काठमाडौं : वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ।
जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइएको थियो।
तीनधारामा पुर्याइएको सेतो मच्छिन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर मच्छिन्द्रनाथको रथमा राखी सयौं युवाले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याएको थियो।
चैते दसैँका दिन सुरु गरिने सो जात्रा इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधि विधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ।
सो मच्छिन्द्रनाथको जात्राका लागि काठमाडौँको तीनधारा पाठशालाअगाडि करिब एकसाता अघिदेखि रथ निर्माण सुरु गरिएको थियो । जात्राका लागि गुठी संस्थान, काठमाडौँ महानगरपालिकालगायतले सहयोग गरेको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ।
प्राचीन समयदेखि सञ्चालनमा रहेको सो जात्रा नेपालीको महत्वपूर्ण संस्कृतिका रुपमा लिइन्छ ।



















शब्द : रासस, तस्बिर: अंगद ढकाल/पहिलोपोस्ट
