PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेपाली क्रिकेटमा मिडल अर्डरका 'नयाँ खम्बा' दीपेन्द्र सिंह ऐरी



गोविन्दराज नेपाल

नेपाली क्रिकेटमा मिडल अर्डरका 'नयाँ खम्बा' दीपेन्द्र सिंह ऐरी

काठमाडौं : मिडल अर्डर ब्याटिङलाई नेपाली क्रिकेट टीमको राम्रो पक्ष ब्याटिङ मानिन्छ।

सोमबार आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले ७ विकेटको जित हासिल गर्दा पनि नेपालको मिडल अर्डर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे। त्यसमा ओपनिङ गरेका ज्ञानेन्द्र मल्लको भूमिका पनि रह्यो।

यसअघि कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकरले नेपालको मिडल अर्डर ब्याटिङ सम्हाल्दै आएका थिए। अहिले ज्ञानेन्द्रले ओपनिङ सम्हाल्न थालेका छन्। तर शल्यक्रियाका कारण पारसले डब्लुसिएलअन्तर्गत घरेलु मैदानमा भएको दुवै खेल खेलेनन्। र, उनको स्थानमा नयाँ अनुहारले डेब्यु गर्ने मौका पायो। त्यो नाम थियो दीपेन्द्र सिंह ऐरी। अहिले उनै दीपेन्द्रलाई नेपालले मिडर अर्डरमा नयाँ खम्बाको रुपमा हेरिन थालेको छ। 

केन्यासँग खेल्नुअघि दीपेन्द्र पहिलो रोजाइमा पर्ने/नपर्ने निश्चित थिएन। तर पारसले नखेल्ने भएसँगै दीपेन्द्रले पहिलो रोजाइमा खेल्ने पक्का भयो। जसै उनले चौथो नम्बर (पारसको स्थान)मा ब्याटिङ गर्ने अवसर पाए, त्यसलाई प्रमाणित गरेर देखाइदिए।

दीपेन्द्रले केन्याविरुद्धको दोस्रो खेलमा शानदार ब्याटिङ गर्दै सिनियर टीममा खेलेको दोस्रो खेलमै व्यक्तिगत पहिलो अर्धशतक प्रहार गरे। पहिलो खेलमा पनि उनले १९ रन बनाएका थिए।

दोस्रो खेलमा नेपालको दुई विकेट पतन भइसकेको अवस्थामा दीपेन्द्रले कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तय गरेका थिए। ६२ रन बनाएर आउट हुनुअघि उनले ज्ञानेन्द्रसँग १११ रनको साझेदारी गरे।

खेलपछि केन्याविरुद्ध कप्तानी गरेका ज्ञानेन्द्र, कप्तान पारस खड्का र कोच जगत टमाटाले पनि दीपेन्द्रको उक्त इनिङ्सको खुलेर प्रसंशा गरे। 
कप्तान पारसले दीपेन्द्रलाई नेपाली मिडल अर्डरको नयाँ ब्याट्सम्यान भएको बताए। 'दीपेन्द्रले आफ्नो दोस्रो खेलमै यति राम्रो प्रदर्शन गरे। आइ थिङ्क वि हायभ फाउण्ड ए गुड मिडल अर्डर ब्याट्सम्यान। उसले अब राम्रो गर्दै आफूलाई अगाडि बढाएको खण्डमा नेपालको लागि राम्रो हुनेछ।'
कोच टमाटाले त दीपेन्द्रको निकै तारिफ गरे। 'दीपेन्द्रले यति राम्रो क्रिकेट खेलेको छ, यो लेभलमा आएर। डब्लुसिएलमा यु-१९ बाट आएर, यति धेरै दर्शकको अगाडि, फास्ट बलरसँग खेल्नु र आफूलाई त्यहाँ प्रिजेन्ट गर्न सक्नु सुपर्ब हो,' कोच टमाटाले दीपेन्द्रको प्रशंसा यसरी गरे, 'नेपालको मिडल अर्डरको लागि एउटा खम्बा तयार भएको छ।' 

यु १९ एसिया कपमा दीपेन्द्रले श्रीलंकाविरुद्ध शानदार ९० रन बनाएर सबको नजरमा परेका थिए।

यस्तै ज्ञानेन्द्रले पनि दीपेन्द्रलाई जे सोचेर टीममा राखिएको थियो, त्यो गरेर देखाएको बताए। 'नयाँ ट्यालेन्ट। जुन पोटेन्सिएल हामीले उसमा देखेका थियौं। यो भन्दा अगाडि यु-१९ मा पनि उसले राम्रो गरेको थियो। पोटेन्सियलको हिसाबले हामीले उसलाई सिनियर टीममा मौका दिएको हो। आइ थिङ्क हि इज इन राइट ट्रयाक,' ज्ञानेन्द्रले भने।

'आत्मविश्वास भएर यसरी नै खेल्यो भने हाम्रो लागि अर्को राम्रो अलराउण्डर साबित हुन सक्छ।' 

दीपेन्द्रले केन्याविरुद्ध दोस्रो खेलमा ६६ बल खेल्दै ८ चौका र एक छक्कासमेत प्रहार गरे। नेपाली इनिङ्ग्समा दीपेन्द्रले कप्तान ज्ञानेन्द्रसँगै सबैभन्दा धेरै बाउण्ड्री प्रहार गरे। दुवैले ८ चौका र एक छक्का प्रहार गरेका थिए।

छक्का/चौका प्रहार बारे सोध्दा दीपेन्द्रको प्रतिक्रिया यस्तो थियो, 'प्रेसर रिलिज गर्नका लागि चौका प्रहार गरेँ।'

वास्तवमै दीपेन्द्रको उक्त प्रदर्शन निकै लोभलाग्दा थियो। आउट भएपछि पनि उनलाई दर्शकले स्ट्याण्डिङ ओभेयसनबाट प्रशंसा गरे।
शनिबार पहिलो खेल भएका कारण केही दबाब भएपनि दोस्रो खेलमा त्यस्तो नभएको समेत उनले बताए। 'किनकि मसँग क्रिजमा कप्तान हुनुहुन्थ्यो र उहाँसँग सल्लाह गर्दै ब्याटिङ गरिरहेको थिएँ।'





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell