
चितवन : चितवनको माडी नगरपालिकाका मेयरले पदभार ग्रहण गरेका छन्। मेयरमा निर्वाचित नेकपा माओवादी केन्द्रका ठाकुर ढकालसँगै एमालेतर्फबाट उपमेयर निर्वाचित ताराकुमारी काजीमहतोले पनि पदभार ग्रहण गरेकी छन्।
पदभार ग्रहणपछि मेयर ढकालले अब द्वन्द्व नभएर वकास निर्माणमा लाग्नुपर्ने बताए।
उनले भने,'द्वन्दको घाउमा मलम लागाउने हो, थप द्वन्द्व गरेर अब हुँदैन,' ढकालले भने, 'त्यसैले विकास निर्माणमा लाग्नुपर्छ, यसमा सम्पूर्ण नगरवासीको साथ र सहयोगको अपेक्षा गरेको छु।'
माओवादी सशस्त्र द्वन्द्वको अन्त्यतिर माडीमा यात्रुबसमा बम विस्फोटका कारण अहिलेसम्म पनि त्यही घटना आलोचनामुक्त हुन नसकेको माओवादीबाट निर्वाचित भएका ढकालले द्वन्द्वका कुरा विर्सेर विकासमा लाग्नुपर्ने बताएका हुन्।
उनले सबै नगरवासीको साथ र सहयोगबाट नगरको मुहार फेर्ने समेत उद्घोष गरे।
माओवादी आन्दोलनका अगुवासमेत रहेका ढकाल चितवन जिल्ला इन्चार्जसमेत हुन्। २०३१ सालदेखि राजनीतिमा सक्रिय ढकाल माओवादी अघि जनमोर्चाको राजनीतिमा क्रियाशील थिए।