PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एमालेको गढमा कांग्रेस विजयी, यस्तो छ धादिङको ज्वालामुखीमा झडपको कारण



गोविन्दराज नेपाल

एमालेको गढमा कांग्रेस विजयी, यस्तो छ धादिङको ज्वालामुखीमा झडपको कारण

काठमाडौंः बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा आएसँगै विजय जुलुस मनाउनेको लहर चलेको छ। 
तर, शनिबार बेलुका धादिङमा भने विजय जुलुस विवाद र झगडामा परिणत हुँदा ज्वालामुखी गाउँपलिकाका अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका विनोद तिमल्सिलालगायत कांग्रेस र एमाले कार्यकर्ताहरु घाइते भए।

शातिपूर्ण मतदान र शान्तिपूर्ण मतगणना भएको स्थानमा अन्तिम समयमा विजय जुलुसमा यस्तो भएको हो। यस घटनालाई जिल्ला प्रहरी कार्यालयका धादिङमा डिएसपी दीपेन्द्र पञ्जियारले दुःखदायी भएको बताए।

कसरी भयो झडप ?

डिएसपी पञ्जियारका अनुसार शनिबार बेलुका एमाले कार्यकर्ताहरु सुनखानीबाट विजय जुलुस मनाएर फर्कँदै थिए। त्यति नै बेला नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि मैदीको कोले भन्ने स्थानबाट विजय जुलुस सुरु गर्ने क्रममा थिए। 

दुवै पक्षबीच एकै स्थानमा भेट भएपछि झडपको स्थिति आएको पञ्जियारले पहिलोपोस्टलाई बताए।

‘एमालेको कार्यकर्ता भन्छन् –कांग्रेसीहरुले पहिले बोतलले हाने, कांगेसका कार्यकर्ता भन्छन्–एमालेका साथीहरुले पहिले ढुंङ्गाले हाने।’ पञ्जियारले भने। अनी त्यसपछि विवाद उत्पन्न भयो। यता नेपाली कांग्रेस धादिङका नेता रामनाथ अधिकारीले विजयी उम्मेद्वारका लागि स्वागत गर्न बनाइएको गेटमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि झडप सुरु भएको बताए। 

‘झडप भएको ठाउँ एमालेको गढ हो, हामीले चुनाव जितेपछि त्यसैको प्रभाव देखिएको हो’ अधिकारीले भने। जुनढंगले आक्रमण भयो, घटना घटाइयो त्यसलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।

उनले आतंकित घटना गराएर त्यसबाट बच्न कांग्रेसलाई आरोप लगाएको बताए।

नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीको भनाई भने ठिक उल्टो छ। रातको समयमा एमाले कार्यकर्ता सुनखानीबाट कार्यक्रम सकेर फर्कंदा कांग्रेसीहरुले मकैबारीबाट आक्रमण गरेको उनले बताए। 

‘हाम्रा साथीहरु सुनखानीबाट ५ वटा गाडीमा फर्कँदै थिए। कांग्रेसले त्यहाँ गेट पनि बनाएको रैछ। गेटमाथि मकैबारी नजिकै अध्यक्ष विजेता विनोदको ससुराली घर छ।

त्यहाँबाट एक्कासी हाम्रो गाडीमा ढुङ्गा र बियरका बोतलले आक्रमण भयो। सय भन्दा बढी बियरका बोतल र असिना बर्साएजस्तो ढुंङ्गा प्रहार गरे।’ त्रिपाठीले भने ‘त्यसपछि स्वाभाविक रुपमा हाम्रो कार्यकर्ताले पनि प्रतिकार गरे। एमाले कोहीसँग निहुँ खोज्न जाँदैन र भाग्न पनि जान्दैन।’

त्रिपाठीले आफूहरु बढी संयमित र जिम्मेवार हुनु अपराध ठहरिएको बताए। हामी सयमित नभएको भए त्यहाँ कोही एक जना पनि बाँच्ने थिएन। 
झडपमा ज्वालामुखीका नवनिर्वाचित अध्यक्ष विनोद तिमल्सितासहित कांग्रेसका नरेन्द्र भट्ट र दामोदर भट्ट तथा एमालेका दुई जना घाइते भए।
विनोदको धादिङमै उपचार भइरहेको तथा नरेन्द्र र दामोदरको काठमाडौंमा उपाचारपछि घर फर्किएका डिएसपी पञ्जियारले बताए।
 
एमालेकाका दुईजनाको भने सुरुमा मैदीमा उपचार गरिएपछि अहिले जिल्ला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 

ज्वालामुखीमा माओवादी केन्द्रसँग गठबन्धन गर्दै कांग्रेसका विनोद तिमल्सिना अध्यक्ष पदमा विजयी हुँदा एमालेकी जानुका सिम्खडा उपाध्यक्षमा विजयी भएकी थिइन्।

झडपको परिणाम सदरमुकाम बन्द

शनिबारकै घटनालाई दिएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी ‌संघले आइतबार जिल्ला सदरमुकाम धादिङबेसी बन्द गरेको छ। कांगेसले केही संगठित साथीहरुको नाम लिएर पक्राउ गर्न माग गर्दै बन्द गरेको पञ्जियारले बताए। 

पञ्जियारले नेविसंघले भनेको व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान समेत सुरु गरिसकेको बताए। उनले सानातिना घटना भइरहने र सबैले बन्द गर्दै जाने हो भने सधैं बन्द हुने प्रतिक्रिया दिए।

बन्दका कारण धादिङबेसीबाट बाहिरिने यातयातका साधनहरु चलेका छैनन् भने धादिङबेसीका पसल र व्यवसायसमेत बन्द छन्। 

कांग्रेस नेता रामनाथ अधिकारीले आक्रमणको विरोध स्वरुप बन्द गरिएको बताए।‘हाम्रो निर्वाचित अध्यक्ष, जिल्ला कमिटि सदस्यहरु अस्पतालमा छन्। जुन ढंङ्गबाट हामीमाथि आक्रमण भयो, त्यसैको दबाब स्वरुप बन्द गरिएको हो’ अधिकारीले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell