PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मैदानभित्र जित्ने नेपाली क्रिकेट मैदानबाहिर हार्दै, होला एक महिनामा विवाद समाधान?



गोविन्दराज नेपाल

मैदानभित्र जित्ने नेपाली क्रिकेट मैदानबाहिर हार्दै, होला एक महिनामा विवाद समाधान?

काठमाडौं : सोमबार इएसपिएन क्रिकइन्फोमार्फत क्रिकेटको एउटा समाचार सार्वजिनक भयो, इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले अमेरिकी क्रिकेट संघलाई आगामी जुनको आइसीसी फुल काउन्सिलको बैठकबाट निष्कासन गर्न सक्ने।

यसले नेपाली क्रिकेट जगतमा समेत तरङ्ग ल्यायो, कारण अहिले अमेरिकी क्रिकेट संघसँगै नेपाल क्रिकेट संघ क्यान पनि आइसीसीको निलम्बनमा छ। अमेरिकालाई निलम्बन गर्न सक्ने खबरले नेपाली क्रिकेट समर्थकलाई पनि चिन्तित बनाएको छ। 

ठीक एक वर्षअघि सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो। त्यसयता एक वर्षमा नेपाली क्रिकेटमा निकै उतारचढाव आए। जुन इतिहासबारे सबै जानकार नै छन्। 

क्यान निलम्बन भएपनि नेपाली क्रिकेट निलम्बनमा थिएन र नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनायो। अनि प्रतिस्पर्धा गरेको केही खेलमा जित पनि हात पार्‍यो। 

तर मैदानभित्र जित्ने नेपाली क्रिकेट मैदान बाहिरका समस्या कारण हार्दै आएको छ। 

आइसीसीले सल्लाहकार समितिलाई दिएको विवाद समाधान गर्ने मिति सकिन एक महिना मात्र बाँकी रहँदा क्रिकेट प्लेयर्स एशोसिएसन नेपाल (सिप्यान) द्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपाली खेलकुदका सम्बन्धित सबै सरोकारवाला निकालयले चिन्ता व्यक्त गरे।

क्यान निलम्बन भएपछि आइसीसीले आगामी जुनभित्र क्यान विधान संशोधन गर्दै निर्वाचन गर्ने र संशोधन विधान पास गर्ने गरी सल्लाहकार समिति बनाएको थियो।

सुरुमा ६ जनाको सल्लाहाकार समिति बनाए पनि निलम्बित क्यानको निर्वाचित समिति दाबी गर्दै आएको क्यान पदाधिकारीका दुई सदस्य थपिएपछि सल्लाहकार समिति ८ सदस्यीय बन्यो। 

उनीहरुलाई जुनभित्रमा समस्या समाधान गर्ने समय दिइएको छ। तर आन्तरिक रुपमै केही विवाद बाँकी रहेको सल्लाहाकार समिति मध्येकै एक बसन्त चौधरीले बताए। 

युवा तथा खेलकुद मन्त्री दलजित विक श्रीपालीले आफूभित्रै समस्या रहेको र सल्लाहाकार समितिको काम गराइमा ढिलाइ रहेको बताए। 'कमजोरी हामी आफैँबाट भएको छ अब सबैले समाधान गर्नतिर अगाडि बढ्नुपर्छ।' श्रीपालीले आइसीसीले अमेरिकालाई खारेज गर्न खोज्नु नेपालको लागि 'लेसन' भएको समेत बताए। 

यस्तै उनले सल्लाहकार समितिले अहिले गर्नुपर्ने ३ काम रहेको पनि बताए। 'विधान तयार गर्ने, निर्वाचन गर्ने र विधान स्वीकृत गर्ने।'
यता राष्ट्रिय खेलकुद परिषद्का राखेपका सदस्य सचिव केशव कुमार विष्टले आफूले बुझेअनुसार क्यान खारेज नहुने ठोकुवा गरे। 

'आइसीसी आफैले नेपाली क्रिकेट विकास गर्नका लागि सल्लाहकार समिति बनाएको हो र उनीहरु वर्तमान नेपाली क्रिकेटको अवस्थाप्रति सन्तुष्ट समेत छन्।' विष्टले भने। 'केही व्यक्तिको व्यक्तिगत चाहना र सामान्य समस्याका कारण मात्र छन्।' 

उनले चतुर बहादुर चन्दले भन्दै आएको जस्तो उनीहरुको क्यान निर्वाचित नभएको समेत जानकारी गराए। यस्तै सल्लाहकार समितिमा राखेपको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारे।

सल्लाहकार समितिका विनयराज पाण्डेले मुख्य विषय नेपाली क्रिकेटको विकास र विस्तार हुनुपर्ने बताए। 'हामी अमेरिकाको जस्तो अवस्थामा छैनौँ र केही दिनभित्रै हार्ड डिसिजन गरेर अगाडि बढ्छौँ।' 

यस्तै सल्लाहाकार समितिका बसन्त चौधरीले नेपाली खेलकुदको मुख्य समस्या राजनीतिको प्रवेश रहेको बताए। दुनिँयामा कहीँ पनि खेलकुदमा राजनीति प्रवेश हुँदैन, जहाँको खेलमा राजनीति प्रवेश गर्छ खेलकुदको भविष्य हुँदैन। पछिल्लो समय नेपाली खेलकुदमा राजनीति हावी रहेको छ।

चौधरीले सल्लाहाकार समितिको लक्ष्य अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम स्थापित गर्नेमा रहेको बताए। 

उनले निर्वाचित भनिने क्यान कमिटिले विधान संशोधनको प्रक्रियामा 'हलो अड्काउने' काम गरेको दोष लगाए। तर उक्त कार्यक्रममा निर्वाचित दाबी गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोक नाथ प्याकुरेललाई बोलाइए पनि उनीहरु भने अनुपस्थित रहे। 

क्रिकेटको विकास सबैको साझा प्रयास भन्ने विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा राखेपले निर्माण गरेको तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल, सल्लाहाकार समितिका पवन अग्रवाल, नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, अम्पायर विनय झालगायतले पनि नेपाली क्रिकेटको विवाद चाँडो समाधान हुनुपर्ने विषयमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell