काठमाडौं : पोलिटिक्स बुझाउँदैन तर 'पोलिटिक्स इज अ डर्टी गेम' भन्ने नारा सिकाउँदै हुर्काउँछ हाम्रो समाज। र राजनीतिक अर्धचेतनाबीच घुमाइराख्छ अधिकांश युवालाई। अनि परिणाम? परिणाम, या सामाजिक सञ्जाल र चिया पसलमा राजनीति र नेतामाथि पोखिने आक्रोश, आवेग हुन् वा चूपचाप जे भयो, भइरहेको छ र हुनेवाला छ त्यसबारे अनविज्ञ रहनु हो।
काठमाडौँ थिएटर मलमा भइरहेको 'आन्दोलन'मा राजनीतिलाई दुईवटा फरक कोणबाट हेर्ने युवाहरुसँग हाम्रो भेट हुन्छ। तर आन्दोलन राजनीतिसँग होइन चेतनासँग जोडिएको छ। 'आन्दोलन'का नाइके सुदाम सिकेले आम युवापुस्ताको राजनीतिक चासो, धारणा र अर्धज्ञानमाथि प्रहार गरेका छन्।
प्रसङ्ग सुरु हुन्छ जनआन्दोल ताकाको घटनाबाट। केही युवा छन् जो शाह वंशलाई राजगद्दीबाट बाहिर्याउने हुटहुटीसहित सडकमा उत्रिएका छन्। उनीहरु पढाइ, कमाइ तथा आफ्नो जीवन सबै बिर्सिएर गणतन्त्र स्थापनाका लागि आन्दोलन गरिरहेका छन्। कर्फ्यु, हड्ताल, प्रदर्शन, नाराबाजी उनीहरुको लागि राजतन्त्रको स्वेच्छाचारी विरुद्धको आवाज हो।
र यहाँ एउटा युवा पात्र छ- सुदाम, जसलाई आन्दोलन, राजतन्त्र, गणतन्त्र यी सब कुराको केही मतलव छैन। ऊ आफू पढ्न पाउनु तथा गरेर खान पाउनुमा विश्वास राख्छ। उसका लागि जसरी बाँच्न सजिलो हुन्छ त्यही जीवनको दर्शन हो। ऊ आन्दोलनमा सरिक हुन चाहँदैन, उसलाई घटिरहेका घटनाहरुको तबसम्म प्रवाह हुँदैन जब सम्म ऊ कर्फ्युका कारण निदाएर थाक्दैन, खानका लागि उसको कोठामा चिउरामात्र बाँकी हुन्छ।
उसलाई न राजनीतिको मतलव छ न त जनआन्दोलनको। ऊ रिस्क लिन चाँहदैन।
सुदामले आन्दोलनका कारण पढाइमा परेको असर देख्छ, उसको गरिखाने बाटो बन्द भएको देख्छ, घरबेटी काकाको दैनिकी फेरिएको देख्छ तर आन्दोलन र बन्दको औचित्यसँग उसको कुनै सरोकार छैन।
सुदाम तथा आन्दोलनमा लागेका सुदामका साथी दुवै पक्षले स्वतन्त्रता चाहन्छन्। तर यी दुई पक्षको स्वतन्त्रताबारेको परिभाषा भने भिन्न भिन्न छ। आन्दोलनरत पक्षले हरेक जनताको स्वतन्त्रताका लागि लड्नु आवश्यक हुन्छ। सुदामका लागि आफू र आफ्नो परिवार स्वतन्त्र रहनु महत्वको कुरा हो।
तर लगातार १९ दिन चलेको आन्दोलनले उसको चेतनामा केही असर गर्छ र ऊ आन्दोलनप्रति केही सकारात्मक र आशावादी बन्दै जान्छ। घटनाक्रम अगाडि बढ्ने क्रममा अचानक आफूसँग कोठामा रहँदै आएको साथीको आन्दोलनका क्रममा मृत्यु हुन्छ।
नाटक 'आन्दोलन'को कथा सार यति नै हो। तर प्रस्तुति सोचेभन्दा केही फरक छ। नाटकमा कवितात्मक प्रयोग हुनु यसको आकर्षणको पक्ष हो। संवाद बोल्दा बोल्दै पात्रहरु कविता वाचन गर्छन् तर कवितालाई विषयमाथि हावी हुन भने दिँदैनन्।
नाटकले जनआन्दोलनको समयमा सिर्जना भएको परिस्थितिको मूल्याङ्कन गरेको छ। पात्रमा जोस हुन्छ, उर्जा हुन्छ, पात्र केही गर्ने होडमा हुन्छ र थाक्नुअघि उसको अन्त्य हुन्छ। नाटकले दर्शकलाई आरोह अवरोह महसुस गराउँछ। नाटक पढ्नका लागि मात्र वा मञ्चन गर्नका लागि मात्र हुँदैनन् भन्ने कुराको पुष्टि गर्छ आन्दोलनले। किनकी सौरभ कार्कीले लेखेको एउटा सिङ्गो पाठ्य विषयलाई मञ्चमा पनि न्यायपूर्ण ढङ्गले प्रस्तुत गरेका छन् सुदाम सिकेले।
आन्दोलन चर्किएको त्यो अवस्थालाई संवादमार्फत प्रस्तुत गरे पनि दृश्यमा देखाउन भने निर्देशक चुकेका छन्। पात्रहरु बोलेरै घटनाक्रमको बेलिबिस्तार लगाउँछन्।
हरेक प्लटमा एउटै सेटिङको प्रयोगले केही नयाँ स्वाद दिँदैन।
समग्रमा राजनीति खेल मात्र होइन भन्ने सन्देश नाटकको केन्द्रमा छ। देश र समाज परिवर्तनका लगि राजनीतिमा हाम्रो चासो र जिम्मेवारीको महत्वलाई पात्रले प्रस्ट्याउँछन्। नाटकले इतिहास झल्काउँछ।
चैत २४ गतेबाट सुरु भएको नाटक वैशाख ११ गतेसम्म चल्नेछ। जनआन्दोलन सुरुवात भएको ऐतिहासिक दिन चैत २४ गतेबाट नै नाटक मञ्चन सुरु गरिएको लेखक सौरभ कार्कीले जानकारी दिए।
नाटकमा रियर राई, संयोग गुरागाईं, इगिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, विनिता गुरुङ, सुटिप खतिवडालगायतको अभिनय रहको छ।
हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजेको अतिरिक्त शो मञ्चन हुन्छ।