Sep 27, 2020 | ११ असोज २०७७

कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु

किशोर नेपाल/पहिलोपोस्ट

सुदिप्ती आफनो मिडियाको सम्पादकीय नीतिमा सामान्य परिवर्तनका बारेमा सोच्दैथिइ। डिजिटल मिडियाको नाममा बढदो बेथिति उसलाई मन परेको थिएन। सरकारले डिजिटल मिडियाको नीतिका नाउँमा जे निकालेको थियो, त्यो नीति थिएन। डिजिटल मिडियाको स्वतन्त्रतालाई यसको प्रारम्भिक चरणमा नै संस्थागत नगर्ने हो भने यसको अवस्था बिथोलिने पक्कै छ। सुदिप्तीले आफना सबै सहयोगीहरुलाई यो बताइसकेकी थिइ। कनिकाले भनेकी थिइ, ‘नीतिको सम्बन्धमा सुदिप्तीले भनेका कुरा सही छन्। तर, हामीले पनि रिपोर्टिंग गर्दा मिडियाको सार्वभौम चरित्रको महत्वलाई ध्यान दिनु पर्दछ। मेरो लागि रिपोर्टर बन्नु जागीर खानु होइन। हामी अहिले सुदिप्तीसँग काम गर्ने कसैका लागि पनि यो जागीर होइन। साथीहरुले के भन्छन्, मलाई थाहf छैन। मैले बुझेको यत्ति नै हो।’

कनिकाले पुलिस चिफको विवाद र कान्तिपुरमा उडेको मेलम्ची धूलोमाथि भर्खरै रिपोर्टिंग सिध्याएकी थिइ। धूलोमाथिको उसको रिपोर्टिंगलाई धूलैले छोपी दियो। धूलोका विरुध्द अभियान चलाउने हेल्थवाला कोही भेटिएनन्। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा प्रस्तुत गर्दै आएको मेलम्ची प्रोजेक्टबाट सर्वसाधारणले राखेको अपेक्षा पानी मात्रै भए पनि प्रोजेक्ट संचालकहरुको अपेक्षा अलि बढी नै थियो। योजना समयमा सकियो भने सरकारले तक्मा लगाइदिने त पक्का थियो। तर, देश लोकतान्त्रिक गणतन्त्रमा गै सकेपछि त्यस्तो तक्माको कुनै महत्व थिएन। त्यो तक्मा लाउनु भन्दा मह काढेको हात लपक्क चाटने मौका पाउनु ठूलो कुरा थियो। जसले मह काढछ उसले हात चाट्छ भन्ने उखान चर्चित भएको देशमा यो अस्वाभाविक पनि मानिदैन थियो।

पुलिस विवादको न्यायिक रिपोर्टिङ कनिकाले इन्जोय गर्न सकिन। न्यायालयको फैसला क्लियर थिएन, गडबड थियो। फैसलामा एउटालाई नदिनु भनेर स्पष्ट भनेको थियो भने अर्कालाई दिनु भनेर स्पष्ट भनेको थिएन। एउटाले पाउनुपर्ने भो भनेर ज-जसले भने तिनका कुरा हावादारी थिए। अदालतका न्यायाधीशहरुले सबैलाई खुशी तुल्याउने मनसाय राखेर सबैलाई दुःखी तुल्याएका थिए। ‘देशमा सबभन्दा ठूलो आधिकारिकता भएको संस्था सर्वोच्च अदालत हो, यसले सबैलाई ठीक गर्न सक्छ’ भन्ने बेतालको र अनावश्यक भ्रममा रमाइरहेको देखियो न्यायमूर्तिहरु। सबै कुरा सर्वोच्चले ठीक गर्नसक्ने भए अहिलेसम्म किन यो हविगत हुन्थ्यो नेपालको?

यस्तै सोच्दै थिइ कनिका कि उसको मोवाइल बज्यो। कल चार्लीको थियो। चार्लीसँगको उसको अफेयर्स टुटेपनि सम्बन्ध स्वाभाविक थियो। उनीहरु कहिलेकहीं भेटथे र कफी इन्जोय गर्दथे। चार्ली कनिकासँग भेटन चाहन्थ्यो। निकै दिनदेखि ऊ कफी पसल गएकी थिइन। उसले सोचेकी थिइ, चार्लीले त्यहीं बोलाउँछ होला। तर होइन। चार्लीले उसलाई बोलायो – नयाँ बानेश्वर। त्यहाँ संसद भवन अगाडिको ‘आकाश भैरव’ कफी पसलमा चार्ली कनिकालाई पर्खिरहेको थियो।

कनिका समयमा नै पुगी आकाश भैरव। एउटा नेपाल एयरलायन्सले आकाश भैरवलाई व्राण्ड बनाएको उसलाइ थाहा थियो। अर्को, आकाश भैरव नामको कफी पसलमा ऊ अहिले छिर्दै थिइ। आकाश भैरवको ढोकामा उभिएको थियो चार्ली। उसले कनिकाको स्वागत गर्योन। उसले त्यहाँ वरपर उभिएका कामदारहरुसँग कनिकाको परिचय गरायो। त्यसपछि, सम्मानका साथ उसलाई एउटा टेबलमा बसायो। 

‘आकाश भैरव कफीशप’ चार्लीको ड्रीम प्रोजेक्ट थियो। कनिकासँग सम्बन्ध भएपछि उसले ‘कनिका‘ज कफी’ भनेर खोल्न चाहेको थियो। त्यतिखेर उसँग पैसा थिएन। अहिले पैसा छ, तर जसको नाममा स्टोर खोल्ने कल्पना थियो त्यो नाम छैन। चार्लीको भावनात्मक कुरा सुनेपछि कनिकाले तत्काल कुनै प्रतिक्रिया दिइन। केहीबेर पछि भनी, ‘हामीले समयमा नै आ–आफनो बाटो समात्यौं। त्यही राम्रो भयो। तिमी मेरो नाममा अल्झिन परेन। मैले तिम्रो कफी पसलको साइनवोर्ड भएर घाम पानी शीत र तुषारो खप्नु पनि परेन ।’

यति बोलेर हाँसी कनिका। त्यसपछि क्यारामेल केकको एउटा टुक्रा मुखमा हाली। कफी सुरुप्प पारी र सीटबाट उठी।

चार्ली केही बोल्न सकेन। उसको मनमा गहिरो खिन्नता थियो। ऊ कनिकासँग बिताएको रमाइलो समयलाई सम्झिइरहेको थियो। यतिबेला उसलाई लागिरहेको थियो, कनिकासँग सम्बन्धको समाप्ति उसको जीवनको सबभन्दा ठूलो भूल र असफलता थियो। 

कनिकामा त्यस्तो कुनै मोह थिएन। चार्ली अब उसको सामान्य चिनजानको साथीमात्र थियो। कनिकाले चार्लीसँग बिताएका ती सबै क्षण र अवसरहरु बिर्सिइ सकेकी थिइ। उसको मनमा कुनै प्रभाव बाँकी थिएन त्यसको। रिपोर्टिंगमा लागेपछि कनिका रुपान्तरित भै सकेको थियो। ऊ यतिबेला स्थानीय चुनावको रिपोर्टिंगमा जाने मूड बनाइरहेकी थिइ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा

किन डराएका छन् देशका पत्रकार?


ट्रेन्डिङ पोस्ट

Ncell