- रविराज बराल/पहिलोपोस्ट-
भर्याङ उक्लिँदै जाँदा अँध्यारो पनि बढ्दै जान्छ। कुनै कोठाका झ्याल उप्केका छन्, कुनैका ढोका। अधिकांश कोठा खाली छन्। छन् त केबल छरपस्ट कागजात, मक्किएका फर्निचर। भित्ताभरी माकुराको जालो। यत्रतत्र सन्नाटा।
उपल्लो तल्लाबाट उज्यालोबिना झर्न मुस्किल पर्ने अर्को भर्याङ छ, जहाँबाट भवनको अर्कोपट्टीका कोठामा पुगिन्छ। वर्षौँदेखि प्रयोगविहीन पुस्तकालय। धेरै पहिला प्रयोगमा आएजस्तो देखिने किचन। अलपत्र थुपारिएका टेबलकुर्ची र दराज। बान्ता होलाजस्तो दुर्गन्ध। कताकता तपतप पानी चुहिरहेजस्तो आवाज। अँध्यारो ब्याप्त कतिपय कोठा पस्दा डरले मुटु फुलेजस्तो हुन्छ।
लाग्छ यो कुनै ‘हरर मुभी’ को ‘हन्टेड हाउस’ हो।
सेडाको पुरानो किचन, जुन अहिले प्रयोगमा छैन।
यहाँ कयौँ पुस्तक, जर्नल र अनुसन्धान प्रतिवेदन यसरी फालिएका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यो ‘डरलाग्दो’ भवन आर्थिक विकास तथा प्रशिक्षण केन्द्र (सेडा) को हो। अत्याधुनिक शैलीमा बनेको यो भवन हिजोआज प्रयोगविहीन हुँदा कथामा वर्णन गरिने भुतघरभन्दा कम देखिँदैन। सेडाको कार्यालय रहेको सँगैको अर्को भवनको पनि हालत करिबकरिब उही छ।
तर २० वर्षअघिसम्म यो संस्थाको अवस्था बेग्लै थियो। तीन दशकदेखि अनुसन्धान केन्द्रमा कार्यरत कार्यालय सहयोगी भगवती पाण्डेलाई खुट्टा चिप्लिने गरी भवनको भुइँ पुछेर टिलिक्क पारेको याद आउँछ। उनी बिहानदेखि बेलुका सम्म कार्यलय परिसरको सरसफाइ, पाहुनाको स्वागत आदिमा व्यस्त भैरहन्थिन्।
‘स्वदेशीविदेशी पाहुना आउँथे। तालिम, गोस्ठी अनेक कार्यक्रम भैरहन्थे’, कामविहीन भएपछि सेडा परिसरमा सहकर्मीहरुसँग गफ गर्दै समय बिताइरहेकी पाण्डे भन्छिन्, ‘त्यतिबेला त एकछिन बस्ने फुर्सद हुँदैनथ्यो।‘
भगवती (निलो लुगामा) ले तीन दसकमा सेडाको उत्थान र पतन दुबै देखिन्।
बाहिरबाट हेर्दा सेडाको भवन।
सेडामा अनुसन्धानकर्ताका रुपमा ३४ वर्षको सेवापश्चात हालै सेवानिवृत्त भएका डा. हरिध्वज पन्तले आफ्नो सेवाअवधिमा सेडाको उत्थान र पतन दुबै देखे। ‘यी भवन कुनैबेला प्राज्ञिक अनुसन्धानका कामले खचाखच हुन्थे, राष्ट्रियअन्तराष्ट्रिय प्राज्ञिक बहसको केन्द्र थियो भनेर पत्याउन अहिले यहाँ आउनेलाई मुस्किल पर्छ’, डा. पन्त आफैलाई प्रश्न गर्छन्, ‘सुरुका दिनमा नेपाल सरकारको बजेटसम्म यहीँबाट तयार हुन्थ्यो भन्दा अब कसले पत्याउला?’
सेडाको कथा
सेडामा रहेको पुस्तकालय मुस्किलले खुल्छ। न पढ्न आउने मानिस छन्। न पुस्तकालय नै व्यवस्थित छ। सेडाले अर्धवार्षिक रुपमा छापिनुपर्ने ‘जर्नल अफ डेभलपमेन्ट एण्ड एड्मिनिस्ट्रेटिभ स्टडिज्’ पनि नियमित गर्न सकेको छैन। वार्षिक प्रकाशन ‘सेडा न्युज’ भने मुस्किलले प्रकाशित भैरहेको छ।सेडासँग करिब एक सय जना क्षमताको सभाहल छ। ३०/३० जना अट्ने दुईवटा गोष्ठी कक्ष छन्। यिनको प्रयोग पनि हुन सकेको छैन।
तत्कालिन श्री ५ को सरकार, त्रिभुवन विश्वविद्यालय (त्रिवि) र अमेरिकी अनुसन्धान संस्था फोर्ड फाउन्डेसनको त्रिपक्षीय सम्झौताबाट २०२६ जेठ २ गते स्थापना गरिएको सेडा सुरुमा स्वायक्त संस्था थियो। पशुपति शमशेर राणा केन्द्रका पहिलो कार्यकारी निर्देशक थिए।
राष्ट्रिय शिक्षा योजना २०२८ लागू भएपछि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकलाई डिन मातहत लगेर डिनलाई सर्वेसर्वा बनाइयो। पछि २०३२ मंसिर २९ गते यसलाई त्रिविको अनुसन्धान केन्द्रको मान्यता दिइयो। त्यसपछि सरकार, गैरसरकारी क्षेत्र र दातृ निकायका लागि अनुसन्धान, तालिम तथा परामर्श (कन्सल्ट्यान्सी) सेवा दिँदै आएको सेडा पछिल्ला वर्षमा राजनीतिक हस्तक्षेप, कर्मचारीको जागिरे मनोवृत्ति र त्रिविको स्पष्ट नीति अभावका कारण बेकामे बनेको छ।
स्थापनापछिका वर्षहरुमा सरकारका उपसचिवसम्मका कर्मचारीलाई सेवाकालीन तालिम दिने, प्रमुख जिल्ला अधिकारीहरुलाई ६ महिने आवासीय तालिम दिने लगायतका काम गर्थ्यो। तर २०३९ सालमा सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) स्थापना गरेपछि सेडामा निजामती कर्मचारीको तालिम रोकियो। त्यसपछि अनुसन्धाकार्यमा मात्र खुम्चिएको सेडाको भूमिका ४६ पछि झन् नाजुक बन्यो। अनुसन्धानका काम पनि रोकिए। ओरालो लागेका अनुसन्धान केन्द्रहरु ५५ सालपछि उठ्नै नसक्नेगरि थला परे।
सेडामा अनुसन्धान र तालिमका अतिरिक्त वैचारिक बहस पनि हुन्थ्यो। पञ्चायतको जगजगी भएकाले अन्यत्र राजनीतिक विचार व्यक्त गर्न सक्ने अवस्था थिएन। नेताहरु यहाँ आएर विभिन्न विषयमा भाषण गर्थे। तर ४६ सालमा प्रजातन्त्र आएपछि सबै राजनीतिक बहस र भाषण टुँडिखेल र रत्नपार्कमा हुन थाले। बहस बन्द भयो।
तालिमको प्याकेज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले लग्यो। पछि पैसा आउन छाडेपछि प्राज्ञिक अनुसन्धान हुन छाड्यो। अनुसन्धान केन्द्र मूलरुपमा कन्सल्ट्यान्सीमा फेरिपछि यसका नराम्रा दिन सुरु भए।
सेडामा २० जना ‘सपोर्टिङ स्टाफ’ छन्। छजना कार्यालय सहयोगी छन्। तर भवन बाहिरेको घाँसे मैदानदेखि कार्यालयका कोठा चाहर्दा लाग्छ, यो कसैको जिम्मेवारीभित्र पर्दैन।
किन यस्तो जिर्ण छ त भवन? सेडाका कार्यकारी निर्देशक डा. रामचन्द्र ढकाल भन्छन्- ‘भवन बनेको करिव ५० वर्ष भैसक्यो तर मर्मतसम्भारका लागि सरकारले बजेट दिएको छैन। भौतिक कुरा हो बिग्रन्छ। नियमित मर्मतसम्भार चाहियो नि। रङ खुइलिन्छ। इटा उप्किन्छ। सरकारको चासो नै छैन।‘
सेडाको पुस्तकालय जुन बन्द छ।
कर्मचारी सेडाको यो हबिगत हेरेर पुरानै सेडा सम्झिन्छन्, जुन बिहानदेखि बेलुकासम्म अनुसन्धाताले भरिभराउ हुन्थ्यो। कार्यक्रमहरु भैरहन्थे। काम पनि हुन्थ्यो र पैसा पनि।
उनीहरुको भनाई छ- काम गरेपछि अतिरिक्त पैसा चाहियो।
‘लुकाउने कुरा छैन। काम गरेपछि त्यहीअनुसारको पैसा चाहियो,’ कार्यालय सहयोगी भगवती पाण्डे भन्छिन्, ‘कुनै बेला बिहानदेखि बेलुकासम्म काम गरेकै हो। अहिले उनीहरु खल्ती भर्छन्, न हाम्रो मतलब छ, न यो कार्यालयको।‘
- यो पनि पढ्नुहोस् : ओरालोमा प्रज्ञिक अनुसन्धान
यसरी बन्यो सेडा भवन
प्रा. डा. कार्ल प्रुस्चा
स्टुडियो ह्याबिट्याट, इन्भारोमेन्ट एण्ड कन्जरभेसन
अस्ट्रिया
स्टुडियो ह्याबिट्याट, इन्भारोमेन्ट एण्ड कन्जरभेसन
अस्ट्रिया
मैले डिजाइन गरेको भवनको अवस्था कस्तो छ भन्नेबारे म लामो समयदेखि अनविज्ञ थिएँ। भवनको तस्बिरसहित पहिलोपोस्टले इमेल गर्यो म निकै दु:खी भएँ। करिअरको सुरुवातताका मैले डिजाइन गरेको भवनको दूरावस्थाले म चिन्तित भएँ।
सन् १९६४ मा संयुक्त राष्ट्रसंघले मलाई नेपालको क्षेत्रीय विकाससम्बन्धि अवधारणाको मस्यौदा तयार पार्न जिम्मा दिएको थियो। हाम्रो समूहमा एकजना नेपाली भूगोलशास्त्री, आर्थिक विकाससम्बन्धि एक अन्तराष्ट्रिय विज्ञ र भौतिक योजनाकारका रुपमा म सहभागी थियौँ। हाम्रो काम सम्पन्न गर्नेक्रममा नेपालका अतिविकट क्षेत्रसम्म पुगेको मलाई अहिले पनि याद आउँछ। तर नेपालको तत्कालिन सरकारबाट भने खासै सहयोग पाइएन।
स्थानीय पञ्चायत र काठमाडौंमा रहेको केन्द्रीय सरकारबीच सञ्चारको अभाव नै पूर्वाधार, स्वास्थ्य, शिक्षाजस्ता विभिन्न अतिआवश्यकीय क्षेत्रमा सहकार्यका लागि बाधक रहेछ भन्ने हामीलाई महसुस भयो। त्यसपछि हामीले नेपालका विभिन्न क्षेत्रमा नेतृत्व विकास गर्ने, स्थानीय नागरिकलाई आफ्नो अवस्था अभिव्यक्त गर्न र केन्द्रीय पञ्चायतसम्म आफ्ना माग स्पष्ट ढंगले तर्जुमा गर्न सिकाउने संस्था आवश्यक रहेको ठहर गर्यौँ। संस्था स्थापनाका लागि पहल समेत थाल्यौँ। सोचलाई मूर्तरुप दिन मैले सभागृह, प्रशासनिक कार्यालय, पुस्तकालय तथा सम्मेलन कक्षहरु रहेको भवनको प्रारुप तयार पारेँ। भवनको अर्को भागमा आवासगृह, भान्छाघर तथा डाइनिङ हल थिए।
भर्खर निर्माण भएको बेला सेडा यस्तो थियो। फोटो सौजन्यः डिजाइनर प्रुस्चा।
भवन निर्माणका लागि काठमाडौं नजिकै रहेको कीर्तिपुर प्रस्ताव गरेँ। उक्त क्षेत्र वरपर धानखेतमात्र थियो। प्लास्टरविहीन भवन निर्माण गर्ने, पर्खाल र ठाडो संरचना निर्माणका लागि हरिसिद्धी इँटा र तेर्सो संरचना, भुइँ तथा छत निर्माणका लागि पूर्वनिर्मित हलुका कंक्रिट प्यानल निर्माण गर्न हाम्रो प्रस्ताव थियो। इँटा, कंक्रिट प्यानल जस्ता निर्माण सामग्रीको डिजाइन इन्जिनियर डा. जेनोन अल्बर्ट जेइलन्स्कीले गरेका थिए।
उद्देश्य राम्रो भए पनि तत्कालिन सरकारकै कारण यो परियोजनामा अवरोध आयो। योजनालाई मूर्तरुप दिन बनाइएको भवनलाई सरकारले पञ्चायत व्यवस्थाविरुद्ध प्रयोग हुनसक्ने खतरा देख्यो। श्री ५ को सरकार नेपालमा आधारभूत लोकतन्त्रको विकास होओस् भन्ने चाहँदैनथ्यो। केही समयपश्चात यसलाई पशुपति समशेर राणाको नेतृत्वमा आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्रमा परिणत गरियो। पछि यसलाई पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत लगियो।
भवनमा नेपालको तत्कालीन बास्तुकलालाई मिसाउने मेरो प्रयास पूर्णरुपमा सफल भएको थिएन। तर पछि जापानी आर्किटेक्चरहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भवन निर्माण गर्न सेडा भवनको अध्ययनपश्चात मेरो ‘आर्किटेक्चरल ल्याङ्ग्वेज’ प्रयोग गरेको थाहा पाउँदा मलाई निकै खुसी लाग्यो। (सेडाका डिजाइनर प्रुस्चाले पहिलोपोस्टलाई पठाएको इमेलको अनुवाद)