PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अनमोलले भने: स्क्रिप्ट चित्त बुझेरै 'कृ'मा काम गर्न लागेको हुँ



स्वेच्छा राउत

अनमोलले भने: स्क्रिप्ट चित्त बुझेरै 'कृ'मा काम गर्न लागेको हुँ

काठमाडौं: सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्म 'कृ' चैत चार गतेबाट छायांकनका लागि फ्लोरमा निस्कने खबर सार्वजनिक भएको थियो। भदौ ८ गतेलाई रिलिज टार्गेट घोषणा गर्दै फिल्म युनिटले नै फिल्मको सुटिङ सुरु हुने बारे जानकारी दिएको हो। तर कारणबस् फिल्म चैत ४ मा फ्लोरमा उत्रन सकेन। अनमोलले स्क्रिप्ट चित्त नबुझाएको भन्दै खबर सार्वजनिक भयो। 

फिल्म निर्माता सुवास गिरीले अनमोलले कथामा चित्त नबुझाएको खबर गलत भएको दाबी गरेका छन्। पहिलोपोस्टसँग कुरा गर्दै सुवासले भने,'फिल्म चैत २५ बाट फ्लोरमा जान्छ। स्रोत नखुलाई लेखिएको समाचार गलत हुन सक्छ।' 

गिरीले फिल्मका लागि छायांकार रहेका पुरुषोत्तम प्रधान फिल्म राज्जा रानीको सुटिङका लागि व्यस्त भएका कारण कृको छायांकन ढिला हुने भएको बताए। भने,'पुरुषोत्तम जी १४ गते मात्र फर्कनु भएपछि हामीले उहाँलाई कामको प्रेसर नहोस् भन्ने चाहेका हौं।' 

निर्माता गिरीका अनुसार फिल्म सुटिङ ढिला भएपनि रिलिज डेट भने भदौ ८ नै रहने छ। 

के अनमोललाई फिल्मको स्क्रिप्ट मन नपरेकै हो त? 

पहिलोपोस्टसँग अनमोल केसीले भने,'कथा राम्रो होस् भनेर कथामाथि धेरै काम र अध्ययन गरेका हौं तर चित्त नै नबुझेको भने होइन।' 

उनले कथा मन परेकै कारण फिल्म गर्न तयार भएको समेत जानकारी दिए। 

फिल्मका लागि कथा सुरेन्द्र पौडेलले लेखेका हुन् भने पटकथा र संवादमा आशिष रेग्मी र प्रदिप भारद्वाजले काम गरेका छन्।

अनमोलले चैतको अन्तिम साताबाट सुरु हुने छायांकनमा २० दिन आफ्नो भूमिकाको पाटो खिचिने समेत पुष्टि गरेका छन्। 
फिल्म काठमाडौं, घान्द्रुक र कतारमा छायांकन हुने बताइएको छ। 

फिल्मको लागि नायिका रहेकी अदिती बुढाथोकी फिल्म युनिटको एक साता लामो वर्कसप सक्काएर केही साता अघि भारत फर्किएकी छिन्। 'मेरो पार्टको सुटिङ सक्किनु अघि १० दिन जतिमा उ इन्डियाबाट फर्कन्छ', अनमोलले बताए। 

निर्माता सुवास गिरीका अनुसार फिल्म रिलिज टार्गेट देश भित्र र बाहिरका लागि एउटै रहेको छ। त्यसैले छायाँकन ढिला भएपनि रिलिज तोकिएकै समयमा गर्नपर्ने चुनौती फिल्म पक्षलाई छ। गिरीले भने,'फिल्म अगस्ट १७ तारिख रिलिज हुने भएकाले हामीले त्यसको एक साता अगाडि नै फिल्म पठाउनु पर्छ।' 

कृमा अनमोल र अदिती बाहेक कर्मा र कामेश्वर चौरासियाको पनि अभिनय रहने जानकारी निर्माण युनिटले पहिलोपोस्टलाई दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell