PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महिला हिंसा पीडितलाई डिएसपीको जवाफ :'एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार'



स्वेच्छा राउत

महिला हिंसा पीडितलाई डिएसपीको जवाफ :'एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार'

काठमाडौं: फागुन १२ मा गोकर्णेश्वर १६ की उपमा भण्डारीको गोकर्णेश्वर १५ का नेपाली सेनाका अधिकृत दीनेश केसीसँग धुमधामका साथ विवाह भयो। केसीको जागिर, पढाई र व्यक्तित्व सबैले उपमाको परिवारलाई आकर्षित गर्यो। ब्याचलर सक्काएर बसेकी छोरीसँग सेकेन्ड ल्याफ्टिनेन्टको विवाह प्रस्ताव। केटाको परिवार र आफन्तबीचको सामान्य चिनजानले पनि परिवार राम्रै हो भन्ने पुष्टी गर्यो। 

उपमाका बुवाले भने, 'सरकारी जागिर, हेर्दा राम्रो केटा। छोरीको पनि पढाई सक्केको विवाह गरिदिँदा राम्रै हुन्छ भन्ने सोचेका थियौं।' 

तर त्यसो भएन। विवाह भएको चौथो दिनदेखि नै उनले श्रीमानको घरको वातावरण असामान्य पाइन्। चिया पकाउन भान्सामा छिरेकी उनलाई सासुले नपकाउन भनिन्। मौन स्वीकृति जनाएर निस्किइन्। कारण सोधिनन्। उनको मौनताको ठिक विपरीत सासुको आवाज चर्को हुन थाल्यो। 

उपमा भन्छिन्, 'दाइजो कम ल्याएको भन्दै छेड हान्न थाल्नुभयो। भन्नुहुन्थ्यो, दाइजो टन्न आउला भनेर अर्को फ्ल्याट लिने तयारीमा थिएँ।' 

सासुले ल्याएको दाइजो पनि बहुमूल्य नभएको भन्दै प्रश्न उठाउन थालिन्। गाली दाइजोमा सीमित भएन। उपमाले आफ्नो मात्र होइन माइती पक्षको पनि बेइज्जती सहनु पर्यो। 'सासुले बुवाआमाको काम र पढाइको पनि खिल्ली उडाउन थाल्नुभयो।' 

सुरुमा त सासुले व्यङ्ग्य गरिन् भन्ने सोचेकी थिइन् उपमाले। जिस्केको ठानेर हाँस्न पनि गाह्रो साँच्चै भनेको ठानेर प्रतिकार गर्नु पनि उचित थिएन। किनकी विवाहअघि आमाले सिकाएकी थिइन्, 'सासुको अगाडी शिर निहुराउनु, मुख नलाग्नु। बुहारी भएपछि सहन पनि सिक्नुपर्छ।' 


(उजुरीमा ल्याप्चे लगाउँदै उपमा )

ज्ञानी छोरीको भूमिका निभाई सकेर जिम्मेवार र सहनशील नवबुहारी बन्न पुगेकी उपमा चुप लाग्न सकिनन्, जब सासुले उनलाई 'बोक्सी' भएको आरोप लगाइन्। उनले सासु र आफूबीचको संवाद साथै घरमा घटेका घटनाको बेलिविस्तार श्रीमानसँग नखुलाएकी होइनन्। तर उनी आमाकै पक्षमा वकालत गर्न थाले। 

श्रीमानले 'ममी माता हो। सयौंको झारफूक गर्नुहुन्छ। भूत बोक्सी हटाउनुहुन्छ। तिमीलेचाहिँ उहाँले भनेको किन नमान्ने?' भने।

पढे लेखेको भनिने र सेनाको राम्रो पदमा भएको श्रीमानको कुराले उनी चकित परिन्। श्रीमान् मात्र होइन ससुराले पनि कुखुराको बली दिएर पूजा गर्नुपर्ने बताउन थाले। 

उपमा घेरिइन्। अन्धविश्वासको जालोभित्र। एक्लो उभिएकी उनले प्रतिवाद गर्ने साहस जुटाउन सकिनन्।

'खाना, खाजा बनाउन नदिनुको कारण त मैले तन्त्रमन्त्र गरेर खाना दिन्छु भन्ने डर पो रहेछ', उपमाले आफूमाथि लागेको बोक्सीको आरोप खुलाइन, 'मैले कपाल बाँधेको रबरसमेत खोलेर फाल्न लगाउनुभयो। त्यसमा बोक्सीको भेद छ भनेर।' 

'माता' बनेर अरुको झारफूक गर्ने गरेकी छिन् राधिकाले। उनले उपमालाई जोरपाटीकै एक गुरु भनिने धामीकोमा लिएर गइन्।

'मेरो शरीरबाट बोक्सी निकाल्ने भनेर लिएर जानु भएको। त्यहाँ पुगेपछि त मेरो कपाल भुत्लाउन र ढाडमा आफ्नो घुँडाले थिच्न थाल्नुभयो', उपमाले घटनाको बेलिविस्तार लगाइन्। 

घर फर्किएपछि पनि शारीरिक यातनाको क्रम रोक्किएन। उनले श्रीमान् दिनेशसँग घुर्की त लागाइन् तर उनले भने, 'म उच्च पदको मान्छे। मलाई कानुनले पनि केही गर्न सक्दैन।'

दीनेशले उपमाको फोन पनि लुकाइदिएका थिए। परिवारसँग सम्पर्कविच्छेद भएको उपमाले फागुन १९ गते लुकेर आफ्नो भाइसँग सम्पर्क गरिन्। २० गते श्रीमानले नै माइतीमा छोडिदिए। माइतीमा आमाबुवासँग आफ्नो पीडा पोख्न पाएकी उपमा तनावमा तब परिन् जब सोही रात घर नफर्किएको भन्दै श्रीमान् खुकुरी लिएर आए। 

'घर फर्कन मानेको थिइनँ। उहाँले आफ्नो हात पनि काट्नु भयो र मलाई पनि मार्ने धम्की दिनुभयो', उपमा गहभरि आँसु बनाउँदै बोलिन्, 'बाध्य भएर घर त फर्किए तर राति मार्छु र काट्छु भन्न थालेपछि फोन गरेर बुवा बोलाएँ र माइती आएँ।' 

उपमाले डराएर त्रासमा बस्नुलाई समस्याको समाधान मानिनन्। प्रतिवाद र कानुनी प्रक्रियालाई सही बाटो ठानिन् र सोहीअनुरुप महानगरीय प्रहरी वृत्त बौद्धमा घरेलु हिंसाविरुद्द सुरक्षा गरिपाउँ भन्दै निवेदन दिइन्।

फागुन २४ गते प्रहरी उनको पीडा सुन्दै थिए। उपमाको समस्याको सम्बोधन पनि गर्ने आश्वासन दिँदै थिए। अचानक चौकीमा नेपाली सेनाको अधिकृत पोशाकमा देखा परे दीनेश। 

उपमा भन्छिन्, डिएसपी विपीन रेग्मीले पनि दीनेशले खुकुरी देखाउनु, हात काट्नु र घर छोडे मार्ने धम्की दिनुलाई प्रेमको संज्ञा दिए। उपमा सुनाउँछिन्, 'उहाँले त एभ्रिथिङ इज फियर इन लभ एण्ड वार भनेर टार्नुभयो।'

प्रहरीको शरणमा पुगेर पीडामै रुमल्लिएका आमाबुवालाई आश्वासन दिएकी थिइन् उपमाले तर बौद्ध प्रहरी वृत्तका प्रमुख डिएसपीले हिंसालाई प्रेमको संज्ञा दिए। 

पहिलोपोस्टले सो विषयमा प्रश्न गर्दा डिएसपी विपिन रेग्मीको 'उनको जवाफ थियो, 'नाङ्गो खुकुरी बोकेर हिँड्दा पनि कानुन लाग्दैन। खुकुरीले मान्छे मार्दा मात्र हो हामीले कारबाही गर्ने।' 

बुधबार पीडित पक्षको आफन्त र अधिकारवादीका भीडका बीचमा केही हच्किएका प्रहरी वृत्तका डिएसपी विपिन रेग्मीले भने,'घटनाको अनुसन्धान भइरहेको छ आरोप होइन रहेछ भने आवश्यक कारबाही हुन्छ।' 

बुधबार पीडित पक्षले दिएको उजुरी नबुझेको प्रहरीले फागुन २५ गते बुधबार (आज) पीडित पक्षको आफन्त र मानव अधिकारवादीको दवावमा उजुरी लिएको छ। लामो दवावपछि प्रहरीले उपमाकी सासु राधिका केसीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। 

प्रहरी वृत्त अगाडि आशावादी भावमा उभिएकी उपमाले भनिन्, 'केही बिग्रिएको छैन। मैले चुप लागेको भएचाहिँ सायद धेरै कुरा बिग्रिन्थ्यो।' 

नवविवाहीत छोरीको जीवनमा घटेको घटनालाई लिएर माइती पक्ष चिन्तित हुनुका साथै भाव विह्वल छन्। अर्ध होसमा रहेकी उपमाकी आमा भन्छिन्, 'छोरीको जीवन बर्बाद, कुरा काट्नेको लागि बाटो खुल्यो। शिक्षित परिवार भनेर दिएको छोरी परिबन्दमा पो परी।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell