PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पुराना पार्टीलाई भोट दिन्न : नवीन के भट्टराई



स्वेच्छा राउत

पुराना पार्टीलाई भोट दिन्न : नवीन के भट्टराई

काठमाडौं : वैशाख ३१ को निर्वाचनमा आफ्नो निकट रहेको दललाई जिताउन कलाकारहरु खटिएका छन्। गायक गायिकादेखि कलाकारहरुले चुनावी सभामा पुगेर मतदातालाई विभिन्न दल प्रति आकर्षित गर्न सहयोग पनि गरिरहेका छन्। 

तर गायक नवीन के भट्टराई भने चुनावी प्रचारमा नगए पनि यसपटक पुराना राजनीतिक शक्तिलाई मतदिने पक्षमा छैनन्। उनी काठमाडौं महानगरपालिकाको मतदाता हुन्। 

पहिलोपोस्टसँग कुरा गर्दै नवीन के भट्टराईले भने, 'अब फेरि सत्तामा रहेका पुराना पार्टीलाई नै ठाउँमा पुर्‍याउन योगदान गर्दिन। युवाले अवसर पाउनु पर्छ। र त्यसका लागि मतदान गर्छु।' 

भट्टराई व्यक्तिगत सम्बन्धहरुले पनि मतदानमा असर पार्ने स्वीकार्छन्। तर पुराना राजनीतिक दलभन्दा आफ्नो नयाँ राजनीतिक शक्तिमा रुपमा उदाउन लागेकाहरु प्रति मोह रहेको उनले बताए। 

भने, 'मैले केही नयाँ उम्मेद्वारहरुको काम गर्ने क्षमता देखेको छु। नेतृत्वदायी भूमिका निभाउने तरिका देखेको छु।' 

नविन के भट्टराईले दोस्रोपटक मतदानको अनुभव संगाल्दै छन्। उनले यसअघि भएको स्थानीय तहको चुनावमा मतदान गरेको सम्झदै भने, 'त्यस समय पनि गलत मान्छेलाई त भोट गरिनछु। तर अहिले मैले त्यो बेलाभन्दा बढी बुझेको छु।' 
पहिला परिवारको झुकाव भएकै पार्टी समर्थन गरेको बताए। 

परिवर्तन चाहनेले सत्तामा देखिने अनुहार पनि परिवर्तन गराउनु पर्छ भन्ने उनको बुझाई छ। 'युवाले कसरी गर्छन् त्यो हेर्ने। जिम्मेवारी कसरी उठाउँछन् मुल्याङ्कन गर्ने र नसके नयाँ बाटो खोज्ने हो,' उनले भने।

नविन के भट्टराईलाई व्यक्तिगत रुपमा भने राजनीतिमा धेरै चासो छैन। तर नैतिक समर्थन गर्नबाट आफू पछि नहट्ने बताए। 

'म परिवर्तन चाहन्छु र परिवर्तनको लागि राजनीतिक सोच र प्रवृत्ति परिवर्तन आवश्यक छ। परिवर्तन गर्ने जिम्मेवारी उठाउन हिम्मत गर्नेको म समर्थन गर्छु।'

उसो त घर परिवारमा केही वर्ष यता राजनीतिक छलफल हुन छोडेको बताउँछन् नबिन। 'भइरहेको राजनीतिक वातावरणले केही परिवर्तन गराउने वाला छैन भन्ने लाग्न थाल्यो, त्यसले राजनीतिप्रति विरक्त बनाएका कारण पनि छलफल भएन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell