PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वर्षा बाधक बन्दा चम्किएको मेहबुब आलमको भाग्य



गोविन्दराज नेपाल

वर्षा बाधक बन्दा चम्किएको मेहबुब आलमको भाग्य

काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-५। २००८, जर्सी।
 
सायद मोजाम्बिक विरुद्को खेल वर्षाले गर्दा नदोहोरिएको थियो भने कथा अर्कै हुने थियो। वर्षाले खेल रद्द भएपछि नेपालले पुनः मोजाम्विकसँग खेल्यो र मेहबुब आलमले उक्त खेलमा १० विकेट लिँदै वान डे क्रिकेटमा इतिहाच रचे।
 
नेपाल कूल १२ टोलीको सहभागिता रहेको लिगको समूह ए मा थियो। नेपालसँगै जर्मनी, अमेरिका, मोजाम्विक, भानुआटु र नर्वे थिए।
 
नेपाल आफ्नो दोस्रो खेलमा २४ मे २००८ मा मोजाम्विकविरुद्ध खेल्दै थियो। कप्तान विनोद दास र वसन्त रेग्मीले ५/५ विकेट झारेपछि नेपालले मोजाम्विकलाई ७२ रनमा अलआउट गर्‍यो। तर सामान्य लक्ष्य पाएको नेपालले पहिलो बल फेस गरेपछि नै वर्षा बाधक बन्यो। खेल रद्द भयो।
 
नेपालले भोलिपल्ट पुनः मोजाम्विकसँग खेल्यो। मोजाम्विकले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै ५० ओभरमा २३८ रन बनायो। जवाफमा आलमको घातक बलिङसामु मोजाम्विक टिक्न सकेन र १४.५ ओभरमा मात्र १९ रनमा समेटियो। मोजाम्बिकका करिम शाहले ९ तथा युनिसले २ रन बनाए भने अतिरिक्तबाट ८ रन पायो। बाँकी ९ खेलाडी शून्यमा आउट भए।
 
आलमले वान डे क्रिकेटको एकै खेलमा विपक्षीको सबै १० विकेट लिएर सनसनी मच्चाए। यदि उक्त खेलले वान डे इन्टरनेशनल म्याचको मान्यता पाएको भए आलम अहिले रेकर्ड होल्डर हुने थिए। जे भए पनि उक्त खेल आइसिसीको आधिकारिक प्रतियोगिता भने थियो।
 
त्यही एक खेल नै आलमलाई चर्चाको शिखरमा पुर्‍याउन काफी बन्यो।
 
उक्त लिग संरचनाकै च्याम्पियनसिप खेलअन्तर्गत केन्याविरुद्ध यही फागुन २८ र ३० गते हुने खेलका लागि आइतबार नेपाली १४ सदस्यीय टोली घोषणा हुँदा आलमले नेशनल टिममा कमब्याक गरेका छन्।
 
अहिले केन्याविरुद्ध खेल्न छनोट भएको नेपाली टोलीको सबैभन्दा सिनियर खेलाडी हुन आलम। सन् १९८१ मा राजविराजमा जन्मेका उनले नेपालको लागि खेल्न थालेको समेत दुई दशक पुग्न लागिसक्यो। उनले सन् २००० मा श्रीलंकामा भएको यु-१९ विश्वकपमा नेपालका लागि पहिलो पटक खेलेका थिए भने त्यही वर्षको अन्त्यमा युएईमा भएको एसिसी टफीबाट सिनियर टिममा डेब्यु गरेका थिए। त्यसपछि आलम नेपाली टोलीको नियमित सदस्य बने।
 
पछिल्लो पटक भने आलम नेपाली टिममा पर्ने र बाहिरिने क्रम जारी रह्यो। नेशनल टिममा उनको स्थान स्थिर रहेन। जब नेपालको प्रदर्शन खराब हुन्थ्यो तब समर्थकहरु आलमको माग गर्थे।
 
लेफ्ट ह्याण्डेड ब्याट्सम्यान र लेफ्ट आर्म मिडियम पेसर आलम घातक बलिङसँगै विस्फोटक  ब्याटिङका कारण पनि चर्चित छन्। सन् २०११ मा भएको एसिसी ट्रफीमा आलमले साउदी अरेबियाविरुद्ध टी-२० खेलमा ४१ बलमा ८८ रन बनाएका थिए। जुन नेपाली खेलाडी टी-२० मा बनाएको सर्वाधिक स्कोर समेत हो।

इन-आउट

२००८ मा विश्व रेकर्ड कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम दर्ता गराउन सफल आलमले दुई वर्षपछि घरेलु भूमिमै भएको डिभिजन ५ खेले। त्यसपछि इटलीमा सन् २०१० मै भएको डिभिजन ४ पनि खेले। तर त्यसपछि नेपालले खेलेको २०१२ को डिभिजन ४, २०१३ को डिभिजन ३ र २०१४ को वर्ल्ड कप क्वालिफायर खेल्ने टिममा परेन्।
 
आलमले हिम्मत हारेन्। घरेलु प्रतियोगिता लगायत भारतमा हुने विभिन्न खालका स्थानीय प्रतियोगिता खेलिरहे। २०१४ मा मलेसियामा भएको एसिसी प्रिमियर लिगमा उनले पुनरागमन जनाए। जसमा नेपाल तेस्रो भएको थियो। त्यसै वर्ष मलेसियामा भएको डिभिजन ३ मा भने आलम नेपाली टिममा परे। यसमा नेपाल च्याम्पियन नै बन्यो।
 
त्यसको अर्को वर्ष नामिवियामा भएको डिभिजन टू मा उनी पुनः टिममा अटाएनन्। जुन प्रतियोगितामा चौथो स्थान हात पार्न सफल भएकै कारण नेपाल अहिले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको छ।
 
नेपाली टोलीमा आलमको यो तेस्रो पुनरागमन हुन सक्छ। च्यामिपयनसिप अन्तर्गत २०१५ मा युएईमा पुपुवा न्यु गिनीविरुद्ध भएको दुवै खेलमा आलम पहिलो रोजाइमा खेलेका थिए।
 

खेलाडीको पुनरागम

अहिले नेपाली टिममा आलमसँगै युवा अलराउण्डर आरिफ शेखले पनि पुनरागमन गरेका छन् भने सुनिल धमला र दीपेन्द्र सिंह ऐरी जस्ता उदाउँदा युवा स्टारको आगमन भएको छ।
 
उनीहरुसँगै नेपाली टिममा सागर पुन र कप्तान पारस खड्का पनि अलराउण्डर भूमिकामा छन्। तर दुई साताअघि मात्र स्वास्थ्योपचार गराएका खड्काले यो पटक ब्याटिङ मात्र गर्ने सम्भावना छ।
 
केन्याविरुद्ध खेल्ने नेपाली टोलीमा मुख्य दुई फास्ट बलर सोमपाल कामी र करण केसी बाहेक फास्ट बलिङ अलराउण्डर पारस, आरिफ र आलम नै हुन्। पहिलो पटक नेपालको सियिनर टोलीमा स्थान बनाएका दीपेन्द्र पनि फास्ट बलिङ नै गर्छन्। यस्तोमा आलमले टिममा दीपेन्द्रसँगै आरिफ तथा कुनै एक फास्ट बलरसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
 
पारससँगै आरिफ र दीपेन्द्र राइट आर्म मिडियम बलर हुन् भने आलम लेफ्ट आर्म बलर हुन्। नेपालले पाँचै चरणको पहिलो खेलमा आगामी शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्यासँग पहिलो खेल खेल्दैछ। पुन: एक पटक नेपाली क्रिकेट समर्थक/दर्शक आलमको खेल हेर्न उत्सुकतासाथ कुरिररहेका छन्। आलमले पहिलो रोजाइमा खेल्ने/नखेल्ने सम्भवत: पिच र विकेटको कन्डिसन हेरेर हुन्छ। साथै कोच र कप्तानको निर्णय पनि हाबी हुन सक्छ।
 
तर त्रिवि मैदानमा खेलेको अनुभव आलमसँग पनि छ। उनले विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेलसँगै घरेलु प्रतियोगिताहरु एभरेस्ट प्रिमियर लिग, रुस्लान कप लगायत प्रतियोगिता पनि त्रिविमा खेलेका छन्। त्यसैले आलम आफैँ पनि पुन: घरेलु मैदानमा खेल्न उत्सुक छन्।

सम्बन्धित समाचार : ​केन्याविरुद्ध खेल्न पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, दीपेन्द्र पहिलो पटक टीममा पर्न सफल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell