PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​प्रतिनिधि सभा २३५, राष्ट्रिय सभा, प्रदेश सभा ६५ सदस्यीय बनाउने सहमति



पहिलोपोस्ट-
काठमाडौँ : संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्तगको उपसमितिले प्रतिनिधि सभा २ सय ३५, राष्ट्रिय सभा ६५ तथा प्रदेश सभा ३५ सदस्य बनाउने प्रारम्भिक सहमति जुटाएको छ। लक्ष्मणलाल कर्ण संयोजक रहेको उपसमितिले ब्यवस्थापिका अङ्गको स्वरुप निर्धारण विषयमा सहमति कायम गरेको हो।

सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्षता उपराष्ट्रपतिले गर्नेछन्। अर्थात् राष्ट्रिय सभाले अध्यक्ष चुनेको ब्यक्ति स्वत:उपराष्ट्रपति हुनेछन्। त्यस्तै राष्ट्रिय सभामा निर्वाचनबाट छुटेका समुदायको प्रतिनिधित्व गराइने छ भने राष्ट्रिय ख्याति प्राप्त १० जना रहनेछन्। यद्यपि प्रदेशको संख्या यकिन भएपछि बाँकी संख्याको हिसाब मिल्ने संयोजक कर्णले जानकारी दिए।

त्यस्तै समितिले प्रतिनिधि सभामा १ सय १८ जना प्रत्यक्ष निर्वाचित र १ सय १७ जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने सहमति जुटाएको छ। दलहरुबिच विगतमा प्रतिनिधि सभामा २ सय ४५ वा १ सय ५१ कति सदस्य बनाउने भन्ने विवाद थियो।

प्रदेशमा भने एकल सभा रहने र ३५ सदस्यीय हुने सहमति जुटेको छ। प्रदेशमा पनि १८ जना प्रत्यक्ष र १७ जना समानुपातिक निर्वाचनबाट चयन गर्ने सहमति भएको उपसमिति संयोजक कर्णले बताए। प्रदेश सभाको संख्याका विषयमा दलहरु बिच पहिलो संविधानसभाका दौरान नै सहमति जुटेको थियो।

संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले यसअघि नै केन्द्रमा दुई तथा प्रदेशमा एक सदनात्मक ब्यवस्था बनाउने सहमति जुटाएको थियो।

त्यस्तै समितिले सांसद बन्न २५ वर्ष उमेर तोकेको छ। त्यस्तै प्रदेश सभाको सभामुख हुन ३० वर्ष तथा प्रतिनिधिसभाको सभामुख हुन ३५ वर्ष उमेर पुगेको हुनुपर्ने ब्यवस्था गरेको छ। राष्ट्रियसभाको अध्यक्ष हुन भने ३५ वर्ष उमेर तोकिएको छ। सभामुख र उपसभामुख मध्ये एक महिला हुनेमा पनि सहमति जुटेको छ।

यद्यपि उपसमितिको सहमति अब राजनीतिक संवाद तथा सहमति समितिमा छलफल पछि मात्र टुङ्गो लाग्ने छ।

उपसमितिमा सभासद्हरु अर्जुन नरसिंह केसी, केशव प्रसाद बडाल, डा डिम्पलकुमारी झा, दिलनाथ गिरी, प्रेमबहादुर सिंह, लक्ष्मण राजवंशी, लक्ष्मणलाल कर्ण र शिवकुमार मण्डल केवट सदस्य रहेका छन्। उससमितिले राज्यको शासकिय स्वरुप र पुर्नसंरचना बाहेकका विषयमा विगतको संविधानसभा अन्तर्गतको समितिमा भइका असहमतिको टुङ्गो लगाउने जिम्मा पाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell