PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यौन : अधिकार कि अपराध ?



यौन : अधिकार कि अपराध ?

  • अविरल थापा - 
यौन कर्मलाई हाम्रो समाजले जहिले पनि आवरणमा घृणित शव्दको रुपमा लिँदै आएको छ तर पर्दापछाडि भने यसको उपभोग उत्तिकै सक्रियतापूर्वक हुने गरेको पाइन्छ। शिवलिङ्ग र योनीको पूजा चाहिँ श्रद्धापूर्वक गर्नु, मन्दिरमा देखिने टुँडालहरुमा कुँदिएका यौन आकृतिहरुले एकातिर समाजमा खुल्लारुपमा यौनको आराधना भइरहेको देखाउँछ भने अर्कोतिर यौनको विरोध गरेर यही समाजले पाखण्डी प्रवृत्ति देखाइरहेको छ।

यो लेखनीको प्रसङ्ग प्रहरीले होटलहरुमा छापा मार्दा यति जोडी पक्राउ भनी छापा र अन्य माध्यममा आउने समाचार र त्यसले पार्ने प्रभावमा केन्द्रित रहेको छ। प्रहरीसँगै गएर छापामार्ने क्रममा लिइएका तस्विर तथा दृश्य सामग्रीलाई संचारमाध्यममा जसरी प्रस्तुत गरिँदै आएको छ त्यसमा संचारमाध्यम र संचारकर्मी पनि उत्तिकै गैरजिम्मेवार देखिन्छन्। जिम्मेवारिता र विना कुनै आधार प्रस्तुत हुने त्यस्ता सामग्रीले कस्तोखाले मनोवैज्ञानिक एवं सामाजिक असर पुर्‍याउन सक्छ भनी मूल्यांकन नगरी प्रसारण एवं प्रकाशन गर्नु निर्लज्ज र निकृष्ट कार्य हो।
 
आखिर यौनलाई हाम्रो समाजमा किन यति जटिल विषय बनाइँदै छ त ? खुल्लारुपमा सार्वजनिक स्थलमा  हुने यौनजन्य क्रियाकलापलाई त समाज या कानुनले बन्देज लगाउँदै आएकै छ। त्यो जायज पनि हो तर के उमेर पुगेका युवायुवतीले आपसी सहमतिमा बन्द कोठा भित्र यौन सम्वन्ध राख्न पाउँदैनन् त ?

किन प्रहरी प्रशासन नै लागेर बन्द कोठाभित्र बसेका पति, पत्नी, प्रेमी प्रेमिका या अन्य जोडीलाई आपराधिक काम भन्दै पक्राउ  गरिँदैछ ? के यौन सम्बन्ध राख्नु अपराध हो ? के वेश्यावृति गर्नु र यौन सम्वन्ध राख्नु एउटै कुरा हो ? यदि यो अपराध हो भने सारा समाजनै अपराधी हो यदि हैन भने यौन सम्वन्ध राखेकै आधारमा कोही किन र कसरी अपराधी हुन सक्छ ? के यौन सम्पर्क राख्न पनि प्रहरी प्रशासनको वा पत्रकारहरुको स्वीकृति लिएर जानुपर्ने हो ? के प्रहरीलाई होटलहरुमा गएर जस्लाई पनि मन लागी पक्राउ गर्ने अधिकार छ ? के अब पति पत्नीलाई  होटलमा सँगै रात बिताउन मनलाग्यो भने विवाहको प्रमाणपत्र बोकेर हिंडनुपर्ने हो?
 
बेलाबखत समाचारमा आएअनुसार कैयन विवाहिता जोडीहरु समेत अनाहकमा समातिएका छन् र उनीहरुको मानमर्दन गरिएको छ। यसले पार्ने सामाजिक, मानसिक र मनोवैज्ञानिक तनावको क्षतिपूर्ति प्रहरी प्रशासनले कसरी तिर्छ ? यो कानुनको उपयोग हो, दूरुपयोग हो या शक्तिको तुजुग देखाइएको हो ?
 
छापा प्राय सामान्य होटलहरु र गेष्ट हाउसहरुमा मारिन्छ जहाँ निम्न मध्यमवर्गीय र  मध्यम वर्गीय मानिसहरुको पहुँच पुग्छ। तारे होटलहरुमा प्रहरीले कहिल्यै छापा मार्दैन किनकि त्यहाँ छापा मार्ने हैसियत प्रहरीले राख्न सक्दैन। धनीहरुलाई जहाँ पनि छुट छ तर यो देशमा गरीवहरुलाई यौन सम्पर्क राख्ने पनि छुट छैन। के यौन धनीहरुको मात्र बपौती हो ?
 
जैविक विज्ञान अनुसार किशोरावस्थाको विकाससँगै हरेक मानिस यौनको लागि योग्य हुँदै जान्छ र किशोरावस्थाको अन्त्यसँगै ऊ शारिरीकरुपले यौन सम्वन्ध राख्न परिपक्व बन्छ। स्वस्थ मानिस र प्राणीमा यौन चाहना हुनु स्वाभाविक र प्राकृतिक कुरा पनि हो। यो हरेक प्राणीको जैविक आवश्यकता पनि हो। यौन कुण्ठा पालेर राख्नु भन्दा यसको सही तरिकाले उपभोग गर्नु स्वास्थ्यका हिसावले पनि राम्रो मानिन्छ। यौनलाई दवाएर राख्दा यसले मनोवैज्ञानिक असर पार्ने र कालान्तरमा यौन अपराधसम्म पुग्न सक्ने पनि अनुसन्धानहरुले देखाएको । कतै समाजमा बढदै गएको बलात्कारजन्य अपराधमा यौन कुण्ठाको भूमिका त छैन ? गम्भीर विश्लेषण गर्नुपर्ने बेला भएको छ। 
 
समाज विज्ञान अनुसार पनि यौनको विषयमा सानै बेलादेखि मानिसले देख्दै, सुन्दै, पढदै आएको हुन्छ र यस बारे खुल्दुली उसलाई उमेरको विकासक्रमसँगै बढदै जान्छ। मनोवैज्ञानिक रुपमा भोगेरै यसबारे जानकार हुने अभिलाषा सुशुप्त रुपमा मन मष्तिष्कमा रहेको हुन्छ।
 
हाम्रो समाजमा यौनलाई जहिले पनि विवाहसँग जोडेर हेर्ने गरिन्छ। के साँच्चै यौन सम्बन्ध विवाह पछि मात्र राख्नहुने या पर्ने हो त ? यौनलाई विवाहसँग किन जोडिएको होला? कुनै बेला थियो पहिला जब गर्भ निरोधक अस्थायी साधनको आविष्कार या प्रचलन थिएन त्यसबेला विवाह पहिला गरिने यौन सम्वन्धले गर्भ रहेको अवस्थामा आइपर्ने झन्झट र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने असरलाई मूल्याकंन गर्दै त्यसो भनिएको थियो। तर आज विज्ञानले धेरै फड्को मारिसकेको छ। यौन अब परिवार र समाजको नियन्त्रणमा छैन, यसलाई मानिसहरुले व्यक्तिगत अधिकारको रुपमा लिन थालिसकेका छन्।
 
अभिभावकहरुले पनि उमेर पुगेका छोराछोरीलाई यौन सम्बन्ध राख्नुहुँदैन भन्नु भन्दा पनि बरु बलात्कार चाहिँ गर्नुहुँदैन तर कसरी सुरक्षित यौन सम्पर्क राख्ने भनेर सिकाउनुपर्ने र सचेत हुन सिकाउनुपर्ने समय आएको छ। यसो गर्दा अभिभावक र छोराछोरी दुवैलाई यौन अनुशासन कायम गर्न सहयोग पुर्याउनेछ। किनकि कुनै पनि छोराछोरी आज म यौन सम्पर्क राख्न जाँदैछु भनेर जानकारी दिएर जाँदैनन्। विवाहपूर्व यौन सम्बन्ध राख्न हुँदैन भनेर समाजले यौनलाई मर्यादित र अनुशासित बनाउन खोजेको त हो तर समयमा यतिधेरै बदलाव आइसकेको छ कि युवाहरु यौनमा उदारता खोज्न थालेका छन्। र यो समाजको निर्देशनमा हैन व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्न थालेका छन्।
 
मनपरेपछि यौन सम्वन्ध राख्नु सामान्य भइसकेको छ। त्यसैले बेलैमा पाखण्ड छोडेर यौन शिक्षा दिन सके राम्रो हुनेछ। यौन वयस्क भएपछि हरेक युवायुवतीमा एक अर्कामा आकर्षण भई स्वाभाविक रुपमा हुने कुरा हो। के यस प्राकृतिक कुरालाई कानुनका दफा या समाजका नकारात्मक आँखाले रोक्न सक्छ त? यसलाई कानुन लगाएर रोक्छु भन्नु मूखर्ता हो किनकि खाने मुखलाई जुँगाले छेक्न सक्दैन।
 
अब कानुन या समाजले यसलाई कसरी रोक्ने भन्दा पनि कसरी व्यवस्थित र मर्यादित बनाउने भन्नेतर्फ सोच्नु वुद्धिमानी हुनेछ। आपसी सहमतिमा कुनै उमेर पुगेका प्रेमीप्रेमिका या जोडीले होटलको बन्द कोठाभित्र यौन सम्बन्ध राख्न किन नपाउने? यदि पाइँदैन भने यौनको लागि कहाँ जानुपर्ने हो राज्यले यसको बन्दोबस्त मिलाउन सक्नुपर्यो ? कि त विवाहपूर्व यौन सम्वन्ध राख्नै पाईदैन भनेर कानुन नै बनाउने हिम्मत गर्न सक्नुपर्यो। हाम्रो समाज यस्तो पाखण्डी समाज हो जहाँ वेश्यावृति पनि भइरहेकै छ र त्यसको लागि बरु निश्चित ठाउँ तोकौ भन्दा पनि विरोध आइरहेको छ। आखिर यही समाजकै मानिसको उपस्थितले त सबै चलिरहेको छ।

अर्को कुरा यौन सम्वन्ध राख्नु र वेश्यावृति गर्नु एउटै कुरा हैन भनेर पनि सबैले बुझनुपर्यो। कसैलाई बेच्न नै मन छ भने नीति नियमले बाँध्नुपर्यो र स्थान तोकिदिनु पर्यो ताकि खुलेआम विकृति नबढोस्। अब अनावश्यक ढोंग देखाउन छोडेर वेश्यावृतिलाई पनि सामाजिक र कानुनी तवरले व्यवस्थित गर्नु र त्यसको सही कार्यान्वयन भए नभएको अनुगमन चाहिँ गर्नु अति आवश्यक भइसकेको छ।
 
बन्द कोठाभित्र उमेर पुगेका युवाले आपसी सहमतिमा यौन सम्वन्ध राख्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो। यसलाई अपराध देख्नु समाज, प्रहरी र कानुनको दिवालियापन र पाखण्ड  बाहेक केही हैन। संचारमाध्यम पनि गैरजिम्मेवार तरिकाले प्रस्तुत हुनु अमर्यादित कुरा हो। यसको साटो राज्यलाई यौन कर्मलाई अनुशासित बनाउन कानुन बनाउन बहस चलाउनु र यौन अपराध रोक्न चेतना जगाउने सामग्री प्रकाशन एवं प्रसारण गर्नु उचित हुनेछ। अब सबै मिलेर यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने निचोडमा पुगी कदम चाल्नु नै समयको आवश्यकता र समाधान हो। आउनुहोस पाखण्ड देखाउन छोडेर खुलेर यौनको बारेमा कुरा गरौं, समाजमा यौनको उचित व्यवस्थापन गर्ने मार्ग खोजौं, यौनबारे चेतना जगाऊँ। यौनलाई कसरी दमन गर्ने हैन कसरी व्यवस्थापन गर्ने भनेर शिक्षा फैलाऊँ जसकारण यौनसँग सम्वन्धित अपराध र घटनामा पनि कमी आओस्।
स्नातकोत्तर, समाजशास्त्र(त्रि.वि)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell