PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पाँच वर्षको कलिलो उमेरमै 'जोगीको चाल भयो..'



पाँच वर्षको कलिलो उमेरमै 'जोगीको चाल भयो..'

  • हरि गौतम -
रुकुम : ‘लालुपाते फूलेर लाल भयो, आज मेरो जोगीको चाल भयो’

आमाको काखमा खेल्ने उमेरका पाँच वर्षीय विमल गन्धर्वको तोते आवाजमा गुञ्जने यो गीतले जोकसैको मन कटकटी खान्छ। सारङ्गी बजाउने बुवा देविलाल गन्दर्भसँगै हिमाल, पहाड, तराई चहार्नुपर्ने दैनिकीसँग लुकामारी खेल्न बाध्य छन् विमल।

गत जेठमा आमाको मृत्युपछि कलिला खुट्टा खियाउनुपर्ने बाध्यतामा पुगेका विमललाई त्यसरी नहिँडी मुखमा माड लाग्दैन।

विमलको पीडा र गीत सुन्ने सबैले नचाहेर पनि सहयोग गर्छन्। जिन्दगीको वास्तविक रुप अर्थात् पीडा ओकलेर बाँचिरहेको एउटा अबोध बालक हो विमल गन्धर्व।

ऊ खेल्नुपर्ने बेला खेल्न पाएको छैन, खानु पर्ने बेला खान पाएको छैन, आराम गर्नुपर्ने बेला आराम गर्न पनि पाएको छैन। रुकुम सदरमुकामस्थित एक होटेलमा बसेर विभिन्न ठाउँ चहारेका बाबुछोराको दैनिकी सारङ्गी रेटेर धेरथोर रुपैयाँ संकलन गरी साँझ बिहान हातमुख जोड्नु मात्र हो।

केटाकेटी देख्ने बित्तिकै खेल्न निस्कने विमलले गीत नगाई सुख पाउँदैनन्। अरु केटाकेटीसँगै खेलिरहेका छोरालाई बोलाएर गीत गाउन लगाउनु आफ्नो बाध्यता भएको देविलाल बताउँछन्।

‘घरमा यसलाई हेर्ने कोही भएन', देविलालले वास्तविकता खोले। गरिबीका कारण कतै बोर्डस पनि गर्न सकिनँ,’ छोरालाई पढाउने इच्छा हुँदाहुँदै पनि त्यसो गर्न नसकेकोमा देविलाल खिन्न छन्। ‘पढ्दै गरेको छोरालाई दु:ख दिने इच्छा त कहाँ हुनु नि सर', देविलालले भने, 'मर्नु भन्दा बौलाउनु जाति भन्ठानेर यसको पढाई माया मारेर सँगै हिँडालेको छु।’

बाबुले सारङ्गी रेटेर गीत सुरु गर्छन, बाँकी सबै गीत गाएर स्रोताबाट रुपैयाँ संकलन गर्नुपर्ने काम विमलले गर्नुपर्छ। कुनै दिन गीत नगाइएको अवस्थामा बाबु–छोराकै मुखमा माड लाग्न मुस्किल पर्छ। आमाको मृत्यु अघि कक्षा दुईमा पढ्ने विमलको पढ्ने लेख्ने चाहना गरिबीको कारण जबर्जस्त निमोठियो।
 
बाबुले सारङ्गी रेटेर कमाएको पैसाले पठनपाठन गरिरहेका विमल आमाको मृत्युपछि भर्खर चलाउन थालेको पेन्सिल बिसाउन बाध्य हुनु पर्‍यो।
 
१२ वर्षको उमेरदेखि सारङ्गी रेटेर जीवन गुजारा गर्ने विमलका बावु देविलालले देशका विभिन्न ठाउँमा पुगेर श्रीमती स्व. बीमा गन्धर्व र छोरा विमलको पालनपोषण गरिरहेका थिए। स्तन क्यान्सर भएर श्रीमतीको मृत्यु हुँदा देविलाल पूर्व धरानतिर थिए।

आमाको दाहसंस्कार गरेको केही दिनपछि उनै विमलले बाबुलाई आमा मरिसकेको खबर गरेका थिए रे। गहभरी आँश पारेका देविलालले भने, ‘म कमाउँथें यिनीहरु (श्रीमती र छोरा) घर गृहस्थी समालेको थिए सर', देविलालले विगत सम्झँदै भने, 'दैवको लीला २५ वर्षकी श्रीमती लियो यल्लाई (छोरा) दुःखको भारी छाडेर गयो ।’

दाङ नारायणपुर–२,मज्गैंका स्थानीयवासी देविलालका बावु छोराले घर छाडेको तीन महिना भयो । दैनिक गुजाराको लागि एक थान पुरानो सारङ्गीका साथमा रुकुम उक्लेका बावुछोराको यो तीन महिना त सहजै बित्यो।

अबका दिन कसरी बित्ने हुन् अन्यौलमा छन् देविलाल। ‘रुकुम पछि सल्यान जाने सोचेका छौं देविलालले भने त्यताको बसाई कसरी हुने हो ।’ यहाँ (रुकुम) छदा देविलाल र विमल बावुछोरासँगैको पुरानो सारङ्गीले जिल्लाका अधिकांश ठाउँ घुम्ने अवसर पायो।

पश्चिम चौरजहारीदेखि पूर्व तकसेरा सम्म घुमेर बावुछोराले आफ्ना दुःख पीडा पोखे । धेरैसँग आफ्ना पीडा ओकले, एकैछिनका लागि साथी पनि धेरै भए । धेरैको साहनुभूति पाए, त्यतिकै संख्याबाट धेरथोर आर्थिक सहयोग पनि पाए।

देविलालका अनुसार रुकुममा पाएको सबै सहानुभूति रुकुममै रहनेछ, यहाँका धेरैले गरेको आर्थिक सहायता पनि यतै खाएर सकिने छ। ‘श्रीमतीको मृत्युपछि सबै ठाउँमा यस्तै भएको छ", देविलालले अन्तिम पटक मसँग भने, 'हामीसँग त अरु केही हुँदैन खाली दुःख, पीडा र यही एउटा पुरानो सारङ्गी बाहेक ।’

बावुछोराको दुःखसँग भलाकुसारी गरी विदा हुँदै गर्दा मेरो मानसपटलमा विमलले गाएको यो गीतको टुक्का दोहोरिरह्यो-

कस्तो रहर थियो नि यो मनमा
कैले शान्ति हुने हो जीवनमा ...................?
 
 
 
 
 
 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell