PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

उपप्रधानमन्त्री निधिको बचाउमा रामचन्द्र पौडेल, भने - वरियता विवाद व्यक्तिगत विषय हैन



उपप्रधानमन्त्री निधिको बचाउमा रामचन्द्र पौडेल, भने - वरियता विवाद व्यक्तिगत विषय हैन

काठमाडौँ : सरकारका दुई उपप्रधानमन्त्रीबीच वरियता विवाद चर्किएर मन्त्रिपरिषद् बैठकै तीन सातादेखि अवरुद्ध भइरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उपप्रधानमन्त्री विमलेन्द्र निधिको पक्ष लिएका छन्। 

उपप्रधानमन्त्रीको पोर्टफोलियो विवाद विमलेन्द्र निधिको व्यक्तिगत विषय नभएको भन्दै उनले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन्। निधि देउवा पक्षकै नेता भए पनि पौडेलले उनको पक्षमा बोलेर राहत दिएका हुन्।  

निर्वाचन रणनीतिका र घोषणापत्रका विषयमा सुझाव लिन आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा वरिष्ठ नेता पौडेलले सरकारमा पोर्टफोलियोको विषय कांग्रेसकै प्रतिष्ठाको विषय भएको बताए। 

'उपप्रधानमन्त्रीको पोर्टफोलियोको विषय विमलेन्द्र निधिको व्यक्तिगत विषय मात्र हैन,' बैठकमा सम्बोधन गर्दै पौडेलले भने, 'संसद्कै ठूलो दलको सरकारमा नेतृत्व गर्ने नेताको पोर्टपोलियो कांग्रेस प्रतिष्ठाको विषय हो।' उनले संसद्को सबैभन्दा ठूलो पार्टी दोस्रो हैसियतमा बस्नु नै सदासयताको विषय भएको भन्दै त्यसबाट पनि तल झर्नु राजनीतिक हैसियतकै अपमान हुने बताए। 

'संसद्को ठूलो पार्टी सरकारमा तेस्रो हैसियतमा बस्दा कार्यकर्तामा 'ह्युमिलेसन' ल्याउन सक्छ,' पौडेलले भने।

पौडेलले मधेसी जनतालाई टाढा राखेर कांग्रेस अघि बढ्न नसक्ने भन्दै संशोधन प्रस्तावका विषयमा निर्णय गरेर मधेसी दललाई पनि चुनावमा लैजानुपर्ने बताए। 'सारा मधेसी जनतालाई टाढा राखेर कांग्रेस अघि बढ्न सक्दैन,' पौडेलले भने।

उनले सत्ता राजनीतिले चुनावको वातावरण बिग्रनु नहुने भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए। 'चुनावका लागि करिब एक महिना मात्र बाँकी रहँदा सरकारका विषयमा प्रस्न उठ्नु र अविश्वास बढ्नुले चुनावको वातावरण बन्दैन,' पौडेलले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell