PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

आइसिसी वर्ल्ड क्रिकेट लिग : नेपालले केन्यालाई जिते के हुन्छ? हारे के?



गोविन्दराज नेपाल

आइसिसी वर्ल्ड क्रिकेट लिग : नेपालले केन्यालाई जिते के हुन्छ? हारे के?

काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप। १५ अगस्ट २०१५, आम्सटलभिन।
 
चौथो राउण्डको पहिलो खेलमा नेपाललाई पराजित गरेको घरेलु टोली नेदरल्याण्ड्सको मनोबल उच्च थियो। यता पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्‍यो। कप्तान पारस खड्काको ८४ रनको मद्दतमा नेपालले डच टोलीलाई उसैको मैदानमा १९ रनको हार चखायो।
 
पाँचौं चरणसम्म आइपुग्दा नेदरल्याण्ड्ले त्यसअघि पराजित हुनुपरेको थिएन भने त्यसपछि पनि कुनै खेल हारेको छैन। यसर्थ अहिले भइरहेको लिगमा नेदरल्याण्ड्लाई हराउने एक मात्र टोली नेपाल मात्रै हो। नेपालको हकमा पनि त्यो सबैभन्दा शानदार जित थियो।
 
१० खेल खेल्दा ७ मा जित र २ खेल बिनानतिजामा टुंगो लाग्दा १६ अंक जोडेको नेदरल्याण्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। यता ८ खेल खेलेको नेपाल ६ अंक जोड्दै ८ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमै छ। नेपालले नेदरल्याण्ड्स बाहेक गत वर्ष घरेलु मैदानमा भएको दुवै खेलमा नामिबियालाई पराजित गरेको थियो। 

नेपालका लागि चुनौती


पुनः एकपटक नेपाल घरेलु मैदानमा केन्यासँग पाँचौं चरणका दुई खेल खेल्दै छ। खेलेका ८ मध्ये ४ खेल जितेको केन्या ८ अंक सहित नेपालभन्दा एक स्थान अगाडि छ।
 
केन्या र नेपाल दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ, शीर्ष चारमा रहँदै सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनका लागि।
 
नेपालले दुवै खेल जित्यो भने १० अंक जोड्दै केन्यालाई पछि पार्दै पाँचौं स्थानमा उक्लनेछ। जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ।
 
केन्यासँग एक अथवा दुवै खेल हार्‍यो भने नेपालको लागि छनोट यात्रा कठिन बन्नेछ। दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा पर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ। यस्तोमा अन्य टिमको नतिजा र अंकगणितीय सम्भावना मात्र नेपालको पक्षमा हुन सक्छ।
 
त्यसैले शीर्ष चारमा रहने हो भने नेपालले घरेलु मैदानमा केन्यालाई दुवै खेलमा हराउनैपर्ने हुन्छ। केन्यापछि नेपालले हङकङसँग र युएईसँग खेल्न बाँकी छ।
 
हङकङले नेपालबाहेक पनि पुपुवा न्यु गिनीसँग खेल्न बाँकी छ। ८ खेल खेलेको पपुवा न्यु गिनी १२ अंकका साथ दोस्रो स्थानमा छ भने १० खेल खेलेको हङकङ ११ अंकसहित तेस्रो स्थानमा छ। पपुवा न्यु गिनीले चौथो स्थान (११) अंक को स्कटल्याण्डसँग पनि खेल्न बाँकी छ।
 
यता केन्याले नेपालसँग खेलेपछि बलिया प्रतिद्वन्दी नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्न बाँकी नै छ। यस्तोमा नेपालको लागि आफ्नो खेल जित्नैपर्ने दबाब त छँदैछ साथै  नेदरल्याण्ड्ले अब बाँकी रहेको सबै खेल जित्नुपर्नेछ। पपुवा न्यु गिनी र स्कटल्याण्ड तथा पपुवा न्यु गिनी र हङकङबीचको खेल पनि नेपालको लागि महत्वपूर्ण हुनेछ।
 
नेपालभन्दा पछाडि रहेका नामिबिया र युएईले अहिलेसम्म १-१ खेल जितेको छ। नामिबिया र युएई एक आपसमा भिड्न बाँकी छ भने भने नामिबियाले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्न बाँकी छ। युएईले नेपाल र नामिबिया बाहेक पपुवा न्यु गिनीसँग खेल्न बाँकी छ।
 
यस्तोमा नेपालले केन्यालाई दुई खेलमा हराउन सक्यो भने नेपालले अरुको खेलमा धेरै निर्भर हुनुपर्नेछैन।
 
केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ। केही दिनअघि मात्र नेपालले एक साताको भारत भ्रमण गरेको थियो। नेपालसँगको खेलअघि भारत भ्रमण रहेको केन्याली टोली बिहीबार नेपाल आउँदैछ।
 

अहिलेसम्मको खेलको नतिजा

खेल                                         नतिजा
नामिबिया भर्सेस हङकङ                  १-१
नेदरल्याण्ड्स भर्सेस पपुवा न्यु गिनी   २-०
केन्या भर्सेस युएई                        १-१
स्कटल्याण्ड भर्सेस नेपाल                २-०
नेदरल्याण्ड्स भर्सेस स्कटल्याण्ड       ०-०
नामिबिया भर्सेस केन्या                  ०-२
युएई भर्सेस हङकङ                       ०-२
नेपाल भर्सेस पपुवा न्यु गिनी           ०-२
हङकङ भर्सेस स्कटल्याण्ड              १-०
युएई भर्सेस नेदरल्याण्ड्स              ०-२
नेपाल भर्सेस नामिबिया                २-०
पपुवा न्यु गिनी भर्सेस केन्या         २-०
नेदरल्याण्ड्स भर्सेस नेपाल            १-१
स्कटल्याण्ड भर्सेस युएई              २-०
पपुवा न्यु गिनी भर्सेस नामिविया   २-०
केन्या भर्सेस हङकङ                   १-१
हङकङ भर्सेस नेदरल्याण्ड्स          ०-२
 
बाँकी खेल
नेपाल भर्सेस केन्या
युएई भर्सेस पपुवा न्यु गिनी
स्कटल्याण्ड भर्सेस नामिबिया
 
हङकङ भर्सेस नेपाल
पपुवा न्यु गिनी भर्सेस स्कटल्याण्ड
केन्या भर्सेस नेदरल्याण्ड्स
नामिबिया भर्सेस युएई
 
नेपाल भर्सेस युएई
केन्या भर्सेस स्कटल्याण्ड
हङकङ भर्सेस पपुवा न्यु गिनी
नामिबिया भर्सेस नेदरल्याण्ड्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell