PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

महिला उम्मेद्वार ग्लामरका लागि होइनन् : सबिना अर्याल 



स्वेच्छा राउत

महिला उम्मेद्वार ग्लामरका लागि होइनन् : सबिना अर्याल 

काठमाडौं : जब स्थानीयले चिनेको हुन्छन्, बुझेको हुन्छन् व्यवहार गरेको हुन्छन् तब स्थानीय तहमा केही काम गर्न साथ, सहयोग अवश्य मिल्छ। यही आशा छ काठमाडौं महानगरपालिकाको उप मेयर पदमा उठेकी सबिना अर्याललाई। 

नयाँ शक्ति पार्टीबाट उम्मेदवार चुनिएकी उनले वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचलाई अवसर मानेकी छिन् र चुनौति पनि। पहिलोपोस्टसँग कुरा गर्दै भनिन्,'आ-आफ्नो पार्टीबाट आफूलाई सही दाबी गर्नेहरु उठ्नु भएको छ। यो राम्रो कुरा हो। तर हामीले प्रतिशोध नराखी प्रतिस्पर्धीकै रुपमा प्रस्तुत हुनुपर्छ।' 

उनी मङ्गलबार अबेरसम्म कोटेश्वर भित्रका गल्लीहरुमा चुनावी प्रचारका लागि व्यस्त थिइन्। पार्टीकै केही सदस्यसहित मत माग्न हिँडेकी उनमा आत्मविश्वास र ऊर्जा प्रस्ट देखिन्थ्यो। सबिना भन्छिन् पनि त्यही- 'इच्छाशक्ति, नेतृत्व क्षमता र आत्मविश्वास नै मलाई जिताउनुको आधार हो भन्छु।' 


२०४८ सालबाट राजनीतिक यात्रा सुरु गरेकी सबिनाको लागि काठमाडौंको अभाव र पूरा नभएका आवश्यकता हाउगुजी होइनन्। काठमाडौंकी स्थानीय हुन् उनी जसले खानेपानी, ढल, सार्वजनिक सवारी साधन देखि महिला भएकै कारण हुने दुर्व्यवहार भोगेकी छिन्। सबिना यो सब अनियमितता, अभाव र राजधानी भित्रको नकारात्मक प्रवृत्तिको न्यूनिकरणका लागि एकपटक पदमा पुग्न चाहन्छिन्। 

यसको अर्थ कुनै पदमा नहुँदा समाजका लागि कुनै पनि योगदान नपुर्‍याउनु भने होइन। उनले आफ्नो रहरले सामाजिक कार्यमा निरन्तर काम गरिन्। सेन्टमेरिजको स्कूलिङपछि पद्मकन्यामा अर्थशास्त्र पढेकी उनले रहरै रहरले कम्युनिटी डेभलपमेन्टका लागि काम गर्न थालिन्। 'पढाइ एकातिर काम अर्को तिर भयो। तर पनि कामले बढी सिकायो, जनतासँग इन्टऱ्याक्ट गर्ने मौका पाएँ, समाज बुझ्न पाएँ', सामाजिक कार्यमा संलग्न रहनुको अनुभव सुनाइन्। 

आफूले काठमाडौंको अवस्था, जनता र उनीहरुको आधारभूत आवश्यकता नजिकबाट बुझेकै कारण आफूमा समाधान गर्ने बाटो बारे जानकारी भएको उनको दाबी छ। 

२०५३ मा अखिल नेपाल महिला संघकी कोषाध्यक्ष निर्वाचित उनी माओवादी केन्द्रीय सदस्य र नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य समेत रहिन्।

'पुराना नेतालाई धन्यवाद र बाई बाई'

पुराना राजनीतिज्ञले गरेको प्रयत्नका लागि नयाँ राजनीतिज्ञ धन्य रहनु पर्छ किनकि उनीहरुले देशमा गणतन्त्र स्थापना गरे भन्ने उनको मान्यता छ। 'तर गणतन्त्र महसुस गराउने जिम्मेवारी हाम्रो काँधमा छ। पुराना पार्टी र राजनीतिज्ञले त्यो काम गर्न सकेनन्', राजनीतिमा प्रत्यक्ष देखिएर आफूले बनाएको धारणा यसरी सुनाउँछिन्,'अब पुरानालाई धन्यवाद भनेर विदाई गर्ने बेला भएको छ।' 

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उठेकी उनले अनुभवी र उमेर हदले पाकाहरुसँग प्रतिस्पर्धा गर्नुछ। जसका लागि आत्मविश्वास मात्र बलियो भएर जित सम्भव छैन। एजेन्डा बलियो हुनु पर्‍यो र आम मतदातासँगको सम्बन्ध पनि। 

एजेन्डा बारे अर्यालको मत कस्तो छ त?

स्काइ ब्रिज र मेट्रो रेल एजेन्डा होइनन् सपना हो भन्ने सबिना अर्यालको धारणा छ। 

'जनतालाई सपना मात्र नदेखाइयोस्। ती सबै भौतिक पूर्वाधार सम्भव छ तर हाम्रै कार्यकालमा होइन',

अस्तव्यस्ततालाई नियन्त्रण गर्नु र आधारभूत आवश्यकता पूरा गर्नु सुरुवाती आवश्यकता हो भन्ने सबिना अर्याल सोच्छिन्। 

'युवा आजको आवश्यकता हुन्' उनी पूरै सहमत छिन्। नयाँ सोच, उर्जा, जोस् र दृष्टिकोणले अब ठाउँ पाउनै पर्छ। नयाँ सोचको अर्थ भइरहेको समस्याको समाधान र आवश्यक वस्तुहरुको पूर्ति गर्छु भन्ने दृढता भएको नयाँ अनुहार र पार्टीहरु हुन्।'

'चुनावको नतिजा के हुन्छ थाहा छैन तर मेरो भिजन सपना देखाउने होइन आधारभूत आवश्यकता पूर्ति गर्ने हो', आफ्नो भिजन बारे प्रस्ट पार्दै भन्छिन्, 'भाषणमा मात्र मेट्रो रेल कुदाउनाले बेलुकी घर फर्किन एनएसी अगाडि गाडी कुर्नेको भिडले गरेको आश अन्यायमा पर्छ।' 

'मेट्रो रेल एजेन्डा होइन सपना हो'

काकाकुल बनेर मेलम्ची खानेपानी योजना पूरा हुने दिन कुरेको काठमाडौंमा खानेपानी अभाव मुख्य समस्या हो भन्ने उनको बुझाइ छ। शुद्ध र सफा खानेपानी दिन सक्छु भन्ने मेरो आत्मविश्वास छ। 'पहिला खानलाई 'पानी दिउँ त्यसपछि जहाज चढ्ने/चढाउनेबारे सोच्नु पर्छ।' 
त्यस्तै पर्यावरण उनको मुख्य एजेन्डा हो। बिग्रँदो वातावरणले पारेको असरलाई न्युनिकरण गर्न अत्यावश्यक छ, यो अर्यालले अनुभव गरेको विषय हो। स्वास्थ्यदेखि दैनिक क्रियाकलापमा धुँवा र धुलोले निम्त्याएको समस्या कम गर्न आफू लागि पर्ने उनको दाबी छ। 
ट्राफिक व्यवस्थापनमा पनि आफूले प्रत्यक्ष योगदान पुर्‍याउने उनले बताइन्।

'महानगरपालिकाले मल र ठूला भवन बनाएर भाडामा लगाउन छोड्नु पर्छ। ती खाली जग्गामा मल्टिस्टोरेज पार्किङ बनाउनु पर्छ। त्यसले काठमाडौंको ट्राफिक व्यवस्थापनमा धेरै सहयोग गर्छ', मल्टिस्टोरेज पार्किङको आवश्यकता बारे उनी भन्छिन्, 'जाम, दुर्घटना र अस्तव्यस्तताको सही विकल्प हो ठूला पार्किङ।'

त्यस्तै ट्राफिक व्यवस्थापनको लागि आधारभूत संरचना निर्माणमा पनि आफ्नो ध्यान रहने बताइन्। 

भूकम्पपछिको पुनसंरचना सबिनाको एजेन्डाको अर्को विषय हो। 'दुई वर्ष बित्यो तर न धरहरा बन्यो न वसन्तपुर। योजना बनाउने पूरा नगर्ने प्रवृत्तिलाई पाठ सिकाउनका लागि पनि पुन निर्माण भिजन आवश्यक देखेको छु, विश्व प्रख्यात संरचनाहरु त पुन: बनाउनै पर्छ।' 
तर उनी सांस्कृति, धार्मिक र ऐतिहासिक सम्पदाहरु जस्ताको त्यस्तै बनाउनु पर्छ भन्ने पक्षमा छैनन्। 'सांस्कृतिक र परम्परागत बनावट हुनुपर्छ सँगै ती सम्पदाहरुमा प्रविधिको जडान अत्यावश्यक छ', उनको भिजन बोल्छ। 

'महिला उम्मेद्वार पुरुषवादी सोचको नतिजा'

उपमेयरका लागि प्राय पार्टीले महिला उम्मेद्वार उठाएको छ। जसका कारण सामाजिक सञ्जालमा ती महिला पात्रबारे अनावश्यक टिप्पणी व्यक्त भएको देखिन्छ। 'सामाजिक सञ्जालमा युवाले राजनीतिप्रति देखाएको चासो सकारात्मक मान्न सकिन्छ तर धारणा बनाउनु अघि सबैले यो बुझ्न आवश्यक छ कि महिला उम्मेद्वार ग्लामरका लागि होइनन्', केही निराशा पूर्ण भावमा भन्छिन्,'अनिवार्य मेयर वा उप मेयर मध्य एक महिला बनाउन पर्ने भएकाले महिला संलग्नता देखिएको हो नत्र यति पनि देखिँदैन'थे।' उनले यसो हुनुलाई पुरुषवादी सोचको उपज बताइन्। 

त्यसैले पनि महिलाको जीत र महिलाप्रधान एजेन्डा आवश्यक छ। उनी महिला पुनर्स्थापना केन्द्र, महिला सेल निर्माण गर्न चाहन्छिन्।

'उपमेयरलाई बुझ्नुस्'

आफ्नो स्तरबाट केही दिनयता प्रचार प्रसारमा रहेकी उनले आफ्नो महानगरपालिकाका मतदाताहरुको मनोविज्ञानलाई पनि नियाल्ने संघर्ष गरिन्। मतदाता दुई किसिमको सोचले विभाजित भएको उनले बुझिन्। 

'युवाको झुण्ड अनि केही पाका व्यक्तिहरु छन् जो परिवर्तन चाहन्छन्, युवालाई ठाउँ दिन चाहन्छन् र एउटा झुण्ड पूरानै राजीतिक सोच भएकाहरु छन्। जो पूरानै पार्टीको समर्थनमा खुसी छन्।' यो सबिनाको बुझाई हो। 

साथै उनले उपमेयर बारे अन्यौल रहेको महसुस गरिन्। भन्छिन्,'सरल तरिकाले बुझाउदा: पार्टी केन्द्रको उप प्रधान्मन्त्री बराबरको पद हो यो। गर्ने गराउने दुवै कार्यमा धेरै जिम्मेवार।' 

सबिना भन्छिन्- स्थानीय तहको चुनाव हुँदैछ। स्थानीय सरकार बन्दैछ- जनताले राम्रो काम गर्ने, नयाँ सोच भएकोलाई छान्नुहुन्छ भन्ने विश्वास छ। सही ज्ञान भएकाले सहि व्यक्ति चिन्छन् त्यसैले आफ्नो क्षेत्रको उम्मेद्वार, उनीहरुको पद र जिम्मेवारी बारे सही ज्ञान सबैले राख्न आवश्यक छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell