काठमाडौं: कमला कट्टेल बिहीबार झापा गौरादहबाट महोत्तरी बर्दिबास पुगिन्। पुग्नासाथ अरु केही नगरी भ्यू टावर चढिन्। माथि पुगेर मुसहर बस्तीको नवनिर्मित घरहरु हेर्दै लामो सुस्केरा हालेर भनिन्,'बनाएछस् त बाबु।'
कमला हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेलकी आमा हुन्। बस्ती हस्तान्तरण गर्नु एक दिनअघि बर्दिबास पुगेकी आमाले ती तीन शब्द बोल्दा धुर्मुसको मुखबाट बोली फुटेन। न आमा न त बुबा बोगराजसँग आँखा जुधाउन सके।
'तर मनमनै लाग्यो, बल्ल म जन्मनु सार्थक भयो', धुर्मुसले पहिलोपोस्टसँगको कुराकानीमा सुनाए।
२०७१ को अन्त्यदेखि २०७३ को अन्त्यसम्ममा धुर्मुसको आमासँगको यो दोस्रो भेट हो। अवसर हो महोत्तरीमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाएको मुसहर बस्ती हस्तान्तरण कार्यक्रम। यसअघि पनि कट्टेल पूरा परिवार कुनै पारिवारिक जमघटमा भेटेका भने होइनन्। दशैंअघि सिन्धुपाल्चोक गिरान्चौर एकीकृत बस्ती हस्तान्तरणमा आमाबुवासहित परिवारको भेट भएको थियो।
हस्तान्तरण लगत्तै आमा कमला झापा गौरादह फर्किइन् तर धुर्मुस सुन्तली गिरान्चौरनै रहे। जसका कारण मुखैमा रहेको दशैंमा पूरा परिवार साथमा भएनन्। पहिलोपोस्टसँगको कुरा गर्दै आमा कमला कट्टेलले भनिन्,'सबै परिवार बसेर चाडपर्व मनाउने रहर त कसको हुँदैन र? कहिलेकाहीँ समय परिस्थिति नै मिल्दैन रहेछ।'
धुर्मुसको आमाबुबा मात्र होइन छोरी सुबिहानी पनि अभिभावकसँग रहन पाइनन्। भर्खर दुई महिनाकी थिइन् उनी जब धुर्मुस र सुन्तलीले घर छोडेर भूकम्पपीडित जनताको टहरामा दैनिकी सुरु गरे। त्यसमाथि सुबिहानी अन्य बच्चा जस्तो सामान्य अवस्थामा थिइनन्। उनमा मेनिन्जाइटिस देखिएको थियो। घुँडा सुन्निने र पिप जम्ने समस्याले त उनी झनै ग्रस्त थिइन्। न दूध चुस्न सक्थिन् न अरु केही खान नै मन गर्थिन्। छोरी र व्यक्तिगत जीवनलाई छोडेर समाज र सेवा भन्दै हिँड्न अनिवार्य त थिएन। तर हजारौं जनताको माया पाएका धुर्मुस र सुन्तलीले व्यक्तिगत जीवन र दायित्वबाट फरक, जनताको जीवनप्रति आफ्नो जिम्मेवारी बोध गरे।
सुन्तली भन्छिन्,'छोरीको माया धेरै थियो। तर सुबिहानी जस्ता सयौं बालबालिका अनाथ भएका थिए। घरविहिन भएका थिए। हाम्री छोरी हेरिदिनका लागि त मेरो दिदी भिनाजु हुनुन्थ्यो । तर आमाबुबा गुमाएकालाई घर र हाम्रो आवश्यकता थियो।'
सम्बन्धित सामाग्री : छोरीले सोध्लिन् नि खै बाबै भन्लिन्... घर बनाउँदैछन् भन्दिए
सुरुवातमा खाद्यान्न र लत्ता कपडा लिएर गाउँगाउँ पुगेका थिए यी दम्पती। तर जब पीडितहरुको घर नै नरहेको देखे, तब छतको आवश्यकता महसुस गरे। भन्छन्,'टाउकोमा छत नै नभएपछि हामीले लगेको खानेकुराले कति दिन पुग्थ्यो र?' यो गम्भीर प्रश्नको जवाफ खोजेर बसेनन् धुर्मुस सुन्तली। न त सरकार वा कुनै प्रशासनको मुख ताकेर बसे। जनताको लागि जनताले नै केही गर्छन् भन्ने विश्वाससहित बस्ती निर्माणको नेतृत्व लिए।
काभ्रेपलाञ्चोकको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा एकिकृत नमुना बस्ती र अहिले महोत्तरीमा मुसहर बस्ती। यो सबै निर्माण कार्यको यात्रा सहज भने थिएन।
'सजिलो हुन्छ भन्ने आशा राखेर सुरु गरेको काम पनि थिएन। त्यसैले सिर्जना भएका कुनै पनि अफ्ठ्यारो परिस्थितिले चुक्न दिएन,' धुर्मुसको आत्मविश्वासी अभिव्यक्ति।
कलाकारिताले दिएको नाम, दाम र इज्जतभन्दा गाह्रो थियो विकास कार्यमा हात हाल्नु। त्यसैले धुर्मुस सुन्तली दुबैले हरेक गाह्रो, अफ्ठ्यारो, संकट र अभावको डटेर सामना गरे। तर व्यक्तिगत जीवनसँग जोडिएको केही आवश्यकता सधैं खड्किरह्यो उनीहरुलाई।
यसले आर्थिक र भौतिक संकटले भन्दा बढी पिरोलेको धुर्मुस सुनाउँछन्। भने,'हरपल छोरी, श्रीमती, आमाबुवा र भाइहरुलाई सम्झिएँ। धेरै तनाव हुँदा पनि अनि केही कार्य सफल हुँदा पनि। तर भेट्न, कुरा साट्न नपाउनुको दु:ख बेग्लै छ।'
परिवारले भने धुर्मुस सुन्तलीको लगनशिलता, सपना र अठोटलाई बुझिदिए।
बुवा बोगराज सुनाउछन्,'चाडपर्वमा त छोराहरु भेट्न आउन्, सँगै दुई चार दिन बसुन् भन्ने हुन्थ्यो नि। तर चाहेर पनि बोलाउन सकिएन। किनकि उनीहरुले ठूलो काममा हात हालेका थिए। पारिवारिक कारणले तनाव दिनु उचित हुन्नथ्यो।'
संघर्ष र सफलताको उच्च घडीमा भने सीतारामको पूरा परिवार साथ छन्। 'यो नै मेरो जित हो। जुन खुशी परिवारले दिएको साथमा भेट्छु सबै समस्या गौण लाग्छन्', आफू परिवारले दिएको हौसलाकै कारण कहिले पनि हतोत्साहित नभएको बताउँदै उनी भन्छन् - 'परिवार सुन्दर बनेको थियो र तीनवटा सुन्दर बस्ती बनाउन सफल भयौं।'
धुर्मुस सुन्तलीले नेतृत्व लिएपछि आर्थिक सहयोग त देश विदेशबाट जुट्न थाले।
काभ्रेको पहरी बस्ती निर्माणबाट धुर्मुस र सुन्तलीले आफूलाइ प्रमाणित गरेका थिए जसका कारण उनीहरुलाई सिन्धुपाल्चोकको गिरान्चौरमा सहयता जुटाउन सजिलो भयो। गिरान्चौरमा सिद्ध गरेको उनीहरुको उदाहरणले मुसहर बस्ती निर्माण सँगसँगै सहयोग जुट्न सक्यो।
यसैले समयक्रममा सिर्जना हुने आर्थिक संकट पनि बिस्तारै हल पनि भए। तर धुर्मुस र सुन्तलीको निर्माण जीवनमा केही घटना यस्ता पनि घटे जसले अवरोधहरु निम्त्याए। धुर्मुस सुन्तली विचलित हुने पक्षमा भने थिएनन्।
पहरी बस्तीदेखिका केही अफ्ठ्यारो परिस्थितीहरु भने धुर्मुस र सुन्तली केही सम्झना सुनाउँछन्।
छोरी त झन् बिरामी थिइन्। निकै धेरै याद आउँथ्यो। तर कैले मैले कुञ्जनालाई सम्झाएँ कहिले उनले मलाई सम्झाइन्।
तेश्रो त अहिले मुसहर बस्तीको सामाजिकीकरणमा निकै अफ्ठेरो रह्यो। मुसहर बस्तीको अचेतन र अशिक्षित समाजका कारण धेरै समस्याहरु सिर्जना भए। मुसहर बस्तीमा रहेको सोचमा परिवर्तन ल्याउनु नै सजिलो थिएन। सीताराम र मैले मिहिनेत गरेर यसमा केही हदसम्म सफलता पाएका छौँ।
तर जातभात र छुवाछुतले मुसहर वस्तीमा जरा गाडेको विषयलाई लिएर चिन्तित छौँ अझै। अशिक्षाले गर्दा होला यो ठाउँमा सामाजिकीकरण निकै अफ्ठ्यारो रह्यो।
चौथो हामीलाई मौसमी आर्थिक संकट पनि पर्यो नै। निरन्तर सहयोग र सहयोगका लागि प्रतिबद्दता प्राप्त गर्दा पनि सुरुवाती क्षणमा धुर्मुस सुन्तली फाउन्डेशनले निकै आर्थिक संकट भोग्यो। तर ती संकट लामो समय भने टिकेनन्। राम्रो काममा देश विदेशमा रहेका नेपालीले साथ दिए। हामी त घर बेच्न पनि तयार थियौं तर त्यो अवस्था सिर्जना हुन दिएनन् हाम्रा शुभचिन्तकले।'
...
इच्छाशक्ति, जिम्मेवारी बोध उदार हृदयले धुर्मुस र सुन्तलीको सम्भव तुल्याएको परिवर्तन आज समाचारका शीर्षक बनेका छन्। बर्दिबासमा मुसहर समुदायका लागि धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण भयो। फाउन्डेशनले बनाएको ५३ वटा घर नयाँ वर्षको उपलक्ष्यमा शुक्रबार एक हस्तान्तरण गरिएको छ। कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर वस्ती संरक्षण समितिका लागि अध्यक्ष चयन भएका बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तर गरे।
बस्तीमा तीन घर मुसहर समुदाय बाहेकका परिवारलाई दिइएको छ। धुर्मुस भन्छन्,'मानवता, समानता र सद्भाव विकासका लागि पनि गैर मुसहरलाई भवन दिन आवश्यक थियो।'
'लामो समय टेलिभिजनमा काम गरेर दर्शक हसाँए, माया पाएका थिएँ, तर अहिले मायासँगै सम्मान अनि प्रोत्साह पाइएको छ, खुसी लाग्छ', धुर्मुस रमाउँदै सुनाउँछन्।