PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

डब्ल्युसिएल : केन्यालाई दोस्रो खेलमा हराउनैपर्ने दबाबमा नेपाल



गोविन्दराज नेपाल

डब्ल्युसिएल : केन्यालाई दोस्रो खेलमा हराउनैपर्ने दबाबमा नेपाल

काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यासँग घरेलु मैदानमा खेल्दैछ। पहिलो खेलमा ५ विकेटको हार बेहोरेको नेपालको लागि दोस्रो खेल गर या मरको अवस्थामा छ।
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्याविरुद्ध दोस्रो खेल खेल्न मैदान उत्रँदा नेपालको लक्ष्य जित नै हुनेछ। तर केन्यासँगको जितले मात्र नेपाललाई शीर्ष चारमा पर्ने सम्भावना कायम गराउँछ। हारले भने नेपालको शीर्ष चारमा पर्ने सम्भावना झनै कठिन हुन्छ।
 
घरेलु मैदान र दर्शकको उल्लेख्य साथ पाए पनि निरन्तर बाधक बनेको वर्षा र खराब ब्याटिङका कारण नेपालले केन्यासँगको पहिलो खेल गुमायो।
 
पहिलो खेल हारेपछि नियमित कप्तान पारसको अनुपस्थितिमा केन्याविरुद्को खेलमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले पहिलो खेलको हारले आगामी खेलका लागि अप्ठ्यारो भएको र सम्भावना सकिइनसकेको प्रतिक्रिया दिएका थिए।
 
ज्ञानेन्द्रले भनेजस्तै नेपालले शीर्ष चारको सम्भावना कायम राख्ने हो भने सोमबार केन्यालाई हराउनैपर्ने हुन्छ।
 
यता नेपालका कोच जगत टमाटाले पहिलो खेल हारेपछि हरेक खेलमा चुनौती बढ्दै गएको प्रतिक्रिया दिएका थिए।
 
पहिलो खेलमा नेपाललाई हराएपछि केन्याले ९ खेलबाट १० अंक जोडेको छ र तालिकामा पाँचौं स्थानमा यथावत छ। नेपाल भने समान खेलबाट ६ अंक मात्र जोड्दै छैटौं स्थानमा छ। दोस्रो खेलमा नेपाल विजयी भए नेपालले १० खेलबाट ८ अंक जोड्नेछ र शीर्ष चारको सम्भावना कायम राख्नेछ। नेपालको हारले भने केन्यालाई फाइदा पुग्नेछ।
 
यदि केन्याले दोस्रो खेलमा पनि नेपाललाई हराए अंक तालिकामा हङकङ र स्कटल्याण्डलाई पछि पार्दै १० खेलबाट १२ अंक जोड्नेछ र पपुवा न्युगिनीसँग अंक बराबरी हुनेछ।
 
नेपालले अब हङकङसँगै उसैको मैदानमा र युएईसँग न्युट्रल भेन्युमा खेल्न बाँकी छ। यस्तोमा नेपालको लागि बाँकी खेल पनि सहज भने पक्कै हुने छैन।
 
डब्लुसिएलको शीर्ष चारमा परे के? नपरे के?
आइसिसी डब्लुसिएल च्याम्पियनसिप सन् २०१५ देखि सुरु भएको हो भने २०१७ सम्म सञ्चालन हुनेछ। यसमा ८ टोलीको सहभागिता रहेको छ। हरेक टोलीले प्रत्येक टोलीसँग दुई खेल खेल्नेछ। त्यसपछि शीर्ष ४ मा पर्ने टोली अर्को वर्ष बंगलादेशमा हुने वान डे वर्ल्ड कप क्वालिफायरको लागि छनोट हुनेछ।
 
बाँकी ४ टोली भने डिभिजन टू मा घटुवा हुनेछ। यसको अर्थ वान डे वर्ल्ड कप क्वालिफायरको सम्भावना समाप्त भएको भने होइन। डिभिजन टू मा घटुवा हुने ४ टोली र डिभिजन थ्री बाट बढुवा हुने २ टोलीबीच पुनः डिभिजन टू मा प्रतिस्पर्धा हुनेछ र त्यसमा शीर्ष दुई स्थान हात पार्ने टोली पनि बंगलादेशमा हुने क्वालिफायरमा छनोट हुनेछ।
 
क्वालिफायरमा कूल १० टोलीको सहभागिता हुनेछ। यसबाहेक अहिले वान डे वरीयताको शीर्ष १२ मा रहेका मध्येबाट पुछारमा रहने ४ टोलीले पनि उक्त क्वालिफायर खेल्नुपर्ने हुन्छ।
 
नेपाल र केन्याको डब्लुसिएल खेलको नतिजा
नेपाल : हार - हार - हार - हार - जित - जित - हार - जित - हार
केन्या : हार -जित -जित- जित- हार - हार - जित - हार - जित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell