PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

लप्पन छप्पन - उही सौगात, उही दयाहाङ अनि उही लुट्ने कथा तर देशको हैन विदेशी बैँकको



स्वेच्छा राउत

लप्पन छप्पन - उही सौगात, उही दयाहाङ अनि उही लुट्ने कथा तर देशको हैन विदेशी बैँकको

सस्पेन्सले कथालाई रोमाञ्चक बनाउँछ। अब के होला भन्ने कौतुहलताले बाँधेर राख्छ। सस्पेन्सले बगिरहेको कथालाई क्लाइमेक्समा पुर्‍याउँछ र कथाले नयाँ मोड लिन्छ। सस्पेन्स नै सस्पेन्सको कथा हो फिल्म 'लप्पन छप्पन'। तर फिल्ममा क्लाइमेक्स खोई भन्ने प्रश्नको जवाफ दर्शकले पाउँदैनन्। कथाले अरु कथाको सस्पेन्सले जस्तो फिल्मलाई चुलीमा पुर्‍याउँदैन। एउटै विषय तर धेरै पात्रको वरिपरी घुमाई राख्छ।

पात्र छरपस्ट छन् अनि कथा प्रष्ट छ: पूर्व गृहमन्त्रीले स्विस बैंकमा लुकाएर राखेको कालो धन लुट्ने। जसलाई त्यति धेरै घुमाएर प्रस्तुत गर्न आवश्यक थिएन। सस्पेन्स थ्रिलर बनाउनकै लागि घुमाइएको हो भने पटकथालाई ध्यानमा राखेको भए शायद फिल्मको मुख्य द्वन्द्व के हो त भन्ने अन्यौल सिर्जना हुने थिएन।

युरोपमा बाका (सौगात मल्ल) र उनकी प्रेमिका बेबी (वर्षा शिवाकोटी), नेपालबाट चमेरो (अर्पण थापा) स्विस बैंकबाट पैसा निकाल्ने होडमा हुन्छन्। कतैबाट टंके (दयाहाङ राई) चमेरोको लागि काम गर्न पुग्छ। त्यस्तै बाकाको लागि काम गर्न बेबीमार्फत् जोडिन्छन् गुड्डु (प्रकाशजंग शाह) र रेहान (सिद खरेल)। यिनै पात्र बीचकै मानसिक द्वन्द्व हो 'लप्पन छप्पन'।

फिल्म ‘लूट’ र ‘लूट सिक्वेल’ दुवैमा सौगात मल्ल र दयाहाङ राईको महत्वपूर्ण भूमिका रहेको थियो। ती दुई फिल्मको विषय पैसाको वरिपरी घुम्छ। ‘लूट टू’को चर्चाबीच ‘लप्पन छप्पन’मा तिनै दुई पात्र देखिए। यो फिल्ममा पनि ती पात्रहरु पैसाकै पछाडि दौडिएका छन्। ‘लूट’को कथा वा शैलीबाट यो फिल्म प्रभावित छ भन्ने प्रश्नमा निर्देशक मुकुन्द भट्टले भनेका थिए, 'घटनाहरु एउटै प्रकृतिका घट्छन् तर कथा एउटै हुँदैन।'

भट्टले फिल्म ‘लूट’ प्रभावित होइन त भने तर फिल्ममा नयाँ कथा पनि छैन। ‘लूट’मा पात्रहरु राष्ट्रिय बैंक लुट्न काठमाडौंको गल्लीमा कुद्छन्, लप्पन छप्पनमा पात्रहरु अन्तराष्ट्रिय बैंक लुट्न युरोपका शहरहरुमा कुद्छन्।

कथा, पटकथा, द्वन्द्वमा प्रश्न गर्ने ठाउँ रहे पनि पात्रहरुको अभिनयले दर्शकलाई निराश पार्दैन। सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा जस्ता स्थापित कलाकारको मात्र नभएर वर्षा शिवाकोटी, नव अभिनेता सिद खरेल र प्रकाशजंग शाहको अभिनयमा निखार देखिन्छ। ‘लप्पन छप्पन’ले प्रकाशजंगलाई नेपाली फिल्म इन्डस्ट्रीमा आशा लाग्दा कलाकारको रुपमा उभ्याएको छ।

पटकथा लेखनमा अध्ययनको कमीको असर पात्र प्रस्तुतिमा पनि पक्कै परेको छ। फिल्म प्रचारका क्रममा फिल्ममा सौगात मल्लले प्रयोग गरेको सुङ्गुरको मुकुट र कुकुरको दाँतको चर्चा भयो। तर ती सामानको औचित्य के? अनि फिल्ममा त्यसको आवश्यकता के? डनको रुपमा प्रस्तुत हुँदा सामान्य देखिने सौगातलाई मुकुट र दाँतले भद्दा देखाएको छ। यसको आवश्यकता कथामा महसुस हुँदैन।

त्यस्तै अर्पण थापालाई तेस्रो लिङ्गीको भूमिका दिइएको छ। उनी पुरुष हुन् तर उनको हाउभाउ, लवाई, बोलाई महिलाको जस्तो छ। नयाँ प्रयोगका लागि उनलाई फरक देखाउनु राम्रो प्रयास हो। तर पात्र बारे अध्ययन नहुनाले पुन: पटकथा लेखकसमेत रहेका फिल्मकै कलाकार प्रकाश चुक्छन्। महिलाजस्तो बन्न देखिन खोज्ने चमेरोलाई पात्रहरुले दाइ सम्बोधन गर्छन्। यथार्थमा अर्पण थापाजस्ता पात्र आफूलाई दिदी भनेको रुचाउँछन्। उनीहरु आफ्नो पहिचान महिलाको बनाउन चाहन्छन्।

फिल्ममा देखिएका विदेशी महिला कलाकारहरु ग्लामरकै लागि मात्र राखिएका हुन्। फिल्ममा उनीहरुलाई एडजस्ट गराइएको छ। न अभिनय न भूमिका- विदेशी कलाकार छन् भन्नु प्रचारको माध्यम मात्र हो।

फिल्ममा प्रविधि, लोकेशन र सेटिङको पक्ष सशक्त मान्न सकिन्छ। मुकुन्द भट्टले आफूलाई कमजोर निर्देशक साबित भने पक्कै गरेका छैनन्। समग्रमा निर्माण पक्षले लगानीमा कन्जुस्याईं नगर्नाले नै फिल्म 'नराम्रो' भन्न नसकिने बन्यो।

सिक्वेलका लागि ठाउँ छोडेको हो वा फिल्मको कथाको अन्त्य दर्शक स्वयं गरुन् भनेर हो निर्देशकले ओपन इन्डिङ गरिदिएका छन्। दर्शकले आफ्नो तरिकाको इन्डिङ कल्पना गर्ने ठाउँ छ तर फिल्मले सिक्वेलको लागि ठाउँ छोडेको छ जस्तो भान भने हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell