PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

क्लब लिग भलिबल : पुरुषमा आर्मी तथा महिलामा एपीएफ च्याम्पियन



गोविन्दराज नेपाल

क्लब लिग भलिबल : पुरुषमा आर्मी तथा महिलामा एपीएफ च्याम्पियन
क्लब लिग च्याम्पियन आर्मी टिम

काठमाडौं : नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलको उपाधि जितेका छन्।

सोमबार भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीले नेपाल पुलिसलाई तथा महिलातर्फ एपीएफले न्यूडायमण्ड एकेडेमीलाई हराउँदै च्याम्पियन बनेका हुन्।

त्रिपुरेश्वरस्थति राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको फाइनल खेलमा दुवै टोलीले ३-० सोझो सेटमा जित हात पारे। च्याम्पियन आर्मी र एपीएफले उपाधि सहित ट्रफी मेडल र नगद २ लाख पुरस्कार हात पारे। यस्तै उपविजेता बनेको पुलिस र न्यूडायमण्डले १ लाख प्राप्त गरे।

लिग च्याम्पियनसिप भनिएपनि लिग चरणमा शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल खेल खेलाइएको थियो।

पुरुषतर्फ विभागीय प्रतिष्ठाको लडाईँमा आर्मीले पुलिसलाई २५-२८, २५-१६, २७-२५ ले हरायो। लिग चरणमा अपराजित रहदै फाइनल पुगेको पुलिसले फाइनलमा भने उक्त फर्मलाई कायम राख्न नसक्दा सोझो सेटमा हार बेहोर्‌यो। 

यता आर्मीले भने लिग चरणमा पुलिससँग मात्र हारेको थियो र फाइनलमा सोही हारको बदला समेत लियो। लिग चरणमा पुलिसले आर्मीलाई ३-२ ले हराएको थियो।

आर्मीका प्रशिक्षक जगलिस भट्टले विपक्षीको कमजोरीलाई पहिल्याउँदै खेलेका कारण जित हात पारेको बताए। 'सबैले राम्रो खेले, हरेक बल सफल पनि भयो र मुख्य कुरा रिसिभ राम्रो भयो।'  भट्टले भने 'तर अझै पनि खेलाडीहरुले सेन्ट्रन जोन च्याम्पियनसिपमा खेलेको जस्तो खेल्न सकेका छैनन्।' 

यता पराजित पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले सुरुमै लिगमा फाइनल भएको भन्दै असन्तुष्ठी पोखे। 'हामीलाई फाइनल हुन्छ भनेर जानकारी नै गराइएको थिएन। हामी लिगमा अपराजित रहदै अगाडी थियौं। फेरी फाइनल खेलाइयो, त्यसले गर्दा खेलाडीहरुको मोरल समेत डाउन भयो।' उनले भने, 'लिगभरी हाम्रो टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो तर फाइनल किन खेल्न सकेन भनेर म आफै कन्फ्युज्ड छु।'

उनले विजेता आर्मी टिमको प्रशंसा गरे। 'आर्मीले राम्रो खेल्यो, हाम्रो कम्बिनेसन नै राम्रो हुन सकेन। रिसिभ भएन, रिसिभ नभएपछि अट्याक गर्न सकेनौं, अनी आज ब्लक पनि जम्न सकेन।' श्रेष्ठले हारका कारण बताए।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब तेस्रो तथा एपीएफ चौथो भए।

यस्तै मङ्गबार भएको महिला फाइनलमा एपीएपले चिरपरिचित प्रतिद्न्दी न्यूडायमण्डलाई २६-२४, २५-१५, २५-२३ ले पराजित गर्दै उपाधि जित्यो। पहिलो सेटमा न्यूडायमण्डले कडा टक्कर दिएपनि एपीएफले टाइ सेटमा जित निकाल्दै १-० को अग्रता बनायो। १७-१७ पछि न्यूडायमण्डले हरेक पोइन्टमा बराबरी गरेपनि जितबाट भने वञ्चित रह्यो। 

पहिलो सेट जित्दै आत्मविश्वासी बनेको एपिएफले दोस्रो सेट २५-१५ ले सहजै जित्यो भने तेस्रो सेट पनि २५-२३ ले जित्यो।
लिग चरणमा पनि एपीएफले न्यूडायमण्डलाई ३-१ को सेटमा हराएको थियो। 

महिलातर्फ नेपाल पुलिस तेस्रो तथा पश्चिमाञ्चल टप्स भलसबल क्लब चौथो भयो। 

लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो। महिला र पुरुष दुवैमा तेस्रो र चौथो हुनेले क्रमश: ५० र २५ हजार प्राप्त गरे।

नेपाल भलिबल संघले आयोजना गरेको लिग च्याम्पियनसिपलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो। 


क्लब भलिबल च्याम्पियनसिपका उत्कृष्ट खेलाडी
च्याम्पियन आर्मीका धन बहादुर भट्ट पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए। यस्तै महिलातर्फ पनि च्याम्पियन टोली एपीएफकी सरस्वती चौधरी उत्कृष्ट चुनिइन्। 

विधागततर्फ उत्कृष्ट खेलाडीहरु
बेस्ट स्पाइकर : कुल बहादुर थापा पुलिस
बेस्ट सर्भर : मान बहादुर श्रेष्ठ आर्मी
बेस्ट सेटर : इम राना पुलिस
बेस्ट लिबेरो : इश्वर राना आर्मी  
बेस्ट ब्लकर : सञ्जु बिक्रम शाह हेल्प नेपाल स्पोर्ट्स क्लब
बेस्ट  कोच : जगदिश भट्ट आर्मी

महिलातर्फ
बेस्ट स्पाइकर : प्रतिभा माली न्यूडायमण्ड 
बेस्ट ब्लकर : उषा विष्ट एपिएफ
बेस्ट सर्भर : अरुण शाही पश्चिमाञ्चल
बेस्ट लिबेरो : कमला पुन पुलिस
बेस्ट सेटर : जानकी भण्डारी आर्मी 
बेस्ट कोच : प्रकाश थपलिया  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell