PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एसिसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाली टोलीको वास्तविक परीक्षा



गोविन्दराज नेपाल

एसिसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाली टोलीको वास्तविक परीक्षा

काठमाडौं : चार वर्षअघि सिंगापुरमा भएको एसिसी इमर्जिङ कपमा नेपाल पाकिस्तान यू-२३ टिमसँग समूह चरणमा ९ विकेटले पराजित भएको थियो। नेपालका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ७८ रन बनाएका थिए। यस्तै पाकिस्तानका बाबर अजमले शतक प्रहार गरेका थिए। पाकिस्तानको एक मात्र विकेट नेपालका बसन्त रेग्मीको नाममा रहेको थियो।

अहिले फेरि नेपाल र पाकिस्तानको यू-२३ टिम बंगलादेशमा इमर्जिङ कपमै भिड्दा यी तीनै खेलाडीको उपस्थिति हुनेछैन। तर उक्त खेलमा नटआउट ४१ रन बनाएका हम्मद अजमसहित मोहम्मद रिजवानको कप्तानीमा रहेको पाकिस्तानको यू-२३ टीमसँग ज्ञानेन्द्र मल्लको कप्तानी रहेको नेपाली टोलीले सोमबार पहिलो खेल खेल्दैछ।

यसपटक नियमित कप्तान पारस खड्कासहित बलरहरु बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामीको अनुपस्थितिमा नेपालको टोलीमा युवा खेलाडीको बाहुल्य रहेको छ। यिनै खेलाडीहरु सम्मिलित नेपालले सोमबार बंगलादेशको कक्स बजारस्थित शेख कमल इन्टरनेशनल स्टेडियममा पाकिस्तानसँग खेल्दा नेपालका केही खेलाडीले डेब्यु समेत गर्न सक्नेछन्।

नेपाली टोलीमा यसपटक तीन नयाँ अनुहार छन् भने चार खेलाडीले डेब्यु गर्न बाँकी छ। स्पिनर सुशन भारी यसअगाडि टिममा परे पनि खेल्न पाएका थिएनन् भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेख र दीलिप नाथ तथा फास्ट बलर दीपेश श्रेष्ठले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन्। यसबाहेक दीपेन्द्र सिंह ऐरी र सुनिल धमला पनि डब्लुसिएल अन्तर्गत गत फागुनमा घरेलु मैदानमा केन्याविरुद्ध डेब्यु गरेका थिए।

यता टेस्ट प्लेइङ नेशन पाकिस्तानको यू-२३ टिममा कप्तान रिजवानसहित चार खेलाडी २३ वर्षमाथिका छन्। जसमा हरिस सोहेल, हम्मद अजम र बिलाल असिफ छन्। रिजवानले पाकिस्तानका लागि एक टेस्ट २५ वान डे तथा १० टी २० अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। यस्तै सोहेलले पनि पाकिस्तानबाट २२ वान डे तथा ४ टी २० खेलिसकेका छन्। अजमले पनि ११ वान डे र ५ टी २० खेलेका छन्।

रिजवानले गत जनवरीमा अस्ट्रेलियाविरुद्ध अन्तिम पटक वान डे खेलेका थिए भने अन्य तीन खेलाडीले २०१५ यता पाकिस्तानका लागि वान खेलेका छैनन्। यू २३ टीम भए पनि पाकिस्तानी टोलीमा अनुभवी खेलाडीको साथ छ।

नेपाली टोलीमा पनि पछिल्लो पटक इमर्जिङ कप खेलेका कप्तान ज्ञानेन्द्रसहित ५ खेलाडी छन्।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले यसपटक युवा खेलाडीहरुलाई चान्स दिएको बताउँदै बंगलादेशमा सकेसम्म राम्रो क्रिकेट खेल्ने र ठूला टिमसँग खेल्दा एक्सपोजर मिल्ने बताएका छन्।

बंगलादेश प्रस्थान गर्नुअघि नेपाली टिमको कम्बिनेशन कस्तो हुन्छ भन्ने प्रश्नमा टमाटाले विकेट हेरेर निर्णय लिने बताएका थिए। 'स्लो विकेट छ भने हामी स्पिन अट्याकमा जाने हो, विकेट फास्ट भयो भने तीन मिडियम पेस बलर लिएर खेल्नेछौं,' उनले भनेका थिए। फास्ट विकेट भएको खण्डमा दीपेशले डेब्यु गर्ने सम्भावना रहेको उनले बताए। दीपेशलाई सोमपालको स्थानमा नेपाली टोलीमा राखिएको हो।

प्रशिक्षक टमाटाले आसिफ र दीलिप नाथले पनि डेब्यु गर्न सक्ने सम्भावनालई नकारेनन्, 'भविष्यका लागि पनि टिम तयार पार्नका लागि उनीहरुलाई टिममा राखेका हौं। त्यसैले उनीहरुले आवश्यक परेको बेला खेल्न सक्छन्।' 

टमाटाले पाकिस्तान बंगलादेश जस्त टोलीसँग खेल्नु चुनौती भए पनि आफूहरु पूर्ण रुपमा खेल्न तयार रहेको प्रतिक्रिया दिएका थिए। 'हामी उमेरका कमी हौंला, अनुभव कमी होला तर हाम्रो खेलाडीमा ट्यालेन्ट छ,' उनले उत्साहित हुँदै भने।


नेपालको समूहमा पाकिस्तानसँगै आयोजक बंगलादेश यू-२३ र हङकङ रहेको छ। नेपालले बंगलादेशसँग मंगलबार खेल्नेछ भने हङकङसँग बिहीबार खेल्नेछ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावकर, विनोद भण्डारी, सागर पुन, अभिनाश कर्ण, सन्दीप लामिछाने, मेहबुब आलम, आरिफ शेख, दीपेन्द्र सिंह एरी, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ, आसिफ शेख, दीलिप नाथ
 
पाकिस्तानी टोली
मोहम्मद रिजवान (कप्तान) हरिस सोहेल, हम्मद अजम, बिलाल असिफ, इमाम उल हक, जहिद अली, इमरान बट, खुशदिल शाह, हुसेन तलाट, उसामा मिर, जफर गोहर, समिन गुल, अहमेद बसिर, गुलाम मुदासार, अमद बट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell