
काठमाडौँ : सुस्त गतिमा भइरहेको काठमाडौँ महानगरपालिकाको मतगणनालाई तीब्रता दिन राष्ट्रिय सभागृहमा ११ ठाउँमा मत गन्ने तयारी भइरहेको छ।
सोमबार मध्याह्नदेखि गणना सुरु भएको भए पनि आज तेस्रो दिन बल्ल एउटा वडाको परिणाम आएको छ।
सुरुमा वडा नम्बर १ को एक ठाउँमा मात्र गणना भएको थियो। मंगलबारदेखि वडा नम्बर ३२ को पनि गणना सुरु भएको थियो। मंगलबार साँझदेखि वडा नम्बर २ को पनि गणना थालिएको थियो।
बुधबार वडा नम्बर १ को परिणाम सार्वजनिक भएपछि वडा नम्बर ३ को मतपेटिका खोलेर गन्न सुरु गरिएको छ।
राष्ट्रिय सभागृहको तल्लो तल्लामा अब ५ ठाउँमा ५ वटा वडाको मतपेटिका खोली गन्ने तयारी छ। सभागृहको वेटिङ लबीमा समेत मतगणनाको तयारी भएको छ।
माथिल्लो तल्लामा अहिले संयुक्त गणना भइरहेको भए पनि अहिलेका वडाहरुको गणना सकिएपछि ६ ठाउँमा ६ वटा वडाको गणना सुरु गरिँदैछ।
योसँगै ११ वटा वडाको गणना एक साथ सुरु हुनेछ र त्यसले गणनाको अहिले भइरहेको सुस्तता हटाउने दावी निर्वाचन आयोगको छ।
काठमाडौँमा ३२ वटा वडा छन् भने दुई लाख जति मत खसेको अनुमान छ। एउटा मत गन्न साढे दुईदेखि तीन मिनेट लागिरहेको छ।