ड्युक ३९० मोटरसाइकलमा २६ वर्षीय ठिटो। स्पिड, स्टन्ट र एक्सन : भिडियो सुट सुरु भयो। बाइक स्पिडमा हुइँकिएर अलि पर पुगेको के थियो, गलत लेनतर्फ मोडियो। विपरीत दिशाबाट आइरहेको थियो टोयोटा हाइलक्स।
ड्याङ्ग…. !
दृश्य कैद गरिरहेको क्यामेरा झ्याप्प बन्द हुन्छ। कसैले 'कट' नभनी सुटिङ प्याक अप।
बाइक कुदाउने केटो उछिट्टिएर पर पुगेको थियो, बाइक कच्याककुचुक र हाइलक्सको पनि अगाडिको पाटो क्षतिग्रस्त।
यो कुनै फिल्मको लागि भएको दृश्य थिएन। यस्तो छ असली कथा:
स्थान गोठाटार। काठमाडौंमा नै रहेर पनि सवारी साधन, मान्छेको चाप र धुलो कम हुने भित्री सडक छ। वागमती खोलाको किनारमा रहेको सडक वरिपरी पातलिँदै गएका हरिया फाँट। दृश्य शहरको अरु कुनाहरुको भन्दा मनोरम देखिन्छ। त्यसैले सुकदेव कार्कीले पनि सोही स्थानमा आफ्नो बाइकसँगको अन्तिम दिन कैद गर्ने निधो गरे।
सन् २०१५ अक्टोबर २ मोटरसाइकल ग्राहकको जिम्मा लगाउने निश्चित गरेको दिन थियो। क्यामेरा, फोटो र भिडियोग्राफीमा पनि प्यासन भएका सुकदेवले बाइकसँगको अन्तिम दिन भिडियोमा कैद गर्ने सोच बनाए। हेलमेटमा गोप्रो फिट गरे र भाइलाई क्यामेरा थमाएर पुगे वागमती किनारको त्यो सडक। तर बने तीव्र गतिको शिकार।
कसैले रक्सी खाएर बाइक चलाएको दाबी गरे, कसैले फिल्मको सुटिङ भइरहेको कथा सुनाए तर यथार्थ सुकदेव र उनको भाइलाई थाहा थियो।
'टाइमिङ गलत थिएन। मेरो बाइकको स्पिड गलत थियो। मैले चाहेर पनि लिएको गति सम्हाल्न सकिनँ र दुर्घटना भयो', सुकदेव त्यो दिन यसरी सम्झन्छन्, 'मेरो बाइक ९० को स्पिडमा थियो। आफू गइरहेको दिशामा केही मान्छे देखें। उनीहरुलाई छल्न खोज्दा ढलको मङ्गाल नजिक पुगें। ब्रेक लगाउनु पर्ने थियो तर गलत दिशामा मोडिएर स्पिड बढाएँ।'
त्यसपछि करिब १० मिनेट आफू बेहोस भएको सुनाउँछन् उनी। भन्छन्, 'होसमा नआएको भए मैले मर्दामर्दै बाँच्दाको अनुभूतिहरुलाई महसुस गर्न पाउँदैनथें सायद। होस आयो र पीडा के हो भोगें।'
आठ वटा करङ, हात र खुट्टा भाँच्चिएको अवस्थामा पुलिसको गाडीले महाराजगंज शिक्षण अस्पतालबाट जोरपाटी अपाङ्ग अस्पताल र त्यहाँबाट सिनामङ्गल काठमाडौं शिक्षण अस्पताल पुर्याएको थियो उनलाई। इन्टरनल ब्लिडिङ, भाँच्चिएका हड्डीहरु : चाँडो अस्पताल पुर्याउनका लागि गाडीको रफ्तार र खाल्डाखुल्डी सडक, 'अस्पताल पुगुन्जेल श्वास बाँकी रहन्छ भन्ने थिएन', उनी पीडाको उच्च बिन्दुमा पुगेको क्षण सम्झन्छन्।
बाइक उनको प्यासन हो, स्कूल पढ्दादेखिकै। सन् २००८ मा पहिलोपटक आफ्नै बाइक हुइँक्याएका थिए। सुकदेवले। बाइक उनको सपना थियो जुन सपना बौद्धको केब्स कलेजमा प्लस टू पढ्दा पूरा भयो। त्यससमय १५० सिसीको कालो पल्सर बाइक चढ्नुको सान बेग्लै। लाइसेन्स बिना गल्लीगल्ली कुदे। स्पिड बढाउनु र स्टन्ट देखाउनुको होडले हरेक यात्रालाई रोमाञ्चक बनाउँथ्यो।
सन् २००९ मा पढ्नका लागि युके गएका उनले विदेशमा पनि बाइकलाई टाढा बनाउन सकेनन्। ‘दु:ख गरें र उता पनि आफूले चाहेको बाइक किनें। रहरलाई मारेर पैसा जम्मा गर्नुपर्छ भन्ने सोच कहिले पनि पलाएन।‘
बाइक र बडी बिल्डिङ
सुकदेव बडी बिल्डर हुन्। रमाइलो पक्ष यो छ कि उनलाई बडी बिल्डर पनि बाइकले नै बनायो। युकेमा रहँदा उनी सिबिआर ६०० आरआर चढ्थे। हेभी बाइकमा होचो कदको मान्छे। उनले सोचे - ज्यान बनाउन पाए बाइक चढ्दा राम्रो देखिएला।र, सन् २०१३ को सुरुवातबाट बडी बिल्डिङ सुरु गरे। डाइटिङ, एक्सरसाइज र नियमित प्रशिक्षण - उनको शरीरले त नयाँ स्वरुप पाउँथ्यो नै, दैनिकी पनि फेरियो। मोटरसाइकलसँगै जिमसँग उनी जोडिए। जिम र शारीरिक सुगठन प्रशिक्षणमा सीमित रहेन। सन् २०१४ मा भएको युके नेपाल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेसको आयोजनामा भएको शारीरिक सुगठन प्रतियोगितामा सहभागी भए। हुन त प्रतियोगिता नेपाली नेपाली बीच हुँदै थियो तर पनि सुकदेवमा एक किसिमको डर थियो, हारें भने?
'ठूला ज्यान, अग्लो शरीर र वर्षौ अघिबाट जिम गरेकाहरुसँग भिड्नु थियो', उनले आफू नर्भस हुनुको कारण बताए। तर उनको डर खुशी र आत्मबलमा बद्लियो जब उनले एक दर्जनभन्दा बढी प्रतियोगी बीच तेस्रो स्थान हात पारे। अनि सुरु भयो उनको सुगठन यात्रा।
सन् २०१५ मा नेपाल आए सुकदेव। जुन महिनामा आएका उनले एक महिना नबित्दै बाइक किने। बौद्धको रोयल जिम क्लब ज्वाइन गरे। उनको लगनशिलता, सुगठनप्रतिको लगाव र चासो देखेर पर्सनल ट्रेनरले पनि उनलाई सुगठन प्रतियोगितामा भाग लिन सुझाव दिए।
धेरै सपना साँचेर राखेको थिएँ र कति भाग्यमानी म कि जिन्दगीले दोश्रो अवसर दियो। अब मलाई केही साँच्नु थिएन। आइसियु मा हुँदा अबदेखि बाइक कहिल्यै नचढ्ने वाचा गरेको थिएँ। तर त्यो वाचा धेरै समय टिकेन। बाइक बिना मेरो जीवनको केही मूल्य थिएन र डराएर बाँच्न रहर थिएन। मलाई फेरि बाँचेको खुशी मनाउनु थियो। रमाउनु थियो। मैले फेरि बाइक किनेँ।
‘जित्नु नजित्नु भन्दा पनि नयाँ नयाँ अनुभव संगाल्नुले मलाई सधैं आनन्द दियो। त्यसैले पनि प्रतियोगितामा भाग लिने सुझावलाई अवसर हो भन्ने सोचें।‘
सुकदेव र परिवारमा खुसीको सीमा रहेन जब उनी पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि शारीरिक सुगठनतर्फ काठमाडौंबाट छानिए। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको त्यो १५ औं राष्ट्रिय प्रतियोगिता थियो तर सुकदेवको पहिलो सहभागिता।
आफ्नो रुचिलाई साबित गर्नका लागि मौका थियो त्यो प्रतियोगिता। परिवारलाई मनाउनुको बहाना पनि।
‘म फिटनेसको एडिक्ट भएँ। तर छोरोले ज्यानै मात्र बनाओस् भन्ने परिवारलाई थिएन। त्यसैले पनि बडी बिल्डिङका चुनौतिजस्तै अवसरहरु बारे प्रस्ट पार्नु थियो। ‘
नोभेम्बरमा थियो प्रतियोगिता। तर सेप्टेम्बरमा भयो दुर्घटना। त्यसपछि स्टिल राखिएको हात र खुट्टाका साथ खाटमा थलिएको अवस्थामा।
सुकदेव बाँचेर घर फर्कन्छन् भन्ने कमैलाई थियो। उनी स्वयंले पनि आफ्नो हरेक स्वासलाई अन्तिम मानेर डराएको क्षण सम्झिए। जब बाँचेर बेड रेस्टमा थिए, आफू अपाङ्ग भएर जीवन काट्न पर्ने पिरलोले उनलाई पोल्यो। डाक्टरले चेतावनी दिएका थिए - अब भारी उचाल्नु रिस्की हुन्छ।
रहरहरुले मान्छेलाई जिद्दी बनाउँछ। जिद्दी हुनुको परिणाम कहिले सकारात्मक बनिदिन्छ त कहिले नकारात्मक। परिणाम जस्तोसुकै आओस्, अनुभव संगाल्ने बहाना हुन् भन्ने पाठ सिकायो सुकदेव कार्कीको जीवनमा घटेको दुर्घटनाले।
गजबको आत्मविश्वास
दुर्घटनापछिको कस्तो छ त सुकदेवको दैनिकी? धेरैले अनुमान गर्लान् - घर, परिवार,खाट, कुर्सी, दुनिया हेर्न इन्टरनेट र टिभी यस्तै यस्तै। तर यथार्थ फरक छ।उनको हात र खुट्टामा अझै पनि स्टिल छ तर उनी आराममा छैनन्। चार महिनाको पूर्ण बेडरेस्टले उनलाई अल्छी बनाएन, थप ऊर्जा पो दियो। उभिएर खुट्टा टेक्ने भएका के थिए केब्स स्कूलमा पढाउन सुरु गरे। बाहिर दुनियासँग पुन: घुलमिल हुन थालेका उनले बडी बिल्डिङ त्याग्न सकेनन्। डाक्टरको भाषामा उनी रिस्क मोल्न तयार भए। र, आफैलाई पुस अप गर्न लागि परे। सुरुमा कम प्रेसर पर्ने काम गरे। कम तौल भएको भारी उठाए। कतिपटक सम्हालिए, कति पटक लडे पनि। तर आफ्ना रहरहरुलाई लडाउने पक्षमा बिल्कुल थिएनन्। भन्छन्, ’अरुको भरोसामा बाँच्ने ठूलो बहाना बन्न सक्थ्यो मेरो त्यो समय। तर मैले बाँच्नु र जीउनुको फरक नियालेँ।‘
‘पुराना फोटो, भिडियो र साथीहरुले थप उक्साए मलाई आफ्नो खुट्टामा उभिन। र मैले पनि प्रयास जारी राखें’, आफ्नो ऊर्जाका स्रोतहरु बारे यस्तै भन्छन् उनी, ’परिवारको आँखामा मलाई कुशल देख्ने सपना थियो र मेरो आँखामा घरबाट निस्किएर परिवारलाई खुशी बनाउने चाहना।‘
उनलाई आफू रमाएको देखे परिवार खुशी हुने विश्वास थियो र उनी रमाउन सक्थे त केवल पुरानै शरीर भएको आफूसँग। आफैसँग तुलना गर्नुले सुकदेवलाई मरेर बाँच्नुको महत्व बुझाएको उनको कथन छ।
‘परिवारको सहमति बिना मैले जिम सुरु गरें। किनकी रहर मारेर आफैलाई खुशी राख्न सकिन्न भन्ने भयो’, स्टेजमा पुगेर शरीर देखाउने सपनाको नजिक पुगेर पनि चुकेका उनले दुर्घटनामा बाँच्नुलाई सपना पूरा गर्ने दोस्रो अवसर ठाने र लागिपरे।
कतिपटक सम्हालिए, कति पटक लडे पनि। तर आफ्ना रहरहरुलाई लडाउने पक्षमा बिल्कुल थिएनन्। भन्छन्, ’अरुको भरोसामा बाँच्ने ठूलो बहाना बन्न सक्थ्यो मेरो त्यो समय। तर मैले बाँच्नु र जीउनुको फरक नियालेँ।‘
आफूलाई आफ्नो शरीरको क्षमता बारे थाहा भएको र त्यसै अनुरुप काम गरेको उनी बताउँछन्। ‘मैले ज्यान गुमाएको भए केही बाँकी रहन्नथ्यो म बाँचे अब मेरा सपनाहरुले मलाई जीवित तुल्याउँछ भन्ने आत्मविश्वास जाग्यो।‘
र, करिब दुई वर्ष पछि…
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा शनिबार (आज) भएको छैठौं मिस्टर हिमालयमा उनले सहभागिता जनाएका छन्। फिटनेस र बडी बिल्डिङ दुई विधामा हुने प्रतियोगितामध्ये दुबैमा उनी अन्तिम प्रतिस्पर्धाका लागि छानिए। र दोस्रो पुरस्कार पनि जिते।
‘बहाना त अनुभव बटुल्ने नै हो। तर जे भोगें, जति लडें त्यो सब पछि पनि मैले राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छानिनु आफैलाई दिएको चुनौतिमा खडा उभिनु हो’, उनले भने।
जीवन सुन्दर हुन्छ र जीवनमा जोडिएका रहर, सपना झनै सुन्दर हुन्छन्। त्यसैले आफू बाँचुन्जेल रहरलाई नमार्नु भन्ने सुझाव दिन्छन् उनी आजभोलि। भन्छन्, ’एक्सिडेन्टले जिन्दगी मात्र होइन सडकलाई हेर्ने शैलि पनि फेरिदिएको छ।‘
मजाकको भावमा बोले पनि उनको आँखामा पश्चताप प्रस्ट देखिन्थ्यो।
जिम सेन्टर खोल्ने, पर्सनल ट्रेनर बन्ने, मान्छेलाई हेल्थ कन्सियस बनाउने यस्तै यस्तै सपना छन् उनका। भन्छन्, ’साना साना कुराहरु खुशी र सन्तुष्टिसँग जोडिन्छन्।‘
उनले जसरी खुशी हुन सकिन्छ, जसरी हरेक पल बाँच्नुको फाइदा उठाउन सकिन्छ त्यसैलाई जीवनको दर्शन मानेको बताए।