PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

आइपीएल भर्सेस डीपीएल



गोविन्दराज नेपाल

आइपीएल भर्सेस डीपीएल

काठमाडौं : ग्लामर, मनी, एक्साइटमेन्टले भरिपूर्ण इण्डियन प्रिमयर लिग (आइपीएल) को दशौँ संस्करण बुधबारबाट भारतमा सुरु भएको छ। सन् २००८ बाट सुरु भएको आइपीएल अहिले विश्वकै प्रतिक्षित क्रिकेट टुर्नामेन्ट बनेको छ। 

आइपीएलको सुरुवात भएसँगै टी-२० क्रिकेटले छलाङ मारिसकेको छ। भारतपछि अष्ट्रेलिया, वेष्टइन्डिज, बंगलादेश, पाकिस्तानलगायत देशमा यस्तै खालको टुर्नामेन्ट हुन थालिसक्यो भने दक्षिण अफ्रिका र इंगल्याण्डले पनि छिट्टै यस्तो टुर्नामेन्ट गर्ने बताएको छ।

छिमेकी देशमा हुने भएकोले नेपाली क्रिकेट पारखीहरुले पनि आइपीएल फलो गर्दै आएका छन्। डेढ महिनाभन्दा बढी दिन चल्ने आइपीएलमान यस पटक कूल ८ टीमको सहभागिता रहेको छ। विश्वका उत्कृष्ट खेलाडीहरु समेत आइपीएलमा खेल्नका लागि प्रतिक्षारत रहन्छन्। हिजैबाट सुरु आइपीएल-१० मा रसिद खानले डेब्यु गर्दै आइपीएल खेल्ने पहिलो अफगानी खेलाडी बने।

नेपाल नजिकै भएर पनि यहाँका खेलाडीले अहिलेसम्म त्यो अवसर पाउन सकेको छैनन्। रसिदसँगै अर्का अफगानी खेलाडी मोहम्मद नावी पनि यसपटक आइपीएलमा छन्।

अहिले सारा विश्वको ध्यान आइपीएलले भारतमा तानेको छ। विश्वका नामी खेलाडीहरु भारतमा जम्मा भइसकेका छन्। यसमा पाकिस्तान भने अपवाद रहेको छ।

यसै समय नेपालमा पनि सर्वाधिक नगद पुरस्कार राशीको क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपीएल यही चैत २७ देखि धनगढीमा सुरु हुँदैछ।

आइपीएल जस्तै डीपीएलमा नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक पूर्ण अक्सनमार्फत खेलाडीहरुको छनौट गरिएको थियो। जसमा राष्ट्रिय स्तरमा खेलाडीदेखि स्थानीय स्तरका खेलाडीहरुको जमघट हुँदैछ। त्यसका लागि सहभागी ६ वटै टीमले तयारी गरिरहेका छन् भने धनगढी पुग्ने क्रम जारी छ।

धनगढी क्रिकेट एकेडेममी र सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक खेलाडी लिलामीमार्फत डीपीएल खेल्ने टिम तयार पारिएको हो।


के फरक छ आइपीएल र डीपीएलमा? 

आइपीएल र डीपीएल सुन्दा उस्तै जस्तो लाग्छ। तर आइपीएल बोर्ड अफ क्रिकेट कन्ट्रोल फर इण्डियाले सञ्चालन गर्छ भने डीपीएल निजी स्तरमा हुन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय निलम्वनमा रहे पनि क्रिकेटमा केही गर्छौ भन्ने एक जमात डीपीएल गर्न लागिपरेका छन्।

यस्तै आइपीएलमा ८ टिम सहभागी छ भने डिपीएलमा ६ टिम मात्र। डबल राउण्ड रोविन लिगपछि प्लेअफ खेलाइने आइपीएल ४६ दिनसम्म चल्छ। तर डीपीएल सिंगल लिगमा खेलाइन्छ र जम्मा दुई साता मात्र आयोजना हुन्छ। 

आइपीएलमा कूल ६० खेल खेलाइने छ। जसमा ५६ लिग खेल हुन्छ भने ४ प्लेअफ खेल। यता डीपीएलमा भने ४ प्लेअफ खेलसहित जम्मा १९ खेल मात्र हुन्छ।

आइपीएलमा जस्तै डीपीएलमा पनि देशभरका विभिन्न ६ सहरको नाममा ६ फ्रेन्चाइज टीम तयार पारिएको छ।

यस्तै आइपीएलमा प्रत्येक टीमले ९ विदेशीसहित कूल २७ खेलाडी राख्न पाउने व्यवस्था छ। जहाँ एक टीमले टीम सेटमा ४ मात्र विदेशी खेलाडी खेलाउन पाउँछन्।

यता डीपीएलमा कूल ९० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जसमा एक प्रत्येक टिमले १५-१५ खेलाडी राख्न पाउनेछन्। डीपीएलमा पनि विदेशी खेलाडी राख्ने योजना भएपछि यस पटक सम्भव नभएको आयोजकले जनाएको छ। 

८ वटा टीम रहेको आइपीएल भारतका विभिन्न १० सहरका १० मैदानमा सञ्चालन हुनेछ। यता डीपीएल भने एउटै मैदानमा हुनेछ।

यही आइतबार नेपाल-११ र धनगढी-११ बीचको च्याटी म्याचसँगै बहुप्रतिक्षित डीपिएल सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell