ता गरेर कन्ट्रयाक्ट तोडिन् तर निर्माता स्वयंले भने व्यक्तिगत सम्बन्ध र विश्वासका आधारमा सुरु गरेको काममा घाटा बेहोर्नुपर्यो। विश्वासकै आधारमा काम सुरु गरेका भारतीय निर्देशक विवेक शर्मा भारत फर्किए।
छायांकन सुरु भएको १५ दिन बित्दा पनि फिल्ममा अभिनय गर्ने भनिएका भारतीय कलाकारहरु ल्याउन विवेक चुकेका थिए। निर्माणपक्षले बारम्बार बलिउड कलाकारहरुबारे प्रश्न गरेपछि उनी आफूले निर्देशन गरेको फुटेज सबै डिलिट गरेर बिनासूचना भारत फर्किए।
निर्माता संघका महासचिव समेत रहेका राणाले भने, 'मैले कलाकार र निर्देशकको गरी शर्मालाई तीन किस्तामा २५ लाख बराबर रकम बुझाएँ। तर सबै मौखिक समझदारी र विश्वासका आधारमा। अब कता क्लेम गर्नु?'
कागजी सहमति भएको भए सायद राणाले केही आधार पाउँथे आफ्नो पैसा फिर्ता माग्न तर त्यसो भएन। अहिले राणा भन्छन्, 'कन्ट्रयाक्ट आवश्यक रहेछ विश्वासले मात्र व्यवसायमा काम नगर्दो रहेछ।'
होस्टल, जेरी, सम्बोधन, गाजलु जस्ता हिट फिल्म निर्देशन गरेका हेमराज बिसी पनि कन्ट्र्याक्ट अत्यावश्यक रहेकोकोमा सहमत छन्। 'एउटै क्षेत्रमा काम गर्ने भएपछि चिनजान र समझदारी एकअर्कासँग हुन्छ नै। तर पनि कागजी कन्ट्र्याक्टको छुट्टै महत्व हुँदो रहेछ,' उनको बुझाइ छ।
फिल्म गरिसकेपछि समयमा पारिश्रमिक नदिने वा दिए पनि भनेजति नहुने समस्या धेरै रहेको उनले बताए। सोही समस्याको समाधान खोज्न सम्बन्धित निकायमा पुग्नुको प्रमुख आधार नै लिखित कन्ट्र्याक्ट हुने उनी बताउँछन्।
'कम्प्लेन गर्नुपर्यो भने अरु के नै हुन्छ र?' उनी भन्छन् 'सम्बन्धित निकायले पनि खोज्ने त कागज नै हो।' बिसीका अनुसार कन्ट्र्याक्ट सिस्टमले इन्डस्ट्रीलाई व्यावसायिक र व्यवस्थित बनाउन सहयोग गरेको छ। तर सबैले यो लागू गरेका छैनन्।
सबै हकमा कागजी सहमतिले उचित काम गर्न सक्छ भन्ने चाहिँ हुँदैन। कलाकार एवं निर्देशक समेत रहेका सुदर्शन थापा भन्छन्, 'कन्ट्र्याक्टमा एउटा कुरा लेखेको हुन्छ। लेखेको सबै समयमा पूरा हुन्छ नै भन्न सकिन्न।'
सन् २०१३ मा उनले फिल्म 'लम्फू' साइन गरे। उनी आफ्नो डेब्यु फिल्म बन्नेमा ढुक्क थिए। तर एक वर्षसम्म फिल्म निर्माण प्रक्रिया अघि बढेन। जसका कारण उनको अन्य प्रोजेक्ट पनि अल्झियो। भन्छन्, 'त्यो अवस्थामा साइन गरेको पेपरले मात्र के गर्नु?' अन्तत: उनले फिल्म युनिटसँग कुरा गरेर फिल्मबाटै हात झिके।
फिल्म निर्माण पक्षले कागजी कन्ट्र्याक्टको शब्दलाई व्यवहारमा उतार्न नसकेको हो त?
फिल्म निर्माता शक्तिवल्लभ घोरासैनी भन्छन्, 'फिल्म पनि व्यवसाय हो जसमा जनशक्ति मात्र भएर हुँदैन। पैसा चाहिन्छ, समय चाहिन्छ। धैर्य पनि चाहिन्छ। ढिलोचाँडो हुन सक्छ नि।'
उनको तर्कअनुसार कागजी प्रक्रिया औपचारिकता हो। समस्यामा काम लाग्ला तर दुई पक्षबीच समस्या सिर्जना हुन नदिन समझदारी अत्यावश्यक हुन्छ।
असमझदारीका कारण सुदर्शन थापा र लम्फू युनिटबीच कन्ट्र्याक्ट तोडियो। र फिल्म घोषणाको तीन वर्षपछि यही फागुन दोस्रो साताबाट मात्र फ्लोरमा उत्रियो।
कुनै पनि फिल्म निर्माण कम्पनी वा निर्माता र कलाकार एवं प्राविधिकबीच करार ऐन २०५६ अन्तर्गत एग्रिमेन्ट हुने गरेको छ। ऐनले निर्धारण गरेको प्रावधानलाई आधार बनाएर समय, मिति, पारिश्रमिक लगायत सम्पूर्ण विषयमा लिखित सहमति हुन्छ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार कन्ट्र्याक्ट साइन गर्न र तोड्नुपरेको खण्डमा पनि दुई पक्षबीच सहमति हुनुपर्छ। 'कन्ट्र्याक्टका बाबजुद पनि समस्या र अफ्ठ्यारा आइपरे सम्बन्धित निकायले कन्ट्र्याक्टलाई आधार बनाएर कारबाही गर्छ,' उनले भने।
कागजी सहमतिविरुद्ध कुनै पनि कार्य भएमा, निर्माण पक्ष मारमा परेको छ भने चलचित्र निर्माता संघ र कलाकार मारमा परेको छ भने कलाकार संघले कानुनी कारबाही गर्ने उनी बताउँछन्।
यहाँ प्राय: समस्या पैसाको कारण सिर्जना हुने गरेको बताउँछन् निर्देशक गोपालचन्द्र लामिछाने। निर्माण कम्पनी र फिल्मका प्रविधिक वा कलाकारबीच एड्भान्स अमाउन्ट, पोस्टसुट अमाउन्ट र डबिङ अमाउन्टका लागि तीन तहमा कन्ट्र्याक्ट हुने गरेको छ।
नायिका नीता ढुङ्गाना भन्छिन्, 'सुरुसुरुमा चिनजान र सम्बन्धका आधारमा फिल्म गर्दा धेरै समस्या झेल्नुपर्थ्यो।' उनको अनुभवमा कन्ट्र्याक्टलाई आधार बनाएपछि आफ्नो काम पूरा गरेपछि पारिश्रमिक लिन सजिलो हुन्छ। भन्छिन्, 'कानुनी प्रक्रियाअनुसार अघि बढियो भने सम्बन्धहरु बिग्रने डर पनि कम हुन्छ।'