काठमाडौं : फिल्म 'मनको बाँध'बाट नेपाली फिल्म इन्डस्ट्रीमा काम सुरु गरेका थिए गोपाल भुटानीले। फिल्म युनिटसँगै नेपाल आएका उनले २०३२ सालमा 'जीवनरेखा' फिल्ममा द्वन्द्व निर्देशन गरे र उनको पहिचान नै द्वन्द्व निर्देशकको रुपमा स्थापित भयो।
मुम्बईमा रहेर पनि कलाकारलाई स्टन्ट सिकाउने गरेका उनी भारत फर्किएनन्। नेपाली फिल्म इन्डस्ट्रीमै निरन्तर लागिरहे। त्यस बेला नेपाल सिने उद्योग भरखर विकसिसत हुने चरणमा थियो। न नाम न दाम, आखिर केको पछि लागेका थिए त भुटानी?
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सुनाउछन्, 'उनी भन्थे, नेपाली फिल्ममा काम गरेर धेरै पैसा कमाउँछु भन्ने त छैन तर आफ्नो नामको नागरिकता कमाउन पाए अरु केही चाहिन्न।'
भुटानीको ठूलो सपना थियो नेपाली नागरिक बन्ने। जन्म नेपाल, कर्म नेपालमै, भावनात्मक नाता नेपालीसँगै तर उनी आफू भने नेपाली भएनन्। कार्यकालभर सबैका लागि भारतीय मुलका नेपाली द्वन्द्व निर्देशक नै रहे। अङ्गीकृत नागरिकताको सपना देख्दादेख्दै सन् २०११ मा उनी समाचारको शीर्षक बने 'नेपाली नागरिकता नपाई गोपाल भुटानीले प्राण त्यागे'।
उनी उदाहरण भने पक्कै बनेका हुन्, जो भारत छोडेर नेपाल आए र निरन्तर फिल्मी दुनियाँमा रमाए। त्यो दुनियाँ जुन संघर्षको तल्लो खुड्किलोमै थियो। फिल्म बनाएर, खेलेर, फिल्ममा काम गरेर पैसा कमाउँछु भन्ने अवस्था थिएन। पर्दामा देखिनेहरुका लागि त सीमित दर्शकले चिन्नु नै ठूलो कुरा थियो। पर्दापछाडि काम गर्नो भुटानी जस्ता पात्र त त्यो अवसरबाट पनि वञ्चित हुन पुगे।
दार्जिलिङका तुलसी घिमिरे पनि भुटानी जस्तै पात्र हुन्, जो नेपाली भाषा र भूमिसँग जोडिए।
उनलाई सिमानाले छुट्याए पनि सिनेमाले नजिक बनायो। त्यसैले उनी नेपाली फिल्म इन्डस्ट्रीमा आफूलाई स्थापित गराउन सफल भए।
पहिलोपोस्टसँग कुरा गर्दै घिमिरे भन्छन्, 'आज नेपाली फिल्म इन्डस्ट्री जुन ठाउँमा छ, यो ठाउँ फिल्म निर्माता, निर्देशक, कलाकारदेखि दर्शकसम्मकै सपनाको ठाउँ हो। तर हामी अझै माथि जाने ठाउँ त बाँकी नै छ।'
घिमिरे आफू मात्र नेपाली फिल्मलाई तपस्या मानेर बसेनन्। उनले आफूसँगै जोडे विभिन्न उत्कृष्ट कहलिएका कलाकारहरु पनि। २०३४ सालमा फिल्म 'बाँसुरी' मार्फत भारतीय मुलकी अभिनेत्री रजनी शर्मालाई बाहिर ल्याए। रजनी अभिनित बलिउड फिल्म 'बालिका बधु' प्रदर्शन भएको र रजनी चर्चामा रहेको समयमा नेपाली फिल्ममा उनको अभिनय रहनुले निर्माण युनिट एवं दर्शकमा एक किसिमको उत्साह थपेको घिमिरे सुनाउँछन्। फिल्ममा रजनीसँगै अर्का भारतीय कलाकार थिए राकेश पाण्डे। उनले विभिन्न बलिउड अवार्ड समेत हासिल गरिसकेका थिए। पाण्डे अहिले पनि क्यारेक्टर आर्टिस्टको रुपमा काम गर्दै आएका छन्। उनीहरुको आफन्त वा चिनजानका कोहीलाई माध्यम बनाएर नेपाली फिल्ममा अभिनय गराइएको बताउछन्, घिमिरे।
भारतमा जमेका कलाकार किन नेपाल आए?
रजनी शर्मा र राकेश पाण्डेले नेपालदेखि भारतसम्मको प्लेन टिकट बाहेक केही पनि लिएनन्। जति साथ, सहयोग दिए सबै भावनात्मक रुपमा नजिक भएकै कारण दिएको तुलसी घिमिरेको दाबी छ। उनी, 'नेपाली फिल्म क्षेत्रको अवस्था सम्झने हो भने बलिउडका नामी कलाकारलाई उनीहरुले खोज्ने जति अमाउन्ट दिन सक्ने अवस्था नै थिएन।'
सम्बन्ध कायम राख्न र रहेको निकटताको आधारमा उनीहरुले काम गरिदिएको उनी बताउँछन्। 'सायद उनीहरुले पनि अवस्था बुझे र जे जति दियो त्यसैमा चित्त बुझाए,' घिमिरे अनुभव सुनाउँछन्।
रजनी शर्माले 'बाँसुरी' र प्रताप सुब्बाको निर्देशनमा बनेको फिल्म 'मसाल'मा काम गरिन्। राकेश पाण्डेले 'बाँसुरी'पछि अन्य नेपाली फिल्ममा काम त गरेनन् तर विदेशी मुलका कलाकारले नेपाली फिल्ममा काम गर्ने क्रम भने रोकिएन।
'मैले भारतबाट ती कलाकार ल्याएँ, केही ज्ञान ल्याएँ, सपना ल्याएँ। सपना पूरा गर्न लागिपरेँ,' निर्देशक घिमिरेलाई पछुतो भने छैन, 'त्यसको बदलामा रेकर्डस र अवार्डहरु पाएँ। नेपाली फिल्ममा लागेर गुमाएको त केही पनि छैन।'
पाकिस्तानी गायिका एवं अभिनेत्री सलमा आगा उदाहरणकी पात्र हुन् जसलाई भाषा र लवजको समस्या हुँदाहुँदै पनि नेपाली फिल्म 'हामी एक हौं' मा अभिनय गरिन्। बंगलादेश र नेपालको ज्वाइन्ट भेन्चरमा निर्माण गरिएको उक्त फिल्मपछि आगाले अन्य फिल्ममा काम गरिनन्।
विदेशी भूमिबाट आएर निरन्तर नेपाली फिल्ममा काम गर्ने र नाम र दाम दुवै कमाउनेमा पर्छन्, भारतीय मुलका अभिनेत्रीहरु तृप्ति नाडकर र निरुता सिंह।
'गोदाम' नामक हिन्दी र 'चाँदनी सन्पित जा' नामक मराठी फिल्ममा काम गरेकी तृप्तिले निर्देशक शम्भु प्रधानको फिल्म 'सम्झना'बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। त्यसपछि उनले हिट कहलिएका नेपाली फिल्महरु 'कुसुमे रुमाल', 'कोसेली', 'साइनो', 'लाहुरे' आदिमा काम गरिन्। त्यस समयकी चर्चित नायिका हुन् तृप्ति। उनी हालसम्म पनि क्यारेक्टर आर्टिस्टको रुपमा नेपाली फिल्ममा सक्रिय छिन्।
तृप्तिलाई नेपाली फिल्म क्षेत्रको नजिक राख्ने श्रेय जान्छ निर्देशक शम्भु प्रधानलाई। प्रधानको पनि नेपाली फिल्म इन्डस्ट्रीको लागि योगदान उल्लेखनीय छ। उनी आफू दार्जिलिङका हुन् तर १९ नेपाली फिल्म निर्देशन गरेका उनले स्मरणीय फिल्महरु दिएका छन्। जसमध्ये 'सम्झना', 'बेहुली', 'स्वर्ग', 'सक्कली नक्कली', 'नेपाल प्यारो छ' आदि सफल फिल्म हुन्। २००२ पछि भारतमा व्यस्त उनले २०१४ मा फिल्म 'रंग बैजनी' मार्फत कमब्याक गरे तर फिल्म सफल हुन सकेन।
सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म 'दक्षिणा'बाट नेपाली फिल्ममा इन्ट्री गरेकी भारतीय मुलकी नेपालीभाषी नायिका हुन् निरुता सिंह। सुन्दर अनुहार र राम्रो नृत्य कलाका कारण निकै चर्चामा रहिन्। निर्देशक घिमिरे यसरी सम्झन्छन् उनलाई, 'नाम र दाम दुवै कमाएकी नायिका हुन् निरुता।'
निरुता सिंह हाल अभिनय छोडेर मुम्बईमा इन्टेरियर डिजाइनिङमा व्यावसायिक रुपमा व्यस्त छिन्।
सुनिल दत्त, माला सिंहा जस्ता भारतीय कलाकारलाई नेपाली फिल्ममा स्थान दिने अर्का फिल्मकर्मी हुन्, बिएस थापा। उनले २०२२ मा फिल्म 'माइतीघर'मा भारतीय मालालाई अभिनेत्रीको रुपमा भित्र्याए। 'धर्मपुत्र', 'धुली फूल', 'राम और श्याम' जस्ता बलिउड फिल्मकी अभिनेत्रीले सोही फिल्मका अभिनेता सिपी लोहनीसँग विवाह गरिन् तर फिल्म क्षेत्रलाई निरन्तरता दिइनन्।
अभिनेत्री एवं हास्य कलाकार बसुन्धरा भुसालका अनुसार नेपाली समाजमा कलाकारितामा महिलालाई स्विकार्न थालिएको धेरै भएको छैन। जसका कारण भारतीय मुलका महिला कलाकार धेरै नेपाली फिल्ममा देखिए। 'मेरै बुवा पनि मलाई अभिनेत्रीको रुपमा नस्वीकारी बित्नुभयो,' उनी महिला कलाकारको समस्या सुनाउँछिन्, 'मेरै समाजले मलाई जोकरको उपमा दियो।'
भुसालले भनेजस्तै नेपाली समाजले फिल्ममा काम गर्नुलाई तल्लो तहको काम ठान्नुले पनि नेपाली फिल्ममा भारतीय कलाकार राख्नुपर्ने अवस्था सिर्जना भएको हो। भन्छिन्, 'त्यो बेलामा फिल्ममै काम गर्छु भनेर लाग्ने परिपाटी बनेको थिएन।'
तर फिल्म क्षेत्र व्यावसायिक, मर्यादित बन्दै जाँदा र नेपाली समाजमा फिल्मकर्मीलाई हेर्ने दृष्टिकोण बदलिदै जाँदा भारतीय अभिनेत्री अनुबन्ध गर्ने क्रम कम भएको छ। तर विदेशी कलाकारलाई अभिनय गर्ने/ गराउने ट्रेन्ड भने बदलिएको छैन।
विदेशी कलाकार अनुबन्धन : पहिले बाध्यता अहिले प्रचारको माध्यम
र्माता आकाश अधिकारीले फिल्म 'काठमाडौं' निर्माण गरे। जसमा मुख्य पात्र पढ्नका लागि विदेश जान्छ र उसको विदेशी युवतीसँग प्रेम सम्बन्ध गाँसिन्छ। ती विदेशी युवतीको भूमिकामा देखिइन् अमेरिकी कलाकार रिया मर्फी। फिल्मका लागि खोलेको अनलाइन भ्याकेन्सी मार्फत उनलाई फिल्ममा अनुबन्धन गरेको निर्माता एवं कलाकार समेत रहेका आकाश अधिकारीको दाबी छ।
'निकटता वा चिनेको भरमा उनलाई फिल्ममा खेलाएको होइन,' उनले प्रस्ट पारे, 'कथाले मागे अनुसारको पात्र खोज्यौं खोजेको मध्ये उत्कृष्ट फिल्मका लागि रोज्यौं।'
मर्फी अमेरिकी वेब सिरिजकी कलाकार हुन्। उनलाई फिल्ममा अनुबन्धन गर्न नेपाली अभिनेत्रीहरुलाई भन्दा गाह्रो भएको बताउँछन् अधिकारी।
'उनीहरु निकै प्रफेशनल हुन्छन्। उताबाट हिँड्दादेखिको इन्स्योरेन्स गरिदिनुपर्छ। पारिश्रमिक पनि महँगो', उनको अनुभव छ, 'कथामा आवश्यक छ भने विदेशी कलाकार राख्नुपर्छ। ग्लामर वा प्रचारका लागि ठिक होइन।'
मुख्य नायिका युरोपियन कलाकार भन्ने प्रचार सहित फिल्म 'नमस्ते नेपाल'को प्रचार भयो। राजु शाह निर्देशित फिल्ममा बेल्जियमकी डीभा आनाको मुख्य भूमिका थियो। नायक सबिन श्रेष्ठ भन्छन्, 'फिल्मको स्क्रिप्टले नै विदेशी पात्र खोजेको हो। त्यसैले होला भाषा नमिले पनि सँगै काम गर्न धेरै गाह्रो भने भएन।'
विदेशी कलाकार फिल्ममा देखिएपछि भाषाको समस्या, लवजमा र अभिनयमा थोरै असर पर्छ नै तर पनि ग्लामर र प्रचारका लागि विदेशी कलाकारको नाम फिल्ममा राख्ने गरेको पाइन्छ। हलमा लागिरहेको फिल्म ‘लप्पनछप्पन’मा विदेशी कलाकार छन् भन्ने प्रचारले केही हदको हाइप लिएको थियो तर फिल्ममा विदेशी कलाकारको महत्वपूर्ण भूमिका भने छैन। जतिलाई देखाइएको छ उनीहरु राम्रो अभिनय स्कुलिङका होइनन् भन्ने प्रस्ट हुन्छ।
केही समयअघि फिल्म 'त्रिनेत्र'मा चर्चित भारतिय टेलिसिरियल 'कसौटी जिन्दगीकी'की अभिनेत्री श्वेता तिवारीलाई अभिनय गराइएको थियो। फिल्म युनिटले उनकै नामलाई प्रचारको माध्यम बनायो तर फिल्म फ्लप भयो।
विदेशी टेक्निसियन र कलाकारको नाम बिकाउने होडमा निर्माता रोज राणा पनि धोका खाए। फिल्म 'मेरो पैसा खोइ?' का लागि निर्देशक रहने भनिएको बलिउड निर्देशक विवेक शर्माको खुब चर्चा भयो। उनले जुही चावला, राजपाल यादब, सञ्जय मिश्रा लगायत भारतीय कलाकार पनि अनुबन्ध गर्ने खबर सार्वजनिक भयो।
'विदेशी निर्देशक हुन् राम्रो फिल्म बन्छ भनेर उत्साही थिए। सबैतिर हल्ला भयो तर उनलाई र विदेशी कलाकारको लागि भनेर दिइएको एडभान्स रकम समेत लिएर उनी भारत भागे,' पहिलोपोस्टसँग कुरा गर्दै राणाले भने। करिब २५ लाख रुपैयाँ विवेक शर्माले लिएको राणा दाबी गर्छन्।
'मेरो पैसा खोइ?' त नेपाली कास्ट सहित राणाकै निर्देशनमा फ्लोरमा उत्रिएको छ। फिल्ममा खेल्ने भनिएको भारतीय कलाकार राजपाल यादब भने फिल्म 'करोडपति'मा भादगाउँले टोपी र दौरा सुरुवालमा देखिँदैछन्। फ्लोरमा रहेको फिल्म करोडपतिमा उनी अभिनेता आर्यन अधिकारीको मामाको रुपमा देखिँदैछन्।
हालै फिल्म 'समर लभ' घोषणा भयो। फिल्मको लागि नायिका चयन भइन् भारतीय मुलकी रेवती क्षेत्री। फिल्म घोषणा समारोहमा रेवती बोलिन्, 'नेपाल मेरो मावली घर हो। र यहाँको फिल्म खेल्न पाउनु मेरो लागि खुसीको कुरा।' उनको बोलीमा हिन्दी लवज प्रस्ट सुनिन्छ। उनी नेपाली भाषा सहजै बोल्न सक्दिनन्।
फिल्म उपन्यास समर लभको कथामा आधारित छ। उपन्यासका लेखक सुबिन भट्टराईलाई, रेवती क्षेत्रीको भाषा र लवज फिल्मको साया पात्रको भूमिकामा न्याय गर्न सक्ला? भन्ने प्रश्नमा उनको जवाफ रह्यो, 'उनको लवज सुहाउँदो भएन भने डबिङ पनि गर्न सकिन्छ।'
प्रविधिले भाषा र लवजलाई चाहिएअनुरुप बनाउन सहज गरिदिएको छ। तर प्रश्न फिल्मको कथाले वा फिल्ममा सिर्जना हुने अवस्थाले विदेशी कलाकारको माग गर्छ वा गर्दैन भन्ने उठ्छ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई भन्छन्, ’कला र कलाकारिताको सीमा हुँदैन। त्यसैले कलाकारलाई आप्रवासीको संज्ञा दिनु ठिक होइन।'
तर विदेशी कलाकारको सान्दर्भिकता फिल्मका कति छ भन्ने प्रश्न उठ्छ। राई नै भन्छन्, 'आजकाल विदेशी कलाकार मसला वा पब्लिसिटी स्टन्टको रुपमा प्रयोग भइरहेका छन्।' (फोटो : सम्बन्धित कलाकारको फेसबुकबाट)