PahiloPost

Sep 27, 2020 | ११ असोज २०७७

कान्तिपुर गाथा : कनिकाको मधेश यात्रा



कान्तिपुर गाथा : कनिकाको मधेश यात्रा

कनिका निकै खुशी थिइ। ऊ जुन शहरमा पुग्थी त्यहाँ एक दिन चुनावको चर्चा चुलिन्थ्यो। अर्को दिन चुनाव कतै सुनिदैनथ्यो। गर्मी यति बढ्न थालेको थियो कि मानिसहरु कुरा गर्दागर्दै निदाउँथे। यसरी मानिसहरु स्वाभाविक निदाएको देखेर कनिकालाई अचम्म लाग्दथ्यो। ऊ मनमनै सोच्दथी, ‘कसरी सकेको होला त्यत्तिकै निदाउन।’ अहिलेसम्म कनिका मधेशको एउटा र अरु तीनवटा शहरमा पुगेकी थिइ। ऊ अहिले मधेश प्रदेशको राजधानीका रुपमा चम्किन तयार रहेको जनकपुर शहरमा थिइ। चुनाव अभियानको रिपोर्टिङको हिसाबले उसको जनकपुर यात्रा त्यति फलदायी हुन सकेको थिएन। महत्वपूर्ण नेताहरु कान्तिपुरमा वार्ता र बार्गेनिंग गर्दै थिए। जनकपुर शहरमा ऊसँग चुनावको चर्चा गर्न कोही तयार भएन।

कनिका आफनो बाबाको साथी अविनाश चाचाकहाँ बसेकी थिइ। उसको जनकपुर निवासको टुंगो बाबाले लगाउनुभएको थियो। अविनाश चाचा कनिकाको जनकपुर आगमनले प्रफुल्ल हुनुहुन्थ्यो। चाचाले कनिकालाई निकै आत्मीय भावमा सम्झाउनु भयो, ‘छोरी, कता यो चुनावको चक्करमा लागेकी? यो चुनावको शहर होइन, राम–जानकीको शहर हो। यहाँ आएपछि त घुम्ने हो। आराम गर्ने हो। राम–जानकीले नचाहेसम्म यहाँ चुनाव–सुनाव केही हुँदैन। अहिले यतातिरका मानिसहरुको मन खराब छ। कसैको पनि टाउको ठेगानमा छैन। सबैको मगज खलबलिएको छ। जुड शितलको दिन घरमा आइ पुगेकी छ्यौ। मनमा आनन्द मान। खान खाऊ। तिम्री काकीले तिम्रो लागि भनेर सोइजनको तरकारी पकाएकी छ। मधेशको गर्मीमा सोइजनले मानिसको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ। खाना खाएर आराम गर। साँझ शितल भएपछि विभाशले तिमीलाई गाइड गर्छ। शहरको मुख्य चोकहरु घुमाइ दिन्छ। जानकीजीको मन्दिर जाऊ। गंगासागरमा आरती हेर। कता यो राजनीतिको बवण्डरमा लागेकी छ्यौ।’

अविनाश चाचाको कुरा सुनेर कनिका मनमनै हाँसी । उसको बाबा र अविनाश चाचा चालीस वर्ष देखिका साथी र सहपाठी। कति फरक छ उनीहरुको लाइफ स्टाइल। कहाँ बाबाको लाइफ स्टाइल पूरै युरोपियन छ भने चाचाको पूरै ग्रामीण। दुवैको पेशा एउटै होइन। तर, कसो कसो कामले पनि जोडेको छ दुवैलाई। विगत केही वर्षदेखि अविनाश चाचाले कामको चाप घटाउनु भएको छ। उहाँ अलिकति योग र अलिकति ध्यानमा लाग्नुभएको  छ। गान्धी सत्संगमा पनि हुनुहुन्छ। रिटायर नै त होइन, सेमी रिटायर।

चाचाले भन्नु भएजस्तै, अपरान्ह चार बजेतिर विभाशले कनिकालाई जनकपुर शहर घुमाउन लग्यो। उनीहरु भर्खरै प्रचलनमा आएको इ–रिक्सामा चढेर शहर घुम्न निस्किए। पहिले क्षत–विक्षत अवस्थामा रहेको रेलवे स्टेशन पुगे। रेल थिएन। स्टेशन थियो। स्टेशन बाहिर बजार थियो। त्यसपछि तहस–नहस भै सकेको जनकपुर चुरोट कारखाना, ब्रम्हपुरी र बाह्रबिघाहुँदै उनीहरु जानकी मन्दिर आइ पुगे। मन्दिर पवित्र थियो आस्था र विश्वासको प्रतीक। तर, मन्दिरको पवित्रतालाई जिस्क्याइरहेको थियो परिसरमा रहेको फोहोरले। कनिका विचार गर्दै थिइ, ‘विकास नहुनु नै मधेश विद्रोहको मूल कारण हो। शहरका कुनै सडक साबुत छैनन्। कुनै सुविधा छैन। अस्पताल, स्कूल, मन्दिर, तलाउ सबैको विजोग छ। अनि किन हुँदैन त विद्रोह।’

उसले विभाशसँग चुनावको बारेमा सोधी। विभाशमा प्रचूर राजनीतिक चेतना थियो। उसले जवाफ दियो, ‘जनकपुर यही हालमा चुनावका लागि तयार छैन। नेताहरुले जे सुकै भनुन, यसपटक नागरिकहरुले पनि शान्तिका लागि शर्त राखेका छन्। सोध्दैछन्, हाम्रो देशमा हामीसँग किन भिन्न व्यवहार गरिँदैछ? सरकारले र सरोकारवाला सबै नेताले यसको जवाफ नदिएसम्म जनकपुरमा मात्र होइन, पूरै मधेशभरी कहीँ पनि चुनाव हुन सक्दैन।’

कनिकालाई पनि त्यस्तै लाग्यो। उसले आफनो स्मार्ट फोनको नोट प्याडमा टिपोट गरी, ‘चुनावका लागि दुई साता बाँकी रहँदासम्म कुनै तयारी देखिँदैन। कसरी होला चुनाव?’

विभाशले कनिकालाई जनकपुरको चाट ख्वायो। पापडी चाट खाएर खूब रमाई कनिका। त्यसपछि उसले विभाशलाई सोधी, ‘शहरमा फेशनको रौनक छैन?’ विभाशले कुनै जवाफ दिएन। यहाँका सडकमा युवतीहरुले भडकिलो फेशन गरेर हिंड्ने चलन थिएन। कनिकाले यो कुरा राम्ररी बुझी। उसले विभाशसँग भनी, ‘तन्नेरीहरुको अखडामा चिया पिउन लैजाऊ न।’

उसले कनिकालाई जनक चोक नजिकको रुफटप रेष्टुराँमा लग्यो। उनीहरुले त्यहाँ चिया पिए। शहरका तन्नेरीहरु आ–आफनो मोबाइलबाट कान्तिपुरमा भइरहेको राजनीतिक वार्ताको टिपोट गर्दैथिए। विभाशले उसको साथीसँग सोध्यो, ‘केही डेभलेपमेण्ट भएको छ?’ साथीले जवाफ दियो, ‘छैन। तर केही होला जस्तो चाहीं छ। चुनावमा भाग लिने सम्भावना ६०–४० मा ओर्लेको छ।’ मधेशी दलहरु मिलेर राष्ट्रिय जनता पार्टी बनेकोमा उनीहरु खुशी थिए। तर, सबैको मत थियो, पार्टी र राजनीतिमा युवाहरुको पकड नभएसम्म परिवर्तन हुँदैन।

कनिकाको आँखा एउटा सुन्दर युवक माथि गाडिएको देखियो। ऊ निकै चन्चल देखिएकी थिइ। ऊ आफैं अघि बढेर त्यो युवकसँग परिचय गर्न पुगी। युवकको नाम शितल थियो। गर्मीमा शायद कनिकाले पनि शितल अनूभूत गरी। उसले सोधी, ‘यो मधेश विभाजनको जुन चर्चा, चिन्ता र चासो छ, यो के हो?’

शितलले जवाफ दियो, ‘हामी त कोही पनि नेपालबाट अलग हुन चाहँदैनौ। हामीलाई देशको महत्व थाहा छ। अब कसैले जबर्जस्ती हामीलाई घोक्य्राएर निकाल्न खोज्छ भने प्रतिकार त भै हाल्छ। यो सब ठगी धन्दा हो। मधेश र पहाडका केही नेताहरुको झुटो मान र अभिमानको कुरा मात्रै हो यो।’

कनिका आश्वस्त भई। उसको सोच्ने तरीका र जनकपुरका युवकहरुको सोच्ने तरीका एउटै थियो। रुफटपको चियापछि विभाश र कनिका आरती यात्रामा लागे। गंगासागरमा आरतीका प्रतिबिम्बहरु टल्किइरहेका थिए।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा
कान्तिपुर मेयरमा बाबुराम

कनिकाको नयाँ वर्ष

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell