PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विभेदको कथा 'बुख्याँचा मन'



स्वेच्छा राउत

विभेदको कथा 'बुख्याँचा मन'

काठमाडौं: छुवाछूत कुरीति हो, यो चेतना आजको युग बाँचिरहेका प्राय: सबैमा छ। तर छुवाछूतजस्तो कुरीति अझै नकार्न नसक्नेको छुट्टै झुण्ड पनि यही समाजमा छ। हाम्रो सामाजिक संरचनाले अझै पनि भएको चेतनालाई व्यवहारमा उतार्न दिएको छैन, यो तितो सत्य हो। र यही विषयलाई प्रष्ट रुपमा प्रस्तुत गरेको छ नाटक 'बुख्याँचा मन'ले।

राज शाहको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको नाटकले समाजमा जरा गाडेर रहेको जातीय भेदभावलाई मुख्य विषय बनाएको छ। जातभात र जातियतासँग जोडिएर सिर्जना हुने सामाजिक द्वन्द्वको कथा बुख्याँचा मनको केन्द्र हो। दुई प्रतिनिधि पात्र वीरकाजी र धने। यी पात्रले प्रतिनिधित्व गर्छन् जातभात, छुवाछुत हुनुहुन्न भन्ने नाराबीच परिवर्तन हुन नसकेको सोचको, अन्त्य हुन नसकेको कुरीतिमा योगदान पुऱ्याउने पात्रको।

युवावस्थामा रहँदा आफ्नो ज्यान बचाइदिने धने (कथित तल्लो जात) को साथीलाई ज्यान दिन तयार रहन्छ वीरकाजी (विष्ट)। तर जब धनेको छोरा बीनयको प्रेममा वीरकाजीको छोरी सीमा पर्छे तब वीरकाजीले उनीहरुको सम्बन्ध स्विकार्न सक्दैन। मित्रतामा सीमित सम्बन्धमा जातीय भेदभाव थिएन। वीरकाजीको विवाहमा बाजा बजाउने र लुगा सिलाउने धन र धनेको विवाहमा नाँच्ने वीरकाजी। गाउँमा दुईको मित्रता उदाहरणीय बन्यो तर जब बीनय र सीमा घरबाट भागे तब वीरेले धनेप्रतिको सम्मान गुमायो। किनकी छोरी कथित तल्लो जातको केटासँग भाग्नुले उनीहरुको विष्ट खानदानको इज्जतमा प्रश्न उठ्ने वातावरण सिर्जना गरेको थियो।

बीनय र सीमाको सम्बन्ध परिवारले नस्विकार्नुले उनीहरुलाई आत्महत्याको मोडमा पुर्‍याउँछ। नाटकले यो घटनामार्फत जातीयता र भेदभावले निम्त्याउने सामाजिक हिंसा संकेत गर्छ।

नाटकमा प्रयोग गाउँले परिवेशले घट्ने घटनालाई जीवन्त बनाउँछ किनकी सहरी क्षेत्रमा प्रविधि, चेतना र शिक्षाको असरले भेदभावलाई केही हदसम्म कम गरेको यथार्थ नकार्न सकिन्न। पश्चिम नेपालको भाषा लवज, चल्तिमा रहेको सरेहजस्ता प्रस्तुतिले कथाको पृष्ठभूमिलाई साथ दिएको छ।

नाटकमार्फत सामाजिक सुधारको नारा उठानको उदाहरण हो 'बुख्याँचा मन'। परिवर्तनको सन्देश बोकेको नाटकले भेदभाव विरुद्ध बोल्न नसक्ने हामी र हाम्रो समाजलाई बुख्याँचाको संज्ञा दिएको छ। समग्रमा मानव व्यवहार र त्यो व्यवहारका कारण सिर्जित सामाजिक संरचनामाथि व्यङ्ग्य गर्छ नाटकले।


नाटकमा विषय प्रस्तुतिको केही पक्ष कमजोर लाग्न सक्छ। जस्तै: संवादमार्फत दर्शकलाई कथा बुझाउने कोसिस गर्नु। केही दृश्यमा आवश्यक र उपलब्ध हुन सक्ने (रक्सीको गिलास, कलमा धागो) जस्ता सामानहरुको प्रयोग नहुनु। हरेक प्लटमा एउटै सेटिङ दोहोरिनु।

तर कमजोरीहरुको बीच उठाइएको विषय र मानव भावना र सम्बन्धसँग जोडिएका संवाद बलियो लाग्छ जसले प्रस्तुतिलाई न्याय गर्छ।

सर्वनाममा चलिरहेको 'बुख्याँचा मन'को मञ्चन एक साता थपिएको छ। जातीय विभेदमा मानवीयताको उठान गरिएको नाटक दर्शकहरुको अत्यधिक चाप र मागका कारण मिति थपिएको निर्देशक राज शाहले बताए।

नाटकमा आदित्य शर्मा, आरोही शर्मा, सुदर्शन अर्याल, प्रकाश के.सी.,शर्मीला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेद लौरो, नविन चन्द्र अर्याल, विवेक आर्चाय, सुशील गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको समेत अभिनय रहेको छ। 


नाटक चैत्र १९ गतेसम्म बिहीबारबाहेक हरेक दिन बेलुका ५ बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell